बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विश्वभर ईभी बिक्री २३ प्रतिशतले बढ्यो

बुधबार, कात्तिक २६ २०८२
विश्वभर ईभी बिक्री २३ प्रतिशतले बढ्यो

यता उत्तर अमेरिकामा भने विद्युतीय सवारीको बिक्री घटेको छ। गएको अगस्ट र सेप्टेम्बरमा उल्लेख्य बढेको विद्युतीय सवारी बिक्री अक्टोबरमा आइपुग्दा ४१ प्रतिशतसम्मले घटेको छ।

काठमाडौं- विश्वभर विद्युतीय सवारीको बिक्री उल्लेख्य रुपमा बढ्दै गएको छ। २०२५ को अक्टोबरमा विश्वभर पूर्ण विद्युतीय र प्लग इन हाइब्रिडसमेतको बिक्री २३ प्रतिशतले वृद्धि भएको हो। 

विश्वका ठूला सवारी बजारमा विद्युतीय सवारीको माग बढेकाले बिक्रीमा त्यसको प्रभाव देखिएको हो। युरोपेली बजारमा पछिल्लो पटक विद्युतीय सवारीको माग बढेकाले त्यसको प्रत्यक्ष प्रभाव बिक्रीमा देखिएको रिसर्च फर्म ह्रो मोसनले उल्लेख गरेको छ। जर्मनी, फ्रान्स र बेलायतमा अक्टोबरमा विद्युतीय सवारी बिक्री पिकमा पुगेको हो। 

युरोपियन युनियनले धेरैवटा ब्याट्री उत्पादन परियोजनाहरुलाई स्वीकृति दिएकाले पनि उपभोक्तामा कन्फिडेन्स बढेको अनुमान गरिएको छ। चीन विश्वको सबैभन्दा ठूलो सवारी बजार हो र यहाँ विश्वमा बिक्री हुने विद्युतीय सवारीमध्ये करिब आधा बिक्री भइरहेको छ। 

चीनमा विद्युतीय सवारी बिक्री बढ्नुको मुख्य कारण त्यहाँ विद्युतीय र आईसीई सवारीको खरिद मूल्य समान रहेको छ। तर विश्वका अन्य कुनै पनि बजारमा आईसीई सवारीभन्दा विद्युतीय सवारी महँगो रहेको छ। तर नेपालमा भने आईसीई सवारीको तुलनामा विद्युतीय सवारी निक्कै सस्तो मूल्यमा उपलब्ध छ। सरकारले आईसीई सवारीमा भन्दा विद्युतीय सवारीमा कम आयात कर लगाएकाले विद्युतीय सवारी सस्तो हुन सम्भव भएको हो। 

यता उत्तर अमेरिकामा भने विद्युतीय सवारीको बिक्री घटेको छ। गएको अगस्ट र सेप्टेम्बरमा उल्लेख्य बढेको विद्युतीय सवारी बिक्री अक्टोबरमा आइपुग्दा ४१ प्रतिशतसम्मले घटेको छ। यसको मुख्य कारण सरकारले दिएको ७ हजार ५ सय डलर ट्याक्स क्रेडिट हट्नु हो। अमेरिकालगायत यो क्षेत्रमा आईसीई सवारीको तुलनामा विद्युतीय सवारी निक्कै महँगो रहेको छ। 

२०२५ अक्टोबरमा विश्वभर ब्याट्रीमा आधारित विद्युतीय सवारी र प्लग इन हाइब्रिडसमेत गरि १९ लाख विद्युतीय सवारी बिक्री भएको छ। यो अघिल्लो अक्टोबरको तुलनामा २३ प्रतिशतले वृद्धि भएको ह्रो मोसनले उल्लेख गरेको छ। 

अक्टोबरमा चीनमा मात्रै १३ लाख विद्युतीय सवारी बिक्री भएको हो। त्यस्तै युरोको बिक्री ३६ प्रतिशतले बढेर ३ लाख ७२ हजार ७ सय ८६ वटा बिक्री भएको छ। उत्तर अमेरिकामा अक्टोबरमा विद्युतीय सवारी बिक्री ४१ प्रतिशतले घटेर १ लाख ३ सय ७० वटा बिक्री हुँदा बाँकी विश्वभर विद्युतीय सवारी बिक्री ३७ प्रतिशतले बढेर १ लाख ४१ हजार ३ सय ६८ वटा बिक्री भएको तथ्यांक छ। 

नेपाली बजारमा पनि दसैँतिहारको समयमा माग बढेकाले विद्युतीय सवारीको आयात बढेको छ।


प्रकाशित : बुधबार, कात्तिक २६ २०८२११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend