बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

कञ्चनपुरमा ३ हजार १२५ नयाँ मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

आइतबार, कात्तिक ३० २०८२
कञ्चनपुरमा ३ हजार १२५ नयाँ मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

जिल्लामा १३२ मतदातनस्थल रहेका छन् भने ३४६ मतदान केन्द्र छन्।

कञ्चनपुर- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ३ हजार १२५ नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर संगीता विष्टका अनुसार शनिबारसम्म थपिएका मतदातामा पुरुष एक हजार ६८९ र महिला एक हजार ४३६ रहेका छन्।

मतदाता नामावलीमा नाम दर्ता गर्नेमा बाह्य जिल्लाका पुरुष १३७ र महिला ९१ जना छन्। जिल्लामा नयाँ मतदाता थपिनुअघिको कुल मतदाताको सङ्ख्या तीन लाख तीन हजार ८७ रहेको छ। जसमा पुरुष एक लाख ४७ हजार २८३, महिला एक लाख ५५ हजार ८०३ र अन्य एकजना छन्।

निर्वाचन कार्यालयले असोजदेखि मतदाता नामावली संकलन गर्दै आएको छ। मतदाता नामावली संकलनको म्याद कात्तिक मसान्तसम्म रहे पनि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद बढाएर मङ्सिर ५ गतेसम्मका लागि थप गरेको छ।

नामावलीमा नाम दर्ता गराउन राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा साविक प्रयोगमा रहेको प्रि-रजिष्ट्रेसन सिस्टममार्फत आवेदन गरी निर्वाचन कार्यालयमा जैविक विवरण (फोटो तथा औँठा छाप) दिएर सेवा लिन सकिने व्यवस्था गरिएको छ।

जिल्लामा १३२ मतदातनस्थल रहेका छन् भने ३४६ मतदान केन्द्र छन्। मतदानस्थल र मतदान केन्द्र थप हुने सम्भावना भने नरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले बताए। 'पुनरावलोकनका लागि समय अभाव छ, कृष्णपुर नगरपालिकाको वडा नं ५ र ८ मा रहेका दुईवटा मतदानस्थल भने सारिएको छ', उनले भने।

उनका अनुसार वडा नं ५ को नगरपालिका भवनमा रहेको मतदानस्थललाई कञ्चन बहुमुखी क्याम्पसमा र वडा नं ८ को स्वास्थ्यचौकी भवनमा रहेको मतदानस्थललाई विणा माध्यमिक विद्यालयमा सारिएको छ। 'मतदानस्थल र केन्द्र सबैको पहुँचमा पुग्नेगरी राखिएको छ', सूचना अधिकारी महराले भने, 'सबै मतदानस्थल र केन्द्र अपांग, महिला र ज्येष्ठ नागरिकमैत्री बनाइने छन्।' रासस


प्रकाशित : आइतबार, कात्तिक ३० २०८२१२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend