बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

मानव-वन्यजन्तु द्वन्द्व रोक्न वनमा पानीको प्रबन्ध

शनिबार, कात्तिक २९ २०८२
मानव-वन्यजन्तु द्वन्द्व रोक्न वनमा पानीको प्रबन्ध

कावासोती नगरपालिका-१३ मा रहेको उक्त वनले वन्यजन्तुका लागि पानीको अभाव नहोस् भनेर सौर्य ऊर्जाबाट पानीको व्यवस्था गरेको हो।

त्रिवेणी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमुना मध्यवर्ती सामुदायिक वनमा सौर्य ऊर्जाबाट वन्यजन्तुका लागि पानीको व्यवस्था गरिएको छ। कावासोती नगरपालिका-१३ मा रहेको उक्त वनले वन्यजन्तुका लागि पानीको अभाव नहोस् भनेर सौर्य ऊर्जाबाट पानीको व्यवस्था गरेको हो।

जंगली जनावरका लागि पानीको अभाव हुँदै गएपछि सामुदायिक वनभित्र सौर्य ऊर्जाबाट स्वचालित रुपमा पानी तान्ने व्यवस्था गरिएको नमुना मध्यवर्ती सामुदायिक वनका अध्यक्ष राजकुमार गुरुङले बताए।

गर्मी याममा सिमसार सुक्ने र वन्यजन्तुका लागि पानीको अभाव हुने तथा कहिलेकाहीँ वन्यजन्तु बस्तीतर्फ प्रवेश गर्ने जोखिम रहेकाले वनभित्र नै सौर्य ऊर्जाबाट पानीको व्यवस्था गरिएको अध्यक्ष गुरुङले बताए। 'गर्मीमा पानीको अभाव हुननदिन वन क्षेत्रमा स्वचालित बोरिङ गाडिएको छ। यसबाट मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सहयोग पुग्ने छ। घामलागुञ्जेल१४२ फिट गहिरो बोरिङले पानी फालिरहन्छ', उनले भने।

गत वर्ष बुद्धढाप घोलमा पानी सुकेपछि भाडामा जेनरेटर ल्याएर करिब ८० हजार रूपैयाँ खर्च गरेर पानीको व्यवस्था गरे पनि त्यसरी खर्चिलो र पानीको मात्रा नपुगेपछि यो वर्ष हिमालय नेचर संस्थाको सहयोगमा सौर्य ऊर्जाबाट पानीको व्यवस्था गरिएको अध्यक्ष गुरुङले बताए। ८ लाखको लागतमा बोरिङको व्यवस्था गरिएको उनले बताए।

नमुना मध्यवर्ती सामुदायिक वन जिल्लाका धेरै गैँडाको बासस्थान भएको वनका रुपमा समेत रहेको छ। वन क्षेत्र भित्र एक सय ७२ हेक्टर क्षेत्रफलको घाँसे मैदान निर्माण गरिएको छ। वनमा गैँडा, मृग,हरिण , बँदेल ,बाघ, भालु पाइन्छन्।

नमूनासँगै जोडिएका गुन्द्रही ढकाहा, कृष्णसार र शान्तिकुञ्ज सामुदायिक वनलाई एकीकृतरुपमा वन्यजन्तु अवलोकन क्षेत्रका रुपमा विकास गरिएको छ। अमलटारी क्षेत्रमा पर्ने यी वनमा दैनिकरूपमा वन्यजन्तु अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। 

अमलटारी घरबाससँगै यो वन क्षेत्र भएकाले यहाँ आउने पर्यटकलाई यसै वन क्षेत्रमा वन्यजन्तु अवलोकनका लागि लैजाने गरिन्छ। पानीको श्रोत नभए वन्यजन्तु अन्यत्र जाने र पर्यटन उद्योगमा प्रभाव पार्ने भएकाले आफूहरूले वन्यजन्तुको स्थायी बासस्थान निर्माण गर्न लागिपरेको अध्यक्ष गुरुङको कथन छ। रासस


प्रकाशित : शनिबार, कात्तिक २९ २०८२१४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend