बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन थालियो

आइतबार, कात्तिक ३० २०८२
मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन थालियो

मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा ६ ठाउँमा रहेका तामाखानी पाँच दशकदेखि बन्द अवस्थामा छन्।

म्याग्दी- धवलागिरि गाउँपालिका-७ मच्छिममा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएको छ।

खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी ‘एमएस दोङयी मिनरल्स’ प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि अध्ययन थालेको हो। मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा ६ ठाउँमा रहेका तामाखानी पाँच दशकदेखि बन्द अवस्थामा छन्।

धवलागिरि-७ का वडाध्यक्ष अशोक खत्रीले भूगर्भविद्हरुको टोली खानीमा तामाको मात्रा पहिचानका लागि अध्ययनका लागि आएको बताए। 'गतहप्ता आएको टोलीले पहिलो चरणमा तामाखानी भएको ठाउँको निरीक्षण गरेको थियो', उनले भने, 'टोलीले खानी भएको ठाउँसम्म जाने पहुँचमार्ग निर्माणका लागि पनि छलफल गरेको छ।'

खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढाइने वडाध्यक्ष खत्रीले बताए। स्थानीयले खानी उत्खननका लागि अध्ययन थालिएकामा खुसी व्यक्त गरेका छन्।

वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिनुपर्ने मच्छिमका बासिन्दा कुलबहादुर छन्त्यालले बताए। उनका अनुसार मच्छिमको खानीबाट विसं २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो।

प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको छन्त्यालले बताए। तामाखानी उत्खननका लागि आएका छन्त्याल समुदायले मच्छिममा बस्ती बसाएको इतिहास छ। छन्त्याल समुदायको पुर्ख्यौली पेसा खानी खन्ने हो। 

त्यहाँ अझैसम्म पनि तामाका धाउ देख्न सकिन्छ। तामाखानीका सुरुङ छन्। स्थानीयहरुले त्यही सुरुङबाट भित्र छिरेर घन, छिनोको प्रयोग गरेर तामा निकाल्ने गरेका थिए। उक्त कम्पनीले मालिका गाउँपालिकाको ओखरबोट तामाखानीमा पनि सम्भाव्यता अध्ययन गरिरहेको छ।

खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दीमा तामा, फलाम, क्वार्ज, कप्रक, चुनढुंगा, खरिढुंगा, स्लेटढुंगा, मार्बल र तातोपानीका मुहान (हटस्पिङ) पाइन्छन्। जिल्लामा बढी पाइने खनिज पदार्थमा तामा प्रमुख हो। रासस


प्रकाशित : आइतबार, कात्तिक ३० २०८२१२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend