बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

मीनबहादुर गुरूङ भन्छन् - ‘म डुबे बैंक डुब्छ, रोजगारी गुम्छ, त्यसैले थप मेहनत गरेको छु

'भाटभटेनी जलेपछि मलाई स्वीट पेन भएको छ’

सोमबार, मंसिर १ २०८२
मीनबहादुर गुरूङ भन्छन् - ‘म डुबे बैंक डुब्छ, रोजगारी गुम्छ, त्यसैले थप मेहनत गरेको छु

आगजनीबाट भएको क्षति बीमाले पूर्ण रूपमा नबेहोरेको भन्दै उनले भने, ‘विगतमा आन्दोलनले वर्षौँमा नोक्सान हुन्थ्यो, योचोटि एकैदिनमा धेरै ठूलो क्षति भयो।’

काठमाडौं- वस्तु व्यापारतर्फ सबैभन्दा बढी कर तिर्ने भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङले व्यावसायिक यात्रामा धेरै उतारचढाव व्यहोरिएको सुनाउँदै अहिले थप मेहनत गरिरहेको बताएका छन्। 

कर दिवसको अवसरमा सम्मानित भएका गुरूङले चार दशक लामो व्यापारिक यात्रामा किर्ते मुद्दादेखि जेलसम्म, आरोप, प्रतारणा र भौतिक क्षतिसम्म धेरै चुनौती आएको बताए। ‘कहिले किर्ते भन्छन्, कहिले जेल हालिन्छ, कहिले जलाइन्छ। मेरो जीवन नै एक प्रकारको स्वीट पेन जस्तै भयो,’ उनले भावुक हुँदै भने।

भाटभटेनीमा जेनजी आन्दोलनका क्रममा भएको आगजनीलाई उनले ठूलो आर्थिक प्रहारका रूपमा लिएको बताए। त्यसले आफूलाई अझ कडा मेहनत गर्न प्रेरित गरेको उनले उल्लेख गरे।

आगजनीबाट भएको क्षति बीमाले पूर्ण रूपमा नबेहोरेको भन्दै उनले भने, ‘विगतमा आन्दोलनले वर्षौँमा नोक्सान हुन्थ्यो, योचोटि एकैदिनमा धेरै ठूलो क्षति भयो।’

गुरूङले कर तिरेर बचेको नाफा सामाजिक क्षेत्रमा खर्च गर्न आफूसँग पहिल्यैदेखि चाहना रहेको बताउँदै भगवान कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान, टिचिङ अस्पताललगायतका स्वास्थ्य संस्थामा भाटभटेनीले गरेको सहयोग निरन्तर रहेको जानकारी दिए।

मूल्य अभिवृद्धि कर (भ्याट) प्रणाली लागु हुँदा आफू निकै उत्साहित भएको स्मरण गर्दै गुरूङले पछि अरूको गल्तीको शिकार बन्नुपरेको दिन सम्झिए। ‘त्यसबेला कारोबार कम थियो, हर्जाना तिर्न सक्ने अवस्था थिएन,’ उनले भने, ‘त्यसपछि मैले झन् कडा परिश्रम गर्नुपर्छ भन्ने लाग्यो।’

उनका अनुसार करिब दुई अर्ब वार्षिक कारोबार हुने भाटभटेनी अहिले ३३ अर्बमा पुगेको छ। ‘म डुब्दा बैंक डुब्छ, कर्मचारीको रोजगारी जान्छ भन्ने सोचले पनि म अघि बढेँ,’ उनले भने।

भाटभटेनीलै कुनै राजनीतिक दलका लागि भवन निर्माण गरिदिने विषयलाई लिएर लागेका आरोपबारे प्रतिक्रिया दिँदै गुरूङले त्यो आफ्नो व्यक्तिगत चासो भएको स्वीकार गरे। ‘त्यही कारणले जलाइयो भनेर भन्ने गल्ती मेरो पनि थियो’ उनले स्वीकृति जनाए।

गुरूङका अनुसार व्यापारमा सामना गर्ने चुनौतीहरूले नै आफूलाई अझ बलियो बनाएको छ। ‘ठूलो क्षतिपछि पनि उठ्नुपर्छ भन्ने भावना राखेर काम गर्दा अहिलेको सफलता सम्भव भएको हो,’ उनले भने।


प्रकाशित : सोमबार, मंसिर १ २०८२१२:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend