बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

नेपालगञ्ज उपमहानगरपालिकामा करोडौँ मूल्यका नगरबस प्रयोगविहीन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २८ २०८२
नेपालगञ्ज उपमहानगरपालिकामा करोडौँ मूल्यका नगरबस प्रयोगविहीन

लक्षित वर्गका लागि प्राप्त अनुदानमा नगर बस खरिद गरी राज्यको धनराशि खर्च भए पनि उपलब्धि नभएको भन्दै नगरवासीले चिन्ता र चासो व्यक्त गरेका छन्।

बाँके- नेपालगञ्ज उपमहानगरपालिकाका नगरबस प्रयोगविहीन अवस्थामा बसपार्कमा थन्किएका छन्। 

उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा चार थान ४१ सिटे र तीन थान ३६ सिटे बस रु तीन करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरेको थियो। खरिद गरेको छ वर्षमै नगरबस प्रयोगविहीन अवस्थामा पुगेका छन्।

विशेष अनुदानको रकमबाट बस खरिद गरिएकाले महिला सहचालक राखी सुरुवातमा उपमहानगरपालिका आफैँले सञ्चालन गरे पनि खर्च धान्न नसक्ने देखेपछि बसपार्क र सातवटा बस सञ्चालनका लागि ‘टेन्डर’ आह्वान गरिएको थियो। 

उपमहानगरपालिका राजस्व शाखा प्रमुख वीरबहादुर थापाका अनुसार सातवटा बसको वार्षिक ५० लाख र नेपालगञ्ज बसपार्कको पार्किङ शुल्क ५१ लाख न्यूनतम मूल्य कायम गरी टेन्डर आह्वान भएकामा शिवशक्ति जनरल अर्डर सप्लायर्सले वार्षिक एक करोड ३७ लाख ५१ हजार रुपैयाँमा ठेक्का स्वीकार गरेको थियो। बस सञ्चालनमा घाटा भएपछि ठेकेदार कम्पनीले नगरबस बसपार्कमा थन्क्याएको छ। 

लक्षित वर्गका लागि प्राप्त अनुदानमा नगर बस खरिद गरी राज्यको धनराशि खर्च भए पनि उपलब्धि नभएको भन्दै नगरवासीले चिन्ता र चासो व्यक्त गरेका छन्।

नागरिक सरोकार मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले विपन्नका लागि आएको बजेटबाट किनिएका बस अहिले थन्क्याएर राख्नु सहरकै प्रतिष्ठामा आँच आउने विषय भएको बताए।

'ठूलो धनराशि खर्च गरेर किनेका बस अहिले सञ्चालन गर्न सकिएन भनेर उम्कन मिल्दैन, विपन्न नागरिकको नाममा आएको बजेटबाट किनिएका बसहरू नगरवासीलाई सेवा मात्रै दिन भए पनि सञ्चालन हुनुपर्छ', उनले भने, 'करोडौँ मूल्यका नगरबस यसरी थन्क्याएर राख्नु सार्वजनिक सम्पत्तिको दुरुपयोग हो।'

उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बसपार्कमा थन्किएका नगरबसलाई पुनः सञ्चालनका लागि योजना बनिरहेको बताए। उनले नगर कार्यपालिकाको आगामी बैठकमा यस विषयमा छलफल हुने र पुनः सञ्चालनका लागि निर्णय गरिने रिजालको भनाइ छ। रासस


प्रकाशित : शुक्रबार, कात्तिक २८ २०८२१६:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend