बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कृषक र कृषि जोडेर वीरेन्द्र बस्नेतकै योजनामा अगाडि बढ्दै गतिशील लोकतान्त्रिक पार्टीको अभियान

७० अर्ब रुपैयाँबराबरको खाद्यान्न आयात प्रतिस्थापन गराउने लक्ष्य

बुधबार, कात्तिक २६ २०८२
कृषक र कृषि जोडेर वीरेन्द्र बस्नेतकै योजनामा अगाडि बढ्दै गतिशील लोकतान्त्रिक पार्टीको अभियान

पार्टी सदस्य बस्नेतले गतिशील कृषिको माध्यमबाट सामुदाय केन्द्रित कृषि उद्यम स्थापना गरी रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्र सशक्त बनाउन सकिने बताएका छन्।

काठमाडौं- कृषक र कृषि जोडेर देशलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित गतिशील लोकतान्त्रिक पार्टी नेपालले ‘गतिशील कृषि’ अभियान सुरु गरेको छ। हवाई उद्यमी वीरेन्द्रबहादुर बस्नेतकै योजनामा आधारित यो अभियानले कृषिलाई उद्यममुखी र आधुनिक व्यवसायको रूपमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ।

पार्टीले बुधबार राजधानीमा राष्ट्रिय कृषि अवधारणापत्र सार्वजनिक गर्दै किसान, निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्यमा आधारित उत्पादनदेखि बजारसम्मको एकीकृत मोडेल अघि सारेको हो। जनकपुरमा सार्वजनिक गर्ने तयारी भए पनि त्यहाँको अवस्था प्रतिकूल भएपछि राजधानीमै कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा बोल्दै पार्टी सदस्य बस्नेतले गतिशील कृषिको माध्यमबाट सामुदाय केन्द्रित कृषि उद्यम स्थापना गरी रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्र सशक्त बनाउन सकिने बताएका छन्।

उनका अनुसार यो मोडेलले किसानलाई आत्मनिर्भर मात्र होइन, गर्विलो उद्यमी बनाउनेछ। गाउँ-गाउँमा सहकारी ढाँचाका मिल, प्रशोधन केन्द्र र अनुसन्धान इकाइ स्थापना भइ किसानले आफ्नै उत्पादनको मूल्य र बजारमा प्रत्यक्ष पहुँच पाउने व्यवस्था गरिनेछ।

बस्नेतले प्रस्तुत गरेको अवधारणा मोरङ र झापामा विगत १५ वर्षदेखि गरिएको व्यावहारिक अनुभवमा आधारित छ। आरजु राइस मिलमार्फत किसानसँग प्रत्यक्ष सहकार्य गर्दै धान, मकै र तोरीको मूल्य श्रृंखला सुधारिएको अनुभवलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने तयारी पार्टीले गरेको हो। हाल ३ हजार बिघाभन्दा बढी क्षेत्रका किसानले यस मोडेलबाट प्रत्यक्ष लाभ लिइरहेका छन्।

गतिशील कृषि अवधारणाअनुसार किसान स्वयं मिलका साझेदार बन्नेछन्। एक बिघा जग्गामा करिब २ लाख ८० हजार रुपैयाँ लगानी गर्नुपर्ने र वार्षिक झन्डै ५० हजार रुपैयाँ नाफा हुने अनुमान गरिएको छ। अध्ययनअनुसार सहभागी किसानको धान उत्पादन ३० प्रतिशत र मकै उत्पादन ५० प्रतिशतसम्म वृद्धि भएको देखिएको छ।

पार्टीले प्रारम्भिक चरणमा कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका पाँच स्थानमा पाइलट परियोजना सञ्चालन गर्ने योजना बनाएको छ। करिब ४ अर्ब ५० करोड रुपैयाँको लगानीमा प्रशोधन केन्द्र र अनुसन्धान इकाइहरू स्थापना गरिने छन्। यसबाट करिब १५ हजारभन्दा बढी रोजगारी सिर्जना हुने र ७० अर्ब रुपैयाँबराबरको खाद्यान्न आयात प्रतिस्थापन सम्भव हुने अनुमान गरिएको छ।

बस्नेतले सरकारलाई कृषि ऋणमा ब्याज अनुदान, कर छुट, बीमा सहजता र पूर्वाधारमा पूरक लगानीको आग्रह गरे। उनका अनुसार किसान, निजी क्षेत्र र स्थानीय सरकारबीचको सहकार्यबिना कृषि आत्मनिर्भर र नाफामूलक बन्न सक्दैन।

गतिशील लोकतान्त्रिक पार्टीले कृषिलाई समृद्धिको मेरुदण्डका रूपमा स्थापित गर्ने दीर्घकालीन दृष्टि लिएको छ। पार्टीको प्रतिबद्धताअनुसार आत्मनिर्भर कृषि प्रणाली, महिलाको समान सहभागिता, बाँझो जमिनको उपयोग, जलवायु-स्मार्ट खेती र स्थानीय सरकारलाई सशक्त भूमिका दिने नीतिहरूलाई कार्यान्वयनमा ल्याइनेछ।


प्रकाशित : बुधबार, कात्तिक २६ २०८२१७:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend