तनहुँ- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक कालोपत्र गरेको छ। कार्यालय स्थापनादेखि हालसम्म नयाँ सहर आयोजनाभित्र २० दशमलव ३ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो।
कार्यालयले ३४ दशमलव ७८ किलोमिटर सडक ग्राभेल, २ दशमलव ७४ किलोमिटर ढलान, ४६ दशमलव ०२ किलोमिटर नाला निर्माण गरेको कार्यालय प्रमुख शान्ति शर्माले जानकारी दिइन्।
आन्तरिक बसाइँसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्गको वरिपरी दश नयाँ सहर स्थापना गर्ने सरकारको नीतिअनुरुप विसं २०९० सम्ममा व्यवस्थित बस्तीसहितको पूर्वाधार तयार गर्न तनहुँमा साविकको भानु गाविस-१, २, ३, ४ र साविकको बन्दीपुर गाविस-१, २, ३ र ४ समेटी आर्थिक वर्ष २०७२/७३ बाट नयाँ सहर आयोजना डुम्रे भन्सारको सुरुवात भएको हो।
शर्माका अनुसार गत आर्थिक वर्षमा १ दशमलव ५ किलोमिटर ढलान र १ दशमलव ४ किलोमिटर नाला निर्माण गरिएको छ। सडक ग्राभेल र सडक कालोपत्रको काम उक्त आर्थिक वर्षमा नभएको उनले बताइन्।
आर्थिक वर्ष २०८०/८१ मा ० दशमलव ७८ किलोमिटर सडक ग्राभेल, १ दशमलव २४ किलोमिटर ढलान, १ दशमलव ६ किलोमिटर कालोपत्र र ३ दशमलव ६२ किलोमिटर नाला निर्माण भएको जनाइएको छ।
यस्तै, आयोजना सुरु भएदेखि आर्थिक वर्ष २०७९/८० सम्म ३४ किलोमिटर सडक ग्राभेल, १८ दशमलव ७ किलोमिटर सडक कालोपत्र र ४१ किलोमिटर नाला निर्माण भएको जनाइएको छ।
आयोजनाले गत आर्थिक वर्षमा एक सरकारी कार्यालय भवन, तीन सामुदायिक भवन, एक सरकारी भवन मर्मत सम्भार, एक खेल मैदान, दुई मनोरञ्जन पार्क, एक खानेपानी योजना सम्पन्न गरेको छ भने चारसय ३४ सौर्य बत्ती जडान गरेको छ।
आयोजनालाई गत आर्थिक वर्षमा चालुतर्फ एक करोड पाँच लाख रूपैयाँ बजेट विनियोजन भएकामा रु ७५ लाख खर्च भएको छ भने पुँजीगततर्फ ११ करोड ७७ लाख रूपैयाँ विनियोजन भएकामा चार करोड ७४ लाख रूपैयाँ खर्च भएको छ।
कार्यालयले डुम्रे भन्सार जग्गा एकीकरण आयोजनाको प्रक्रिया सुरु गरेको छ। त्यसका लागि ६ सय ४३ रोपनी जग्गा पहिचान गरिएको छ। त्यसका लागि विसं २०७४ पुस १० गते आयोजनाको चारकिल्लासहित नेपाल राजपत्रमा सूचना प्रकाशित भएको थियो। विसं २०७७ पुस १२ मा अन्तिम प्रतिवेदन बुझाइएको र बाटोको किल्ला तोक्ने कार्य सकिएको छ। रासस
