काठमाडौं- नेपाल वायुसेवा निगमले लामो समयदेखि बन्द अवस्थामा रहेको आफ्नो ट्विनअटर (९एन-एबीटी) जहाज पुनः सञ्चालनमा ल्याएको छ।
गत सेप्टेम्बर २०२५ देखि इन्जिन मर्मत तथा वार्षिक परीक्षणका कारण रोकिएको उक्त जहाजको आवश्यक मर्मतसम्भार पूरा भएपछि कात्तिक २४ गते सफल परीक्षण उडान सम्पन्न भएको निगमले जनाएको छ।
परीक्षण उडान सफल भएपछि निगमले दुवै ट्विनअटर जहाजमार्फत् आन्तरिकतर्फ पुनः व्यावसायिक उडान सञ्चालन गरेको हो। यसबाट दुर्गम क्षेत्रका यात्रुहरूले थप सहज, नियमित र भरपर्दो हवाई सेवा पाउने निगमको विश्वास छ।
निगमले आगामी दिनमा पनि सुरक्षित र भरपर्दो सेवा निरन्तर प्रदान गर्ने प्रतिबद्धता पनि जनाएको छ।
