बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अन्नपूर्ण क्षेत्रमा बढे पर्यटक

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १ २०८२
अन्नपूर्ण क्षेत्रमा बढे पर्यटक

पदयात्रा पर्यटनका लागि विश्वमाझ चिनिएको अन्नपूर्ण क्षेत्रमा सेम्टेम्बरदेखि नोभेम्बर र मार्चदेखि मेसम्ममा विदेशी पर्यटकको आगमन वृद्धि हुने गरेको छ।

गण्डकी- गण्डकी प्रदेशका पाँच जिल्लामा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला वर्षमा विदेशी पर्यटकको आगमनमा वृद्धि भएको छ। 

कोभिड-१९ महामारीका कारण सन् २०२१ मा पर्यटक सङ्ख्या घटे पनि त्यसयता बर्सेनि पर्यटक आगमनमा सुधार आएको हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सन् २०२२ मा एक लाख २९ हजार ७१८, सन् २०२३ मा एक लाख ९१ हजार ६६६ र सन् २०२४ मा दुई लाख ४४ हजार २५ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन्।

सन् २०२५ को १० महिनामै गत वर्षको भन्दा बढी पर्यटक आएको ‘एक्याप’ को तथ्यांकले देखाएको छ। गत जनवरीदेखि अक्टोबरसम्ममा दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक यहाँ भित्रिएका छन्। उक्त अवधिमा दक्षिण एसियाली मुलुकका एक लाख ४६ हजार ९६८ र अन्य मुलुकका ९९ हजार ६०७ पर्यटक आएको ‘एक्याप’ का प्रमुख डा रविन कडरियाले जानकारी दिए। सबैभन्दा बढी गत अप्रिलमा ४४ हजार ७६३ पर्यटक आएकामा जनवरीमा सबैभन्दा कम  नौ हजार ३५९ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन्।  

‘जेनजी’ आन्दोलनलगायत कारणले गत सेप्टेम्बरमा अघिल्लो वर्षको तुलनामा केही कम पर्यटक आए पनि अक्टोबरमा भने यसवर्ष एक हजार ५५७ पर्यटक बढी आएका ‘एक्याप’ले जनाएको छ। नोभेम्बरपछि पर्यटक आगमन विस्तारै घट्ने र मार्चपछि पुनःपर्यटक बढ्ने प्रमुख डा कडरियाले बताए। 

पदयात्रा पर्यटनका लागि विश्वमाझ चिनिएको अन्नपूर्ण क्षेत्रमा सेम्टेम्बरदेखि नोभेम्बर र मार्चदेखि मेसम्ममा विदेशी पर्यटकको आगमन वृद्धि हुने गरेको छ।

सडक मार्ग भएर यस क्षेत्रमा विभिन्न पर्यटकीय गन्तव्यस्थलको भ्रमण गर्ने पर्यटकको सङ्ख्या सोही याममा बढी हुने गर्छ। मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन्। 

‘एक्याप’ले अन्नपूर्ण क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ। सडक मार्ग भएर मुस्ताङ, मुस्ताङलगायतका गन्तव्यमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको प्रमुख डा कडरियाले बताए। अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पर्यटकको रोजाइमा पर्दै आएको उनको भनाइ छ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्। 

अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्यक पर्यटकको रोजाइमा पर्ने गरेको छ। कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिने ‘एक्याप’ले जनाएको छ। सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन्। 

हिमश्रङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा चिनिएको छ। रासस


प्रकाशित : सोमबार, मंसिर १ २०८२१०:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend