काठमाडौं- यो साता निरन्तर बढेर बुधबार घटेको सुनको मूल्य बिहीबार पुन: उचाइतिरै लागेको छ। बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ९ सय रूपैयाँले बढेर प्रतितोला २ लाख ५० हजार २ सय रूपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागेसँगै नेपाली बजारमा पनि बढिरहेको सुनको मूल्य बुधबार प्रतितोला २ हजार ९ सय रूपैयाँले घटेको थियो। बुधबार सुन प्रतितोला २ लाख ४४ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।
यो साता आइतबार तोलामा दुईसय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला २ हजार ९ सय रूपैयाँले बढेको थियो। मंगलबार थप महँगिएको सुन प्रतितोला ४ हजार ९ सय रूपैयाँले उकालो लागेको थियो।
गएको असोज ३१ गते सुनको मूल्य ताेलाकाे २ लाख ५८ हजार रूपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च हो। बीचमा घटेको सुनको मूल्य विश्व बजारमा महँगिएसँगै अहिले नेपाली बजारमा पनि पुन: उचाइतिरै लागेको हो।
नेपाली बजारमा चाँदीको मूल्यमा पनि बिहीबार उच्च वृद्धि देखिएको छ। चाँदी आज प्रतितोला १७० रूपैयाँले बढेर तोलाकै ३ हजार ३ सय ४५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदी बुधबार प्रतितोला ३ हजार १७५ रूपैयाँमा कारोबार भएको थियो।


