काठमाडौं- काभ्रेपलाञ्चोकको पाँचखालमा स्थापना हुन लागेको ‘पाँचखाल विशेष आर्थिक क्षेत्र’को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि नेपाल सरकारको लगानी बोर्ड र नेपाल हेहे इकोनोमिक डेभलपमेन्ट जोन कम्पनी लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र प्रस्तावक कम्पनीका आधिकारिक प्रतिनिधि यिन लिउबिङले हस्ताक्षर गरे। समझदारीअनुसार प्रस्तावक कम्पनीले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेपछि करिब १० महिनाभित्र विस्तृत अध्ययन प्रतिवेदन तयार गरी बोर्डमा पेश गर्नुपर्नेछ।
हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रतिनिधि लिउबिङले परियोजना सफल बनाउन आवश्यक सबै पहल गर्ने बताए। विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी अधिकृत इन्जिनियर छत्रबहादुर कटुवालले प्राधिकरणको तर्फबाट परियोजनामा पूर्ण सहयोग रहने र आवश्यक सेवासुविधा उपलब्ध गराइने बताए।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निर्धारित समयमै गुणस्तरीय प्रतिवेदन तयार भइ परियोजना आवश्यक मापदण्ड पूरा गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे।
नेपाल हेहे इकोनोमिक डेभलपमेन्ट जोन कम्पनी लिमिटेड चीनको कानूनअनुसार दर्ता भएको हेहेहुई ग्रुप कम्पनी लिमिटेडको पूर्ण स्वामित्वमा रहेको कम्पनी हो।
यस कम्पनीले पाँचखाल विशेष आर्थिक क्षेत्र विकास तथा सञ्चालनका लागि सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडालिटीमा प्रस्ताव पेश गरेको थियो। उक्त प्रस्तावलाई लगानी बोर्डको ६५औँ बैठकले अध्ययन गर्न समझदारी गर्दै सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको हो।