काठमाडौं- शिवम् सिमेन्ट्स लिमिटेड ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा उछाल आएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा १ हजार ५३८ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षको असोज मसान्तसम्म १ करोड २७ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्षको सोही अवधिसम्ममा २० करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो। सीमित आम्दानी वृद्धि हुँदाहुँदै पनि नाफामा आएको यस्तो ठूलो उछाललाई उत्पादन लागत नियन्त्रण, कार्यप्रणाली कार्यक्षमता सुधार र वित्तीय अनुशासनमा आएको परिवर्तन का कारण मानिएको छ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ९.०३ प्रतिशतले बढेको छ भने कुल नाफा २१५.०७ प्रतिशतले बढेको छ। अन्य आम्दानी भने १.९७ प्रतिशतले घटेको छ। यद्यपि, नाफामा आएको उछालले प्रतिशेयर आम्दानीमा उल्लेखनीय सुधार ल्याएको छ। समीक्षा अवधिसम्म इपीएस १४ रुपैयाँ ३५ पैसा बढेर १५ रुपैयाँ ३७ पैसा पुगेको कम्पनीले जनाएको छ।
यस्तै, असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य-आम्दानी अनुपात पीई रेसियो ३६.४२ गुणा पुगेको छ।
५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको शिवम् सिमेन्ट्सको जगेडा कोष ५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ, जसले कम्पनीको वित्तीय आधार मजबुत हुँदै गएको संकेत गर्छ।