बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चालु आवका लागि अन्नपूर्णमा १५६ योजना छनौट

बिहीबार , कात्तिक २७ २०८२
चालु आवका लागि अन्नपूर्णमा १५६ योजना छनौट

१६ करोड २७ लाख ८३ हजार रूपैयाँ बजेट विनियोजन भएका तीन योजना कार्यान्वयनका लागि सर्वेक्षण अघि बढेको छ।

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन गर्ने १५६ योजना छनौट गरेको छ।

१६ करोड २७ लाख ८३ हजार रूपैयाँ बजेट विनियोजन भएका तीन योजना कार्यान्वयनका लागि सर्वेक्षण, लागत अनुमान तयार, उपभोक्ता समिति गठन, ठेक्का आह्वान र सम्झौताको प्रक्रिया अघि बढाएको हो।

पालिका स्तरका २४ सहित १५६ वटा योजना मध्य हालसम्म तीन योजनाको सम्झौता, एकको अन्तिम भुक्तानी, ४४ को सर्वेक्षण, ३० को लागत अनुमान तयार र सातको ठेक्का आह्वान भएको प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले जानकारी दिए।

आगामी पुस महिनाभित्र सम्झौता र आगामी बैशाख महिनासम्म अन्तिम भुक्तानी गर्ने लक्ष्यअनुसार योजना कार्यान्वयनमा जुटेको उनले बताए। गाउँपालिकाले प्राथमिकता दिएका सडक तर्फ भिरकाटे-दोवा, पोखरेबगर-चित्रे, तातोपानी-भुरुङ, बिच्छान-लिस्ने, घार खेलमैदान र रातोपानी कुण्ड संरक्षण योजनाको ठेक्का आह्वान भएको छ।

सडक स्तरोन्नति, पदमार्ग, पर्यटन पूर्वाधार, सामुदायिक भवन, खानेपानी, सिँचाइ, खेलमैदान, पहिरो तथा नदी नियन्त्रण सम्बन्धी योजनाहरु धेरै छन्। यसअघिका वर्षमा ठेक्का सम्झौता भएका प्रभा र पाउद्धार माविको भवन, रुप्से झरना पूर्वाधार, सेकार्कु तातोपानी निर्माण र खिवाङ-घराम्दी सडक योजनालाई यस वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताए।

जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा गरेर चालु आर्थिक वर्षदेखि नै प्रशासकीय भवन निर्माण सुरु गर्न जुटेको उनले बताए। वडा न. ७ को कार्यालय भवन बनाउन महभिरमा जग्गा प्राप्ति भइसकेकाले निर्माण प्रक्रिया अघि बढाउने अध्यक्ष पुनले बताए।

यसैगरी यसवर्ष दुई करोड १२ लाख ७५ हजार रूपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्ण गाउँपालिकाले पहिलो चौमासिकमा एक करोड ३७ लाख पाँच हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

पर्यटकीय स्थलहरु पुनहिल, भुरुङ्ग तातोपानी, पाउद्वार तातोपानी र रातोपानी तातोपानी कुण्डलाई आय ठेक्कामा लगाएर करोड १५ लाख २१ हजार ८० रूपैयाँ आम्दानी भएको छ। गाउँपालिकाले पर्यटकीय स्थलहरुको सञ्चालन, प्रवेश शुल्क, होटल र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर चालु आवमा उक्त आम्दानी गरेको उपाध्यक्ष दिवा तिलीजा पुनले बताए। रासस


प्रकाशित : बिहीबार , कात्तिक २७ २०८२११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend