तनहुँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुईवटा मतदान केन्द्र थप गर्न स्थानीय तहबाट सिफारिस भएको छ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले थपघट गर्नुपर्ने भए सिफारिस गर्न आग्रह गरिएबमोजिम ऋषिङ गाउँपालिकाबाट दुईवटा मतदान केन्द्र थप गर्न सिफारिस भएर आएको हो।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले ऋषिङ गाउँपालिका-४ र ६ मा यसअघि एक/एक मतदान केन्द्र रहेकामा थप एक/एक मतदान केन्द्र थप्न सिफारिस भएर जिल्लामा आएको जानकारी दिए। उनले भने, 'भूगोल ठूलो भएकाले मतदान केन्द्रसम्म पुग्नै दुई घण्टाभन्दा बढी लाग्ने देखिएको छ। सहजरूपमा मतदान गर्ने व्यवस्था मिलाउन पालिकाबाट थपका लागि सिफारिस भएर आएको छ।'
आइतबार बस्ने समितिको बैठकले जिल्लाका मतदान केन्द्र र मतदानस्थलका बारेमा निर्णय गर्ने प्रजिअ अधिकारीले बताए। उनले भने, 'निर्वाचन आयोगले कात्तिक ३० गतेभित्र निर्णय गराएर पठाउन निर्देशन दिएको छ, सोहीबमोजिम तयारी गरेका छौँ।'
ऋषिङ गाउँपालिकाबाट थप गर्न माग गरिएका मतदान केन्द्रको जिल्ला सुरक्षा समितिको टोलीले स्थलगत अनुगमन गरेको छ।
तनहुँका दुईवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा ३०५ मतदान केन्द्र रहेका छन्। २०८२ असोज ८ गतेसम्म जिल्लामा दुई लाख ४७ हजार चारजना मतदाता रहेका छन्। त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख १९ हजार ८९ जना र महिलाको सङ्ख्या एक लाख २७ हजार ९१५ जना रहेको छ।
कात्तिक ३० गतेसम्म नयाँ मतदाता नामावली दर्ता गर्ने समय रहेकामा हाल जिल्ला निर्वाचन कार्यालय तनहुँमा मतदाता नामावली दर्ता गर्नेको घुइँचो लागेको निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए। रासस