बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टेलिकम बजारको निजी प्लेयर एनसेलको भविष्य अनिश्चित बनाउँदै सरकार, नियामकीय विभेदको निरन्तरता

बजारले क्रान्ति खोजिरहेको बेला एउटैमात्र प्रतिस्पर्धी कम्पनीलाई सिध्याउने षड्यन्त्र

आइतबार, कात्तिक ३० २०८२
टेलिकम बजारको निजी प्लेयर एनसेलको भविष्य अनिश्चित बनाउँदै सरकार, नियामकीय विभेदको निरन्तरता

एनसेलका हकमा पनि भोलि यस्तै समस्या हुने निश्चित छ। ठूलो कम्पनी भएकाले यसको मूल्यांकन तथा व्यवस्थापन झन जटिल हुनेछ। यस्तो हुँदा एनसेल विस्तारै विस्तारै कोमामा पुग्नेछ। यस्तो हुँदा २०८६ पछि नेपाल टेलिकम बाहेक अर्को सक्षम कम्पनी बजारमा नहुने अवस्था आउनेछ।

काठमाडौं- विश्वमा प्रविधिको क्षेत्रमा तीव्र विकास भइरहेको छ। प्रत्येक महिना नयाँ प्रविधि र सुविधाको आविष्कार संसारमा भइरहेको छ। प्रविधिको दुनियाँमा आविष्कार भएका त्यस्ता फिचर्समा पहुँच पुर्‍याएर कुनै पनि देशले लाभ लिनका लागि त्यसको आधारभूत पूर्वाधार पनि उस्तै बलियो र सक्षम हुनुपर्छ। यो दुनियाँको आधारभूत पूर्वाधार भनेको दूरसञ्चार तथा इन्टरनेट सेवा हो। 

वायरलेस नेटवर्क सेवा दिने दूरसञ्चार कम्पनीहरू यो दुनियाँका मुख्य खेलाडी हुन्। यी खेलाडीको व्यावसायिक मोडलको संक्रमणले संसारभर नाफामा केही संकुचन देखिएपनि प्रविधिको दुनियाँको क्रान्तिको वेगलाई उपभोक्ताको हातसम्म पुर्‍याउने काम यिनैले गरिरहेका छन् र गर्ने पनि यिनैले हो। तारबाट र वाइफाइबाट दिने इन्टरनेट नेपाल जस्तो भुगोल र जनसंख्याको वितरण भएको देशमा त्यति सम्भव छैन। 

तर यही बेला कम्तिमा अबको चार वर्ष नेपालको दूरसञ्चार अन्यौलमा जाने र कुनै पनि गुणस्तरीय विकासको मार्गबाट विमुख हुने जोखिम बढेको छ। विगत दशकदेखिकै सरकारी निर्णय र नीतिगत र नियामकीय लाचारीका कारण यो क्षेत्रको बजार खस्किने बाटोमा गएको छ। 

नेपालको दूरसञ्चार बजारमा वायरलेस नेटवर्क सेवा दिने टेलिकम कम्पनी दुईवटा छन्। एउटा सरकारी स्वामित्वको र अर्को एनसेल। नेपालको दूरसञ्चार बजारमा क्रान्ति त्यतिबेला आएको थियो जतिबेला निजी क्षेत्रको एनसेल सक्रिय भयो। यो कम्पनीले नेपालको दूरसञ्चार बजारमा एउटा ट्रेन्ड सेटरको भूमिकामात्र होइन एउटा बलियो बिकल्प दिएर सरकारी स्वामित्वको नेपाल टेलिकमको गुणस्तरमा पनि सुधार गर्न बाध्यकारी दबाब दिएको थियो। 

यही प्रतिस्पर्धी समीकरणले अहिलेसम्म जे जति भएको छ सेवा तथा गुणस्तरमा। तर यही एउटा प्रतिस्पर्धी कम्पनी एनसेललाई कोमामा पुर्‍याउने खेलमा सरकार नै लागेको छ। विदेशी लगानीमा लामो समय चलेको यो एनसेललाई सरकारले आफ्नो स्वामित्वमा ल्याउने प्रक्रिया अघि बढाएको छ। नेपालको दूरसञ्चार बजारलाई चलायमान बनाउने एउटा मुख्य खेलाडीलाई नै कोमामा पुर्‍याउने खेल भने पहिलेदेखि नै सुरू भएको थियो। 

अघिल्लो वर्ष नै सरकारले एनसेलको लाइसेन्स नवीकरणको समयमा एउटा गैरकानूनी निर्णय गरेको थियो। कि कुनै पनि सेयर स्वामित्व परिवर्तन गर्न नपाइने भनेर। यस्तो कार्यकारी निर्णयका आधारमा सरकारले त्यतिबेलै जसरी पनि एनसेलको स्वामित्व हडप्ने नियत राखेको थियो। जबकी ऐनमा यसको व्यवस्था छैन भने  नियमावलीले भने लाइसेन्सको अवधि सकिनु तीन वर्षअघिसम्म कुनै पनि सम्पत्ति बिक्री तथा बन्धक राख्न पाउने व्यवस्था गरेको छ। 

तर पुष्पकमल दाहाल नेतृत्वको सरकारले उक्त निर्णय गरिदिएपछि अहिलेको स्वामित्व तलमाथि भएन भने २०८६ मा एनसेलको २५ वर्ष लाइसेन्स म्याद सकिने र सरकारको स्वामित्वमा आउने निश्चित छ। सरकारको त्यो निर्णय र अहिलेको तयारीले लगभग सरकार सोही बाटोमा गएको प्रष्ट छ। 

‘पछिल्लो लाइसेन्स नवीकरणको समयमा जुन शर्त थियो त्यो व्यवस्थाले त एनसेल अब सरकारको स्वामित्वमा आउने नै भयो त्यही भएर प्राधिकरणले एनसेलको व्यवस्थापनका बारेमा अध्ययन गर्ने तयारी गरेको हो’ प्राधिकरणका एक उच्च अधिकारीले भने। प्राधिकरणले यो तयारी घोषित रुपमै अघि बढाउने उनको भनाइ छ। 

अहिले एनसेलको सेयर ८० प्रतिशत बेलायती कम्पनी स्पेक्ट्रोलाइटको नाममा छ भने २० प्रतिशत सुनिभेरा क्यापिटलको नाममा छ। ५० प्रतिशतभन्दा धेरै स्वामित्व भएको कम्पनीको स्वामित्व २५ वर्षपछि स्वत: सरकारको नाममा आउने कानूनी व्यवस्था बमोजिम आउने छ। यद्यपि अझै चार वर्ष बाँकी भएले स्पेक्ट्रोलाइटले सेयर बिक्री गरेर नेपाली कम्पनी तथा नागरिकले खरिद गरेको खण्डमा भने सरकारी स्वामित्वमा आउने छैन।

कुनै पनि कम्पनीको सेयर कानूनले अनुमति दिएको हदसम्म कारोबार हुनलाई हद लगाउनु अप्रत्याशित निर्णय भएको भन्दै एनसेल सम्बद्ध अधिकारीमात्र होइन प्राधिकरणकै पूर्व अधिकारीहरू गलत भएको बताउँछन्। ‘एनसेलका विषयमा अनौठो राष्ट्रवादको विजारोपन गरिएको छ। यदि यस्तो भन्ने हो भने हामीलाई केके आरोप लाग्छ। तर बन्द कोठामा हुने छलफल तथा बहसमा भने हामीले सुझाव दिएका छौं’ प्राधिकरणकै एक पूर्व अधिकारीले भने। 

विदेशी लगानीको एउटा कम्पनी नेपालमा आउँदा त्यसलाई कसरी राज्यले दोहन गर्नखोज्छ सुरूदेखि अन्त्यसम्म बन्ने एउटा खराब उदाहरण बन्नसक्ने भन्दै सरकारी सरोकारवालाहरूले चेतावनी दिँदै आएका छन्। कर विवादलाई अपराधीकरण गर्नेदेखि लिएर कारोबारको स्वभाविक अधिकारमा बन्देज लगाउन खोजिएको भन्दै सरकारी निर्णयको कुटनीतिक नियोगलेसमेत यसअघि आलोचना गरेका थिए। 

यदि यो सरकारी निर्णय लागु भयो र एनसेल सरकारले नै हडप्ने भयो भने कसरी कोमामा पुग्छ एउटा सक्षम कम्पनी? 

अहिलेसम्मको तयारी र अवस्था अनुसार एनसेललाई सरकारी स्वामित्वमा ल्याएर त्यसको व्यवस्थापन गर्ने भन्ने नै छ। यद्यपि यो काम २०८६ पछि सम्पन्न हुनेछ। तर अहिलेदेखि नै त्यसको असर देखिएको छ। गत वर्ष नवीकरण भएदेखि नै एउटा अनिश्चिता पैदा भएको छ। यही कारणले अहिलेको एनसेल आफैले नयाँ प्रविधि तथा उपकरणमा ठूलै लगानी गर्नसक्ने अवस्थामा छैन।

आगामी दिनमा पनि यस्तै अवस्था रहेमा अवस्था यस्तै हुनेछ प्रविधिमा छलाङ लगाउनुपर्ने समयमा जेनतेन अवस्थामा सञ्चालन हुनेछ। यसले समग्र मुलुकको प्रविधिको पूर्वाधारलाई यथास्थानमा झार्ने जोखिम छ। किन भने एनसेलले लगानी नगर्नेवित्तिकै नेपाल टेलिकमलाई त्यो गर्ने बाध्यता पनि हुनेछैन। 

अर्कोतिर नेपाल सरकार र प्राधिकरणको इतिहासले भन्छ कि कम्पनीको व्यवस्थापन गर्न असफल भइसकेको छ। ठिकठाक अवस्थामा चलिरहेको स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन गर्न सरकार अहिलेसम्म सफल भएको छैन। व्यवस्थापन त परको कुरा सम्पत्तिको मूल्यांकनसमेत गर्न सकेको छैन। यही कारणले एउटा सम्भावना भएको स्मार्ट टेलिकमको भएको पूर्वाधार लगभग नाकाम भइसकेको छ। यदि तत्काल निरन्तरता पाएको भए र निजी क्षेत्रको हातमा भएको भए यसले बजारमा तरंग ल्याउनसक्ने सम्भावना थियो। यो सम्भावनालाई प्राधिकरणले मारिदिएको छ। 

एनसेलका हकमा पनि भोलि यस्तै समस्या हुने निश्चित छ। ठूलो कम्पनी भएकाले यसको मूल्यांकन तथा व्यवस्थापन झन जटिल हुनेछ। यस्तो हुँदा एनसेल विस्तारै विस्तारै कोमामा पुग्नेछ। यस्तो हुँदा २०८६ पछि नेपाल टेलिकम बाहेक अर्को सक्षम कम्पनी बजारमा नहुने अवस्था आउनेछ। 

अहिलेसम्मको सरकारको तयारी र मती हेर्दा यो अवस्था आउने निश्चित देखिएको छ। 


प्रकाशित : आइतबार, कात्तिक ३० २०८२१६:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend