काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले महाप्रबन्धक पदका लागि खुला प्रतिस्पर्धात्मक आवेदन आह्वान गरेको छ। निगमको रिक्त महाप्रबन्धक पद पूर्तिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबारमार्फत दरखास्त माग गरिएको हो।
मन्त्रालयले २०८२ कात्तिक २७ गते प्रकाशित सूचनाअनुसार इच्छुक र योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयमा दरखास्त पेश गर्न सक्नेछन्।
आवेदन फाराम, आवश्यक योग्यता र अनुभव, पेश गर्नुपर्ने कागजात, छनोट प्रक्रिया, पारिश्रमिक तथा सुविधा लगायतका विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध गराइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार छनोट समिति गठन भइसकेको र प्रक्रिया मन्त्रालयको प्रत्यक्ष समन्वयमा अघि बढाइनेछ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको महाप्रबन्धक पद खुला प्रतिस्पर्धात्मक प्रणालीबाट चयन गर्ने निर्णय गरेकी थिइन्। पर्यटन मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेकी हुन्।
समितिमा क्याप्टेन कुलबहादुर लिम्बु विज्ञ सदस्यका रूपमा रहेका छन् भने मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिव सदस्य सचिवका रूपमा रहनेछन्। समितिले एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी मन्त्रालयमा सिफारिस गर्ने कार्यादेश पाएको छ।
खुला प्रतिस्पर्धाबाट नयाँ महाप्रबन्धक नियुक्त नभएसम्म निगमकै वरिष्ठतम् कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धकको जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको छ।
नेपाल वायु सेवा निगममा महाप्रबन्धक पद रिक्त भएको लामो समयपछि खुला प्रतिस्पर्धात्मक प्रणालीमार्फत नियुक्ति प्रक्रिया अघि बढ्न लागेको हो।
