बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

दैजी छेला औद्योगिक क्षेत्र : शिलान्यासको चार वर्ष बित्यो, रुख कटान अनुमतिको पर्खाइमा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १ २०८२
दैजी छेला औद्योगिक क्षेत्र : शिलान्यासको चार वर्ष बित्यो, रुख कटान अनुमतिको पर्खाइमा

'यसअघि ३४५ बिघामा प्रस्ताव भएको थियो तर गत असारमा क्षेत्रफल २०२ बिघामा झारियो, क्षेत्रफल घटेअनुसार उद्योगको सङ्ख्या पनि घटबढ हुनेछ।'

महेन्द्रनगर- तीस वर्षअघि २०५२ सालमा प्रस्ताव भएको कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम अझै सुरु हुन सकेको छैन। विक्रम संवत् २०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको साढे चार वर्ष बितिसक्दा पनि सरकारी प्रक्रियागत ढिलाइका कारण अझै ‘फिल्ड’मा काम सुरु हुन सकेको छैन।

दैजीछेला औद्योगिक क्षेत्र सम्पर्क कार्यालयका प्रमुख प्रदीप पराजुलीले औद्योगिक क्षेत्र स्थापनाका लागि रूख कटान अनुमतिको प्रक्रियामा रहेकाले ढिलाइ भइरहेको बताए।

नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेट शाखा कार्यालय नेपाल औद्योगिक क्षेत्रले दैजी औद्योगिक क्षेत्रको काम हेर्छ। औद्योगिक क्षेत्र शिलान्यास भएको ठीक एक वर्षपछि दैजीमा औद्योगिक क्षेत्रको कार्यालय २०७९ फागुनमा स्थापना गरिएको हो। कार्यालय स्थापना भए पनि कार्यालय सहयोगीको भरमा औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय सञ्चालनमा छ।

त्यसैगरी सरकारले चालु आर्थिक वर्षका लागि दैजी औद्योगिक क्षेत्रका लागि रूख कटान र जग्गा भोगाधिकार शुल्कलगायतका लागि एक करोड १२ लाख रकम विनियोजन गरेको छ। तर फिल्डमा कहिलेबाट काम सुरु हुने भन्ने विषयले किनारा पाउन सकेको छैन। 

'रूख कटान अनुमति पाएपछि जिल्लामा रहेको डिभिजन वन कार्यालयले नै कटानको विषय अघि बढाउने हो,' प्रमुख पराजुलीले भने, '२७ हजार रूख कटान छपानका अनुमति मागेका छौँ।'

उनले १३६.५९ ‘हेक्टर’ अर्थात् २०२ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको प्रस्ताव भएको बताए।

'यसअघि ३४५ बिघामा प्रस्ताव भएको थियो तर गत असारमा क्षेत्रफल २०२ बिघामा झारियो,' पराजुलीले भने, 'क्षेत्रफल घटेअनुसार उद्योगको सङ्ख्या पनि घटबढ हुनेछ।'

त्यसैगरी औद्योगिक क्षेत्र व्यवस्थगापन लिमिडेटका सूचना अधिकारी वासुदेव सोडारीले दैजी छेला औद्योगिक क्षेत्रको रूख कटान र जग्गा भोगाधिकारको विषय मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी रहेको बताए। 'वन मन्त्रालयले उक्त विषय मन्त्रिपरिषद् पठाउने निर्णय गरिसकेको छ,' सूचना अधिकारी सोडारीले भने, 'तर वन सचिव नहुँदा मन्त्रिपरिषद् लगिएको छैन भन्ने जानकारी पाएका छौँ।'

मन्त्रिपरिषद्बाट निर्णय भएपछि भोगाधिकार र रूख कटानको विषय अघि बढ्ने उनको भनाइ छ। लामो समयदेखि राजनीतिक दलहरुको चुनावी ‘एजेन्डा’ समेत बन्दै आएको दैजी औद्योगिक क्षेत्र स्थापनाका लागि चासो व्यक्त हुने गरेको भए पनि काम भने फिल्डमा सुरु हुन नसकेको स्थानीयको भनाइ छ।

यहाँको बेदकोट नगरपालिका-२ र ३ को वन क्षेत्रमा २०७२ सालमा सरकारले चार किल्ला तोकेर औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो। 

कञ्चनपुर उद्योग वाणिज्य सङ्घलगायत निजी क्षेत्र पनि दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका लागि दशकौँदेखि दबाब दिँदै आएको छ। कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले औद्योगिक क्षेत्र स्थापना भई यहाँको आर्थिक गतिविधि चलायमान हुने आशामा निजी क्षेत्र पनि रहेको बताए।

'हरेक दलीय नेतृत्वसम्म निजी क्षेत्रले प्रस्तावित औद्योगिक क्षेत्र स्थापनामा पहल गरीदिन आग्रह गर्दै आएका छौँ,' मल्लले भने, 'जनप्रतिनिधिहरु उक्त विषयमा चिन्तित भई लागिपरेको भए पनि औद्योगिक क्षेत्र स्थापनाको काम सरकारी प्रक्रियागत ढिलाइकै कारण अघि नबढेको हो।'

आर्थिक नाकाका रुपमा कञ्चनपुरलाई विकास गर्न खोजिएको बताउँदै त्यसमा औद्योगिक क्षेत्र स्थापनाले रोजगारीको अवसरसमेत स्थानीयले पाउनुपर्नेमा उनले जोड दिए। 

त्यसैगरी यहाँको बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले लामो समयदेखि औद्योगिक क्षेत्र स्थापनाका लागि पालिका दबाब दिँदै आएको बताए।

'औद्योगिक क्षेत्र स्थापना भएर २०/२५ वटै उद्योग स्थापना भए पनि यस क्षेत्रलाई राम्रो हुन्थ्यो,' उहाँले भने, 'प्रक्रियागत गाँठो फुकाउन हामी पनि सरोकारवाला निकाय धाइरहेकै छौँ।' रासस


प्रकाशित : सोमबार, मंसिर १ २०८२१५:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend