काठमाडौं- नेपालको खेल पर्यटनलाई विश्व बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्ड (एनटीबी) र क्रिकेट संघ नेपाल (क्यान) बीच नेपाल प्रिमियर लिग-२ (एनपीएल-२) को लागि साझेदारी समझदारी भएको छ।
यस सहकार्यमार्फत एनपीएल-२ लाई नेपालमा खेलकुद पर्यटन अगाडि बढाउने प्रमुख प्लेटफर्मका रूपमा स्थापित गर्ने दुवै संस्थाको लक्ष्य छ। अन्तर्राष्ट्रिय स्तरमा छिट्टै नै विश्वासिलो फ्रेन्चाइज क्रिकेट लिगको छवि बनाइरहेको एनपीएल-२ ले विदेशी खेलाडी, क्रिकेट टिप्पणीकार, फ्यान तथा खेल पर्यटनमा रुचि राख्ने पर्यटकलाई नेपालतर्फ आकर्षित गर्ने बोर्डको अपेक्षा छ।
सम्झौता अनुसार, नेपाल पर्यटन बोर्डले लिगको ब्रान्डिङ, प्रचार–प्रसार तथा अन्तर्राष्ट्रिय पहुँच विस्तारमा सक्रिय भूमिका खेल्नेछ। स्टार स्पोर्ट्समार्फत हुने प्रत्यक्ष प्रसारणले विश्वभरका करोडौँ दर्शकमा नेपालको क्रिकेट, खेलकुद क्षमतासँगै पर्यटन गन्तव्यको दृश्य-पहिचान बलियो रूपमा प्रवाहित हुनेछ।
एनटीबीका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले एनपीएल-२ लाई नेपालका लागि 'विश्वमञ्चमा स्थापित हुने ठूलो अवसर' का रूपमा व्याख्या गरे। 'यो लिगले नेपालको भौगोलिक विविधता, प्राकृतिक सुन्दरता र खेलकुद क्षमता विश्वसामु प्रभावकारी रूपमा पुर्याउनेछ,' जोशीले भने। उनका अनुसार नेपाल अंतर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।
क्यानका महासचिव पारसले बोर्डसँगको सहकार्यलाई ऐतिहासिक मोडका रूपमा उल्लेख गरे। 'खेलकुद र पर्यटन दुवैलाई सहकार्यका साथ अघि बढाउन पाउँदा हामी उत्साहित छौँ,' उनले भने, 'क्रिकेटले पछिल्ला वर्षहरूमा नेपाललाई विश्वभर चिनाउन महत्त्वपूर्ण योगदान दिएको छ, र एनपीएल-२ ले यस अभियानलाई उच्च स्तरमा पुर्याउनेछ।'
अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता, विश्वस्तरीय प्रसारण, अनुभवी कमेन्टेटर र फ्रेन्चाइज संरचनासहित एनपीएल-२ ले नेपालले विश्व-स्तरीय खेल आयोजनाको क्षमतालाई प्रस्टरूपमा प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार, एनपीएल-२ ले नेपालमा खेलकुद पर्यटनको दायरा विस्तार गर्न, नयाँ पर्यटन उत्पादन विकास गर्न र नेपाललाई आकर्षक ‘स्पोर्ट्स टुरिजम डेस्टिनेशन’ का रूपमा उभ्याउन मद्दत गर्नेछ।
लिगको सफलतासँगै नेपालले आफ्नो क्रिकेट क्षमता मात्र होइन, हिमाली दृश्यावली, साहसिक गतिविधि, सांस्कृतिक विविधता र पर्यटन सम्भावनालाई समेत विश्वसामु प्रभावकारी ढंगले प्रस्तुत गर्दै दक्षिण एसियाको उदयीमान खेल पर्यटन हबका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य लिएको छ।
