काठमाडौं- स्काउट र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँगको दीर्घकालीन करार विवाद चर्किँदै गएर डोजर चलाउनेसम्मको अवस्था आउँदा माई च्वाइस रेष्टुरेन्ट एण्ड बार र लैनचौर बैंक्वेट दुवै कम्पनीले संयुक्तरूपमा गम्भीर आपत्ति जनाएका छन्।
खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले लैनचौरस्थित स्काउटको जग्गामा बनाएको संरचनामा बिहीबार काठमाडौं महानगरपालिकाले डोजर चलाएको थियो। युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत पर्ने उक्त संरचना खाली गर्नका लागि मन्त्रालयकै आग्रहमा महानगरले सहजीकरण गरेको जनाइएको छ।
माई च्वाइस रेष्टुरेन्ट एण्ड बार र लैनचौर बैंक्वेटले डोजर चलाइएको घटनामा करिब १५ करोड रुपैयाँबराबरको सम्पत्ति नष्ट भएको दाबी गर्दै आफूहरूलाई 'तथ्यविपरीत प्रचार-प्रसारमार्फत निसाना बनाइएको' आरोप लगाएका छन्।
दुवै कम्पनीका अनुसार २०६६ मंसिरमा स्काउट (पहिलो पक्ष), खड्का ल्याण्ड डेभलपमेन्ट (दोस्रो पक्ष) र तेस्रो पक्षका हैसियतमा बैंक्वेट तथा रेष्टुरेन्ट सञ्चालनका लागि छुट्टाछुट्टै सम्झौता गरिएको थियो। सम्झौताअनुसार स्काउटलाई नियमितरूपमा भाडा बुझाउँदै आएको र एक रुपैयाँ पनि बक्यौता नरहेको स्पष्ट गर्दै उनीहरूले आफूहरूको व्यवसायमा खड्का ल्याण्डको कुनै लगानी नभएको दाबी गरेका छन्।
कम्पनीहरूको भनाइअनुसार २०८१ बैशाख ६ गते राति सम्झौता अवधि बाँकी हुँदाहुँदै स्काउटले 'अमानवीय ढंगले एकतर्फी तालाबन्दी' गरिदिएको थियो। करिब डेढ वर्षदेखि तालाबन्दी भइरहेका बेला र मुद्दा अदालतमै विचाराधीन रहँदा बिहीबार डोजर चलाइएकाले ठूलो आर्थिक क्षति भएको दाबी गरिएको छ।
लैनचौर बैंक्वेटका अनुसार करिब १२ करोड रुपैयाँबराबरको संरचना, सजावट तथा सामग्री नष्ट भएको छ। माई च्वाइस रेष्टुरेन्टका अध्यक्ष वीरेन्द्रकुमार श्रेष्ठले करिब ३ करोड रुपैयाँबराबरको निजी सम्पत्ति भत्किएको बताएका छन्। उनले संविधानको धारा २५ अन्तर्गत ‘सम्पत्तिको हक’ हनन भएको आरोप लगाउँदै कानूनी उपचारमा रहेको जानकारी दिएका छन्।
दुवै कम्पनीले पछिल्ला केही समाचारहरूमा आफूहरूलाई ‘हिल्टन होटल विवाद’ र पूर्वमन्त्री दीपक खड्कासँग जोडेर प्रस्तुत गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्। आफ्नो सम्पूर्ण कारोबार ‘खड्का ल्याण्डमा एकल स्वामित्व राख्ने विकल क्षेत्री’ सँग मात्र भएको र कुनै राजनीतिक व्यक्तिसँग नभएको उनीहरूले जनाएका छन्।
नेपाल स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गााको भाडाबापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिने अल्टिमेटम दिएको थियो। उक्त कम्पनी नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको स्वामित्वमा छ।
लैनचौरस्थित कित्ता नम्बर १० को खानी विभागसँग सिमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोगचलन गर्न नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच २०६५ मा सम्झौता भएको थियो। १० वर्षे करार सम्झौता २०७५ सालमै सकिएको भए पनि कम्पनीले स्काउटको स्वामित्वको जग्गा नछाडेको जनाइएको छ।