शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एनसेल फाउन्डेसनले एनपीएल–२ का प्रत्येक चौकामा चार शैक्षिक सामग्री वितरण गर्ने

आइतबार, कात्तिक ३० २०८२
एनसेल फाउन्डेसनले एनपीएल–२ का प्रत्येक चौकामा चार शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं- एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा प्रहार हुने हरेक चौकालाई ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रदान गरिने शैक्षिक सहयोगसँग जोड्ने घोषणा गरेको छ। फाउन्डेसनले प्रत्येक चौका बराबर चारवटा शैक्षिक सामग्री वितरण गर्दै यस वर्ष पनि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।

गत वर्ष एनपीएलसँगको सहकार्यमा २,६१२ विद्यार्थी लाभान्वित भइसकेका छन्। एनपीएलमा ६५३ चौका प्रहार भएसँगै ती विद्यार्थीले शैक्षिक सामग्री प्राप्त गरेका थिए। यसअघि विभिन्न कार्यक्रममार्फत देशभर ९,००० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिसकेको एनसेलले क्रिकेटमार्फत शिक्षा प्रवर्द्धन गर्ने यो अभियानलाई नियमित कार्यक्रमका रूपमा अघि बढाइरहेको छ।

क्रिकेट मैदानको उत्साहलाई कक्षाकोठासम्म पुर्‍याउने उद्देश्यसहित सुरु गरिएको यो पहलले विद्यार्थीको सिकाइ वातावरणमा सुधार ल्याउने र स्रोतको अभाव कम गर्न सहयोग गर्ने विश्वास फाउन्डेसनले व्यक्त गरेको छ। विद्यार्थीलाई प्रदान गरिने सामग्रीमा स्कूल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायत आवश्यक स्टेशनरी समावेश हुनेछन्।

एनसेलकी कर्पोरेट कम्युनिकेशन तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले खेलकुद र शिक्षालाई जोड्ने यो कार्यक्रमले सामुदायिक विद्यालयका विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्‍याइरहेको बताइन्। 'खेलमा प्रहार हुने प्रत्येक चौका विद्यार्थीले प्राप्त गर्ने अवसर र सिकाइसँग सम्बन्धित हुनेछ,' उनले भनिन्।

फाउन्डेसनले क्यान, स्थानीय निकाय र कार्यान्वयन साझेदारसँग समन्वय गरी वितरण कार्य सञ्चालन गर्ने जनाएको छ। यसले खेलाडीको उत्कृष्ट प्रदर्शनमार्फत सिर्जना हुने उत्साहलाई कक्षाकोठासम्म पुर्‍याई पठनपाठनमा सकारात्मक प्रभाव पार्ने विश्वास संस्थाले व्यक्त गरेको छ।


प्रकाशित : आइतबार, कात्तिक ३० २०८२१८:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend