बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

चक्रपथ निर्माण अन्तिम चरणमा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक ३० २०८२
चक्रपथ निर्माण अन्तिम चरणमा

निर्माण कम्पनी बन्दना भगवती निर्माण सेवाको चरम ढिलासुस्ती र बेवास्ताका कारण यहाँको थाक पाँचगाउँ जोड्ने घरपझोङ चक्रपथ सडक सम्पन्नमा विलम्ब भइरहेको थियो।

मुस्ताङ- घरपझोङ गाउँपालिकास्थित थाक-पाँचगाउँ जोड्ने १० दशमलव पाँच किमीको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ। विसं २०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग ठेक्का सम्झौता भएको उक्त सडक ६ वर्षको अन्तरालमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो।

गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन, एक सडक’ योजनाअन्तर्गत मुस्ताङ सदरमुकामदेखि ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ हुँदै जोमसोम जोड्ने गरी पूर्वाधार विकास कार्यालयले कार्यान्वयनमा ल्याएको थियो।

घरपझोङस्थित कालीगण्डकी नदी पारि पूर्वमा रहेका ग्रामीण बस्तीमा सडकको पहुँच स्थापित गर्नेगरी जोमसोम-ढुम्बा पाँच किलोमिटर सडक कालोपत्र र ढुम्बादेखि छैरो-चिमाङ हुँदै मार्फा मुख्य राजमार्ग जोडिने गरी पाँच दशमलव पाँच किमी ग्राभेल सडकको काम अघि बढाइएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इञ्जिनियर घनश्याम रोकामगरले जानकारी दिए। 

निर्माण कम्पनी बन्दना भगवती निर्माण सेवाको चरम ढिलासुस्ती र बेवास्ताका कारण यहाँको थाक पाँचगाउँ जोड्ने घरपझोङ चक्रपथ सडक सम्पन्नमा विलम्ब भइरहेको थियो। सुरुआती ठेक्का सम्झौताअनुसार २०७७ माघमा सकिनुपर्ने भए पनि निर्माण कम्पनीले कोरना माहामारी, प्रतिकूल मौसम र हिमपातलगायत कारण देखाउँदै सातौँ पटकसम्म म्याद थप गरेको थियो।

यहाँको घरपझोङ-४, ५, १ र २ जोड्ने चक्रपथको लागत २४ करोड ४५ लाख ७४ हजार रहेको सूचना अधिकारी रोकामगरले जानकारी दिए। घरपझोङस्थित थाक पाँच गाउँ जोड्ने सडक अन्तिम चरणमा पुगेको र चालु आवभित्रमा सडक कार्यालयलाई हस्तान्तरण गरिने उनले बताए। सडकको पछिल्लो भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ८८ प्रतिशत रहेको छ।

चक्रपथको ६ किलोमिटर नाली निर्माणसहित ढुम्बातालसम्मको पाँच किलोमिटर सडक कालोपत्र भइसकेको छ। त्यसैगरी ढुम्बातालदेखि छैरो-चिमाङसम्मको दूरीमा चट्टान काटेर नयाँ सडक ट्रयाक खोलेर नालीसहित पाँच मिटर चौडा ग्राभेल सडक विस्तार भइसकेको सूचना अधिकारी रोकामगरको भनाइ छ।

चक्रपथमा  ट्राफिक  संकेतका पोल गाड्ने, नाली सफा गर्ने र सडकको जोखिमयुक्त स्थानमा सवारी दुर्घटना रोक्न बार लगाउने काम भइरहेको छ। त्यसैगरी चक्रपथ सडकले ठिनी, ढुम्बा, छैरो र चिमाङलगायतका गाउँ सडक सञ्जालले जोडिएकाले त्यहाँका किसानले उत्पादन गरेका स्याउलगायत अन्नबाली, फलफूल र तरकारी यातायातका साधनमार्फत ढुवानी गर्न सजिलो भएको छ। रासस


प्रकाशित : आइतबार, कात्तिक ३० २०८२१०:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend