बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

शारीरिक अशक्तताले छेकेन आत्मनिर्भर बन्न, परिवारको समेत सहारा बनेका छन् दानबहादुर

शनिबार, कात्तिक २९ २०८२
शारीरिक अशक्तताले छेकेन आत्मनिर्भर बन्न, परिवारको समेत सहारा बनेका छन् दानबहादुर

शारीरिकरूपमा अशक्त दानबहादुर अहिले दोधाराका थुप्रै युवाको गुरुमात्रै होइन, प्रेरणाको स्रोत बनेका छन्।

कञ्चनपुर- कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-८ का दानबहादुर सुनार शारीरिकरूपमा अशक्त छन्। दानबहादुर जन्मिने बेला अरुजस्तै सामान्य थिए। चार वर्षको उमेरमा उनी बिरामी भए। त्यसपछि बिस्तारै शरीर सुक्दै गएपछि अहिले पूर्णरूपमा अशक्त छन्। उनलाई शरीरले साथ नदिए पनि मन र सीप असाध्यै सबल छ। हिँडडुलसमेत गर्न नसक्ने अवस्थामा रहेका दानबहादुरले हार मानेनन्।

उपचारका लागि परिवारले सकेको प्रयास गरेका बताउँदै दानबहादुरले अस्पताल धाउँदाधाउँदै पनि कमजोर आर्थिक अवस्थाका कारण समयमा रोग निदान हुन नसकेको उल्लेख गरे। अहिले उनले सरकारबाट सामाजिक सुरक्षा भत्ता पनि पाउँछन्। उनले हिम्मतका साथ आफूमा भएको क्षमतालाई सदुपयोग गर्दै निरन्तर कर्ममा लागेपछि अहिले परिवारका लागि आर्थिक सहारा बनेका छन्।

'घरमा ल्याएको रेडियो बिग्रियो त्यो रेडियोबाट उसले मर्मत गर्न सिकेको हो', दानबहादुरकी आमा उषा सुनारले भनिन्, 'त्यसै रेडियोबाट सिकेर अहिले मोबाइलको डिस्प्ले फेर्ने, रेडियो, टर्च र बुफरहरू मर्मतको काम गर्छ।' दानबहादुरले पछिल्लो समय अरुलाई हाउस वायरिङ गर्ने काम सिकाउन थालेको उनको भनाइ छ।

सरकारबाट पाउने सामाजिक सुरक्षा भत्ता दानबहादुरको जीविकोपार्जन प्रमुख स्रोत हो। 'भत्तामात्रै जीवन चलाउन पर्याप्त नभएपछि आफ्नो क्षमता देखाउने आत्मबल बढ्दै गयो। शरीरले गर्न नसक्ने काम धेरै थिए, तर हात-आँखाका बलमा गर्न सकिने साना सीपले उसलाई आर्थिक सहारा दिन सहयोग पुगेको हो', आमाले भनिन्।

'अरुको सहयोगमा रेडियो, मोबाइल टर्चलगायत सामग्री मर्मत म आफै गर्छु, हाउस वायरिङका लागि अरु साथीभाइलाई सिकाउने गरेको छु', दानबहादुरले भने, 'गाउँको व्यवसाय हो। कोही पैसा दिएर जान्छन् कोही त्यत्तिकै मर्मत गराउँछन्। तर, थोरै भए पनि आम्दानीको स्रोत बनेको छ।'

उनले परिवारको आर्थिक अभावका कारण आफ्नो सीपलाई व्यावसायिक बनाउन नसकेको बताए। 'थोरै आम्दानी भए पनि परिवारलाई सहयोग पुगेको छ', उनले भने, 'अरुलाई पनि आत्मनिर्भर बन्नका लागि हाउस वायरिङ र मर्मत गर्न सिकाउने गरेको छु।'

दानबहादुर अहिले दोधाराका थुप्रै युवाको गुरुमात्रै होइन, प्रेरणाको स्रोत बनेका छन्। रासस


प्रकाशित : शनिबार, कात्तिक २९ २०८२१६:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend