बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

नेपाल उद्योग वाणिज्य महासंघ : विधिको शासन र सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न आग्रह

सोमबार, मंसिर १ २०८२
नेपाल उद्योग वाणिज्य महासंघ : विधिको शासन र सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न आग्रह

आयोगका अध्यक्ष पूर्व न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्यहरूले आन्दोलनका बेला निजी क्षेत्रले भोगेको क्षति र विविध विषयमा जानकारी लिए।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ ले विधिको शासनको पूर्ण पालन र शान्तिपूर्ण तथा सुरक्षित व्यावसायिक वातावरण कायम गर्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने आग्रह गरेको छ।

भदौ २३ र २४ गतेका घटनाबारे छानबिनका लागि बनेको जाँचबुझ आयोग २०८२ का पदाधिकारीसँग मंगलबार महासंघ सचिवालयमा भएको भेटवार्तामा महासंघले जेनजी आन्दोलनका क्रममा भएको गलत घुसपैठ, निजी क्षेत्रमाथि भएका आक्रमण र तोडफोडका कारण मुलुकको व्यवसायिक वातावरणमा परेको असरबारे विस्तृत जानकारी गराएको थियो।

भेटका क्रममा आयोगका अध्यक्ष पूर्व न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्यहरूले आन्दोलनका बेला निजी क्षेत्रले भोगेको क्षति र विविध विषयमा जानकारी लिए। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले यस्ता घटना पुनः नदोहोरिन राज्य संयन्त्रले सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिए।

'निजी क्षेत्र आफैंका लागि मात्र होइन, देशको राजस्व र रोजगार सिर्जनामा ठूलो योगदान गर्छ। त्यसैले यसको संरक्षण हुनु अनिवार्य छ। सरकारले, आयोगले, राजनीतिक दलहरूले र आम नागरिकले पनि निजी क्षेत्रको भूमिकालाई बुझ्न–बुझाउन आवश्यक छ,' अध्यक्ष ढकालले भने।

आयोगका अध्यक्ष कार्कीले सबै पक्षलाई समेटेर तथ्यपरक प्रतिवेदन तयार पारिने बताउँदै, आयोगका सुझावहरू भविष्यको नीतिनिर्माणमा उपयोगी हुने विश्वास व्यक्त गरे। निजी क्षेत्र अर्थतन्त्रको संवाहक भएकाले यसको संरक्षण राज्यको दायित्व भएको उनको भनाइ थियो।

सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरू सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरत आचार्य तथा आयोगका तर्फबाट प्रवक्ता पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारीको उपस्थिति थियो।


प्रकाशित : सोमबार, मंसिर १ २०८२१७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend