बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

विदेशी लगानीको नाममा उद्योग दर्ता, तर सञ्चालन नगरी भिसा लिएर अवैध काम गर्ने चिनियाँ पक्राउ

आइतबार, कात्तिक ३० २०८२
विदेशी लगानीको नाममा उद्योग दर्ता, तर सञ्चालन नगरी भिसा लिएर अवैध काम गर्ने चिनियाँ पक्राउ

नेपालमा जुन उद्देश्यका लागि भिसा लिएको हो सोही बाहेक अरु गतिविधि गर्न नपाइने कानूनी व्यवस्था छ। तर पछिल्लो समय यो कानूनी व्यवस्था उलंघन बढिरहेको छ।

काठमाडौं- विदेशी लगानी ल्याउने भन्दै कागजी रुपमा उद्योग विभागमा दर्ता गर्ने र त्यसकै आधारमा भिसा लिएर फेरि कहिल्यै सम्पर्कमा नआउने लगानीकर्ताको संख्या हजारौँ छ। उद्योग विभागको पछिल्लो तथ्यांकअनुसार यस्ता दर्तावाल ६ हजारभन्दा धेरै भइसकेका छन्। 

उद्योग दर्ता गरेर भिसा लिने तर उद्योग सञ्चालन नगरी अवैध काम गर्ने विदेशीहरू समय समयमा नेपालमै पक्राउ पर्ने गरेका छन्। पछिल्लो समय गएको शुक्रबार यस्तै अभियोगमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन्। अध्यागमन विभागले तीन चिनियाँ पुरुष र एक चिनियाँ महिलाई काठमाडौंबाट पक्राउ गरेको थियो। 

नेपालमा लगानी गर्छु भनेर उद्योग व्यवसाय दर्ता गरी व्यापारिक भिसा सुविधा लिने तर काम भने दर्ता गर्दा भनेको नगरी अवैध धन्दा गरेको सूचना पाएपछि अध्यागमनले उनीहरू बसेकै ठाउँबाट पक्राउ गरेको हो।

पक्राउ परेकाहरूले मानव ओसारपसार जस्तो गम्भीर अपराधिक काम गरेको अनुसन्धानबाट पाइएपछि पक्राउ गरिएको अध्यागमन विभागले जानकारी दिएको छ। विशेषगरी कमजोर आर्थिक अवस्था भएका युवतीलाई टिकटकमा जोड्ने र चिनियाँ पुरूषसँग विवाह गर्न लगाउने काम गरिरहेको पाइएको हो। नेपालीलाई चीनमा पठाएर विवाह गराउने जस्तो काममा पनि उनीहरू संलग्न रहेको पाइएको छ। 

नेपालमा जुन उद्देश्यका लागि भिसा लिएको हो सोही बाहेक अरु गतिविधि गर्न नपाइने कानूनी व्यवस्था छ। तर पछिल्लो समय यो कानूनी व्यवस्था उल्लंघन बढिरहेको छ।

सजिलै र थोरै रकममा नेपालमा विदेशी लगानीको फर्म व्यवसाय दर्ता हुने र त्यसकै आधार भिसा पाइन्छ। त्यसरी त्यो उद्यम सञ्चालन नगरी फेरि अर्को व्यवसाय दर्ता गर्ने वा अर्को व्यक्तिको नाममा दर्ता गरी भिसा लब्याएर अवैध गतिविधिमा संलग्न हुने गर्छन्। यही कारणले गर्दा नेपालमा दर्ता गरेर वेपत्ता हुने विदेशी लगानीकर्ताको संख्या बढ्दै आएको छ। 

साँच्चिकै सम्भावना देखेर लगानी गर्नेहरू केही समस्या भोगेर नेपालमा दर्ता गरेर पनि सम्पर्कविहीन हुने अंश यसमा धेरै नरहेको उद्योग विभागका अधिकारीहरू बताउँछन्। नेपालमा अरु नै काम गर्नेगरी आउने तर भिसा थप गर्नका लागि सजिलै उद्योग दर्ता हुने भएपछि दर्ता गर्ने प्रवृत्ति मौलाएको छ। यस्तोमा धेरै चीनबाट रहेको छ। 

२० हजार धरौटी र केही हजार रुपैयाँ कानून व्यवसायीको शुल्क भएपछि दर्ता भइहाल्छ, त्यति हुँदा भिसाको म्याद करिब ९ महिनासम्म लम्बिन्छ। एक वर्षका लागि अरु नै व्यापार वा काम गरिसकेपछि फेरि उनीहरू त्यसैगरी अर्को वर्ष वा केही समयपछि आउने गर्छन्। 

विभागका अधिकारीहरूका अनुसार यो प्रवृत्ति पछिल्लो समय मौलाएको छ। विशेषगरी चिनियाँहरूले नेपालमा कार्गो, रेष्टुरेन्ट वा अन्य साना प्रकृतिका उद्योग दर्ता गर्ने तर सञ्चालन भने कहिल्यै नगर्ने प्रवृत्ति देखिँदै आएको छ। केही वर्ष पहिले नेपालमा साइबर स्क्याम गर्ने चिनियाँहरू पक्राउ पर्दा उनीहरूले पनि केही फर्म दर्ता गरेको तर काम भने अर्कै गरेको पाइएको थियो। 

गत वर्षमात्र कुल ४ सय ४ विदेशी लगानीका उद्योग नेपालमा दर्ता भएकोमा चीनबाट मात्र २ सय ५२ वटा दर्ता भएका थिए। तर लगानी भने जम्मा २२ अर्ब रुपैयाँमात्र थियो। यो संख्यामा रेष्टुरेन्ट, कार्गो र आईटी कम्पनी रहेका छन्। प्रत्येक वर्ष चीनबाट लगानी आउने भन्दै दर्ता भएका यी उद्योग सञ्चालन भने हुँदैनन्। 


प्रकाशित : आइतबार, कात्तिक ३० २०८२०८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend