काठमाडौं- निजी क्षेत्रका अगुवाहरूले पछिल्ला घटनाक्रमले देशमा लगानीको वातावरण असुरक्षित बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। जेनजी आन्दोलनमा व्यवसायी र निजी सम्पत्तिलक्षित आक्रमण गर्ने व्यक्तिहरूमाथि अझै कारबाही नहुनु गम्भीर विषय भएको उनीहरूको भनाइ छ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को काठमाडौंमा शुक्रबार आयोजित वार्षिक साधारणसभामा व्यवसायिक समुदायका प्रतिनिधिहरूले पछिल्लो समय उत्पन्न परिस्थितिले निजी क्षेत्र हतोत्साहित भएको उल्लेख गरे।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठका अनुसार जेनजी आन्दोलनपछि निजी क्षेत्र अत्यन्तै अप्ठ्यारो अवस्थामा पुगेको छ। आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्ति, उद्योग-व्यवसाय र व्यवसायीका घरमा समेत छानिछानी आक्रमण हुनुले व्यवसायीहरूको मनोबल कमजोर भएको उनले बताए। उनका अनुसार राज्यले यस्ता घटनामा संलग्नलाई कारबाहीमा ल्याउन ढिलाइ गरे भविष्यमा पनि यस्ता घटना दोहोरिन सक्छन्।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनलाई देश चुनावतर्फ अघि बढ्ने संकेतका रूपमा लिन सकिने बताए।
सुशासन, पारदर्शिता र नीतिगत स्पष्टताको माग आफूहरूले पनि लामो समयदेखि उठाउँदै आएको भन्दै उनले आन्दोलनले उठाएका प्रश्नको सम्बोधन गर्नु आवश्यक रहेको बताए।
राष्ट्र बैंकका पछिल्ला नीतिहरूले सुधारको संकेत दिएको उल्लेख गर्दै उनले निजी क्षेत्रले जेनजी आन्दोलनले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदन तयारी अवस्थामा रहेको जानकारी दिए।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आन्दोलनपछि लगानीकर्ता निराश भएको बताए। उनका अनुसार सुरक्षाको प्रत्याभूति नभएसम्म लगानी बढ्न सक्दैन।
अग्रवालले स्वदेशी लगानीलाई पनि इन्भेस्टमेन्ट प्रोटेक्सन नीति आवश्यक रहेको उल्लेख गर्दै राजनीतिक तथा नीतिगत स्थिरता नहुनुले निरन्तर निजी क्षेत्र मारमा परेको बताए। कर प्रणाली प्रतिस्पर्धी नबन्दा अतिरिक्त चुनौती थपिएको उनको भनाइ छ।