भोजपुर- जिल्लाका पश्चिमी क्षेत्रका स्थानीयवासीको मुख्य समस्याका रूपमा रहेको राउते खोलामा पक्की पुल बनेपछि सहजता भएको छ। पक्की पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीय अहिले सहज रूपमा आवतजावत गर्न थालेका छन्।
राउते खोलामा पक्की पुल निर्माणपछि छिमेकी जिल्ला खोटाङसँगको आवतजावत पनि सहज भएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताए। राउते खोलामा पुल बनेपछि स्थानीयको दैनिकीमा थप सहजता आएको उनको भनाइ छ।
'राउते खोलामा पक्की पुल नहुँदा यहाँका नागरिकले धेरै सास्ती भोग्दै आएका थिए,' उनले भने, 'अब यो खोलामा पक्की पुल बनेर सञ्चालनमा आएको छ। यसले यहाँको जनजीवनमा सहजता थपेको छ। यो पुलले छिमेकी जिल्लाका खोटाङका नागरिकलाई समेत राहत पुर्याएको छ।'
राउते खोला पुलले साविक वडा नं ७ राउते र साविक वडा नं ५ लेखर्कलाई जोडेको छ। यो खोलामा खोलामा कोशी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय भोजपुरले तीन करोड ५७ लाख रूपैयाँ लागतमा पुल निर्माण गरी सञ्चालनमा ल्याएको हो।
पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीका अनुसार एक स्पानमा निर्माण भएको यो पुलको कुल लम्बाइ १६ मिटर २० सेन्टिमिटर रहेको छ। पुल सञ्चालनमा आएपछि स्थानीयको वषौँदेखिका समस्या हटेको उनको भनाइ छ।
बाढी आउने समयमा खोलामा नै बास बस्नुपर्ने बाध्यता रहेकोमा अहिले पक्की पुल बनेपछि यातायात सञ्चालन सहज भएको सवारी चालक मिलन तामाङले बताए। रासस
