बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिधनियाघाटमा बन्दैछ फराकिलो पक्की पुल, तीव्र गतिमा हुँदैछ काम

आइतबार, कात्तिक ३० २०८२
सिधनियाघाटमा बन्दैछ फराकिलो पक्की पुल, तीव्र गतिमा हुँदैछ काम

सिधनियाघाटमा करिब डेढ दशकअघि निर्माण भएको पुल साँघुरो भएपछि फराकिलो बनाउन थालिएको हो।

बाँके- नेपालगञ्ज-बघौडा हुलाकी सडकअन्तर्गत डुडुवा गाउँपालिका-५ स्थित राप्ती नदीको सिधनियाघाटमा फराकिलो पक्की पुल निर्माणले गति लिएको छ।

करिब ११ मिटर चौडाइ रहने पुल निर्माणले गति लिएपछि बाँकेको नरैनापुर र राप्तीसोनारीका बासिन्दालाई आवागमनमा सहज हुनेछ। हाल यहाँ साँघुरो पुल भएकाले सवारीसाधन पालो कुरेर नदी पार गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।

राप्ती नदीमा दुई लेनको पुल निर्माण भएपछि नदी वारपार गर्न पालो कुर्नपर्ने बाध्यता अन्त्य हुने स्थानीय सोहनलाल यादवले बताए। पुल निर्माण धमाधम भइरहेकाले शीघ्र सम्पन्न भइ आवागमन सहज हुने उनले विश्वास व्यक्त गरे।

उक्त पुलको हालसम्म ५० प्रतिशतभन्दा बढी प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए। सम्झौता भएपछि करिब एक वर्ष पुलको डिजाइनमा समय लागेकाले केही ढिलाइ भएको बताउँदै उनले आगामी असारभित्र निर्माण सम्पन्न हुनेगरी काम भइरहेको जानकारी दिए।

सिधनियाघाटमा करिब डेढ दशकअघि निर्माण भएको पुल साँघुरो भएपछि फराकिलो बनाउन थालिएको हो। विसं २०७९ माघ १० गते लुम्बिनी रौताह बन्धन भगवती जेभी काठमाडौंसँग ५३ महिनामा काम सम्पन्न गर्नेगरी सम्झौता भएको थियो। 

पुलको लागत भ्याटसहित १ अर्ब १९ करोड रूपैयाँ रहेको योजना कार्यालयका प्रमुख भण्डारीले जानकारी दिए। करिब ७०० मिटर लम्बाइको पुल, एक हजार ४८० मिटर एप्रोच सडक र चार किलोमिटरसम्म नदी नियन्त्रणको काम एकसाथ सम्पन्न गर्ने योजना रहेको उनले बताए। रासस


प्रकाशित : आइतबार, कात्तिक ३० २०८२१६:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend