काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीले क्षतिग्रस्त बनेको टाटा मोटर्सको थापाथलीस्थित कार शोरुम पुनः सञ्चालनमा आएको छ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आगलागीमा पूर्ण क्षति भएको शोरुम पुनःनिर्माण गरेर सोमबारबाट सञ्चालनमा ल्याएको हो। पुनर्निर्माण गरिएको नयाँ शोरुममा कयौँ सुविधाहरु थपिएको कम्पनीले जनाएको छ।
सिप्रदीको प्यासेन्जर बिजनेस महाप्रबन्धक सावन्तजंग सिजापतिले जेनजी आन्दोलनमा जलेको शोरुमलाई ७० दिनको समयमा व्यस्थापन गरेर पुनःसञ्चालनमा ल्याउन सफल भएको बताए।
सोमबार टाटाको थापाथली शोरुमलाई पुनसञ्चालन गर्ने क्रममा उनले भदौ २३ र २४ गते भएको आन्दोलनपछि शोरुममा धेरै क्षति पुगेको भन्दै यसलाई पहिलाको भन्दा अझै राम्रो र सुविधा सम्पन्न बनाउने लक्ष्य लिएर अगाडि बढेकोमा सोहीअनुसार तयार भएर सञ्चालनमा आएको उनको भनाइ छ।
शोरुम सञ्चालनमा आएसँगै अब टाटाका प्यासेन्जर कार खरिद गर्न आउने ग्राहकले सुविधासम्पन्न शोरुमबाट सेवा पाउने सिजापतीको भनाइ छ। ‘हामीले आजबाट यहाँको शोरुमलाई पुनः सञ्चालनमा ल्याएको छौँ। भदौ २३ र २४ गते भएको आन्दोलनले शोरुममा जुन क्षति भयो त्यसपछि पहिलाको भन्दा अझै राम्रो र सुविधा सम्पन्न बनाउने लक्ष्य लिएर अगाडि बढेका थियौँ र ७० दिनको समयमा त्यसलाई व्यस्थापन गर्न सफल भएका छौँ,’ उनले भने, ‘आज हामीले हाम्रो शोरुम पहिलोभन्दा आकर्षक र सुविधासहित फिर्ता पाएका छौँ।’
उनले थापाथली शोरुमबाट आजैदेखि सबै ग्राहक सेवाहरु पनि उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। भदौ २३ र २४ गते भएको घटनाले कुनै पनि प्रकारको मनोबल नघटेको उनको भनाइ छ।
