रुपन्देही- नेपालमा रोकिएको सडक उपभोग दस्तुर संकलन रुपन्देहीबाट पुनः सुरु भएको छ। सडक बोर्ड नेपालले भैरहवा-भूमही सडकखण्डमा रहेको संकलन केन्द्रबाट आजदेखि दस्तुर संकलन सुरु गरेको हो।
यसअघि ठेक्का लगाएर दस्तुर संकलन गरिए पनि अहिले सडक बोर्ड नेपालले आफ्नै कर्मचारी व्यवस्थापन गरेर दस्तुर संकलन गरिरहेको छ।
सडक बोर्ड ऐन, २०५८ को दफा ‘६’ र ‘४’ को अधिनमा रही 'सडक उपभोग दस्तुर उठाउने (कार्यविधि) नियमावली, २०८१' बमोजिम दस्तुर संकलन गरिएको बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले जानकारी दिए।
उनले अहिले भैरहवा-भूमहि सडकखण्डमा सुरु गरिए पनि अबको केही दिनमै अन्य तीन स्थानबाट पनि दस्तुर संकलन सुरु गरिने बताए।
'२०८१ जेठ १७ गतेको मन्त्रिपरिषद्कै निर्णयअनुसार टोल ट्याक्स उठाउने निर्णय भएको थियो, टोल ट्याक्स पनि डिजिटाइलज माध्यमबाट उठाउने कुरा हो। सोहीअनुसार भैरहवाबाट यसको सुरूवात गरेका छौँ', केसीले भने, 'यो सडकखण्ड छोटो रहेको र भन्सार विन्दु पनि रहेको हुँदा यहीँबाट सुरु गर्ने निर्णयमा पुगेका हौँ।'
भैरहवा भन्सारबाट निस्केका ओभरलोड गाडीहरुले सडक बिग्रेका कारण त्यसको अनुगमन पनि गर्ने र सो गाडीहरुले बिगारेको बाटो संकलित करबाट मर्मत गरिने उनले बताए। उनले भैरहवाबाट सुरु गरेको सडक दस्तुर संकलन अब वीरगञ्ज-पथलैया, धरान विराटनगर र नारायणगढ-मुग्लिङ बाटोमा पनि सुरु गरिने बताए।
यससँगै नागढुंगा सडकखण्डमा पनि सवारी साधनबाट ‘रिड’ गर्न मिल्ने ‘आरएफआइडी’ प्रविधि जडान गरी दस्तुर संकलन गरिने उनले जानकारी दिए।
संकलित रकमको कम्तीमा दुई तिहाइ रकम सोही सडकखण्डको मर्मतसम्भारमा उपयोग गरिने केसीको भनाइ छ।
दस्तुर संकलनलाई व्यवस्थित गर्न बैंकिङ प्रणाली विद्युतीय माध्यमबाट गरिएको र भुक्तानी नगदको साथै ‘क्युआर कोड’बाट पनि गर्न मिल्ने बनाइएको छ।
भैरहवा-भूमही सडकखण्डमा बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी मेसिनरी इक्विपमेन्टको ३० रुपैयाँ, कार, जिप, पिकअप भ्यान र ट्र्याक्टरको २० रुपैयाँ र तिनपाङ्ग्रे तथा मोटरसाइकलको १० रुपैयाा सडक उपभोग दस्तुर तोकिएको छ।
यो सडकखण्डमा भने तिनपाङ्ग्रे तथा मोटरसाइकलको दस्तुर अहिले संकलन नगरिएको कार्यकारी निर्देशक केसीले जानकारी दिए। रासस