बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण

शुक्रबार, कात्तिक २८ २०८२
उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण

सहुलियत ब्याजदरमा बिनाधितो प्राप्त गरेको घुम्ती कोषको रकम अवधि पुगेपछि टोल विकास संस्थालाई फिर्ता गर्नुपर्नेछ।

म्याग्दी- जिल्ला सदरमुकाम बेनी बजारको सिमाना लामाखेतमा कार्यालय रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण उपलब्ध गराएको छ।

गाउँपालिकाले सञ्चालन गरेको ‘रूपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा १२ जना उद्यमीलाई एक-एक लाखका रुपैयाँका दरले ऋण उपलब्ध गराइएको हो।

गाउँपालिकाका सामाजिक विकास अधिकृत भेषनाथ आचार्यका अनुसार चार किस्तामा फिर्ता गर्नेगरी वार्षिक सात प्रतिशत ब्याजदरमा बिनाधितो सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइएको छ। चार महिनापछि चार-चार महिनामा २५ हजारका दरले १६ महिनामा सबै रकम फिर्ता गर्नेगरी ऋण उपलब्ध गराइएको हो। आवेदन संकलन, उद्यमको स्थलगत अनुगमन, आवद्ध टोल विकास संस्थाको निर्णय र वडा कार्यालयको सिफारिसका आधारमा उद्यमी छनोट गरिएको छ।

वडा नं १ का गंगाकुमारी पाइजाले कुखुरापालन, वडा नं ६ का छममाया खोर्जा पुनले बाख्रापालन/तरकारीखेती, वडा नं २ की चन्द्रकली घर्तीक्षेत्रीले भैँसीपालन, ८ की गुमा क्षेत्री, नारायण जिसीले पशुपालन, वडा नं ४ का जगतबहादुर घर्ती क्षेत्रीले माछापालन, ढकबहादुर घर्ती क्षेत्री, वडा नं ८ का शिवबहादुर जिसीले कुखुरा/माछापालन, वडा नं ९ का बमबहादुर गर्बुजा मगरले पलास्टिक पोखरी निर्माण, ८ का गगनबहादुर महतले भैँसीपालन, ३ की माया घर्ती क्षेत्रीले सौन्दर्य सामग्री व्यवसाय र वडा नं ७ का दुर्गा दमाईले तरकारीखेती/कुखुरापालनका लागि ऋण पाएका हुन्।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दीपक आचार्य र प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमको रोहबरमा बुधबार सम्झौता गरी उद्यमीहरूको खातामा रकम पठाइएको हो। आव २०८०/८१ मा नौ जनालाई नौ लाख, २०८१/८२ मा २० जनालाई १९ लाख ७५ हजार लगानी गरिएको घुम्ती कोषमार्फत चालु आवको फागुनमा थप आठ र असारमा पाँच जनालाई लगानी गरिने गाउँपालिकाले जनाएको छ।

सहुलियत ब्याजदरमा बिनाधितो प्राप्त गरेको घुम्ती कोषको रकम अवधि पुगेपछि टोल विकास संस्थालाई फिर्ता गर्नुपर्नेछ। असल उद्यमी निर्माण तथा उद्यमशीलताको विकास गर्ने, भौतिक पूर्वाधारका काममा गुणस्तर कायम गर्ने, कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने, युवाको विदेश पलायन न्यूनीकरण गरी रोजगारीका अवसर सृजना गर्नेलगायत उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको छ।

पालिकाभित्रै व्यावसायिक रूपमा गरिने फलफूल, तरकारी उत्पादन, पशुपन्छीपालन, घरेलु औजार तथा उपकरण निर्माण गरी स्वरोजगारमूलक काम गरिरहेका उद्यमीको प्रोत्साहन हुनुका साथै यस क्षेत्रमा लाग्न चाहने युवालाई पनि बिनाधितो ऋण प्रवाहले प्रेरणा मिलेको छ। रासस


प्रकाशित : शुक्रबार, कात्तिक २८ २०८२१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend