बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एकजना पक्राउ, सम्पूर्ण प्याकेज भन्दै ३० प्रतिशत रकम लिएर सम्पर्कविहीन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २८ २०८२
विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एकजना पक्राउ, सम्पूर्ण प्याकेज भन्दै ३० प्रतिशत रकम लिएर सम्पर्कविहीन

सम्पूर्ण प्याकेजसहित सेवा दिने शर्तमा नेपाल भ्रमणका लागि सम्झौता भएको सात दिनभित्र ३० प्रतिशत रकम लिएर शर्तबमोजिमका सेवा प्रदान नगरी सम्पर्कविहीन

काठमाडौं- विदेशी पर्यटकलाई यात्रा सहजीकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइएको छ। 

विदेशमै रहेका पर्यटकलाई नेपाल भ्रमणमा सहजीकरण गर्ने भनेर अनलाइनबाटै सम्झौता गरी ठगी गरेको आरोपमा सुर्खेत बराहताल गाउँपालिका-३ घर भइ अल्टिट्युड राइडर्स प्रालिका संस्थापक ४० वर्षीय विशु सिञ्जालीलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जानकारी दिएको छ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले उनलाई रोल्पा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौं ल्याएर मुद्दा चलाइएको जानकारी दिए।

प्रवक्ता अवस्थीले भने, 'पर्यटकको जाहेरीपछि पक्राउ गरी उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो, अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ।'

उनका अनुसार अनुसन्धानमा सिञ्जालीले नेपालमा मेरो अल्टिट्युड राइडर्स प्रालि कम्पनी रहेको र सो कम्पनीले तपाईँहरूलाई नेपालस्थित मोटरसाइकल राइडको व्यवस्था गरिदिनेछ भनी म्यासेन्जरमा कुराकानी गरी पोल्यान्डका १३ जना पर्यटकलाई विश्वासमा पारेका खुलेको छ।  

उनका अनुसार सिञ्जाली राइडर्सको लागि मोटरसाइकल राइड, खाना, बस्न, अन्य सपोर्टसमेतको सम्पूर्ण प्याकेजसहित सेवा दिने सर्तमा नेपाल भ्रमणका लागि सम्झौता भएको सात दिनभित्र ३० प्रतिशत रकम लिएर सर्तबमोजिमका सेवा प्रदान नगरी सम्पर्कविहीन भएका थिए।

त्यसपछि विद्युतीय माध्यमसम्बद्ध ठगी कार्य भएको भनी पीडित पोल्यान्डका नागरिकको निवेदनका आधारमा खोजतलास गर्दा उनी रोल्पामा भएको पत्ता लागेपछि ब्यूरोको टोलीले रोल्पा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौं ल्याएको ब्यूरोले आज सूचनामार्फत जनाएको छ। 


प्रकाशित : शुक्रबार, कात्तिक २८ २०८२१८:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend