बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

करिब ५३ करोडको लागतमा दरबाङ-मुना-ढोरपाटन सडक स्तरोन्नति सुरु

सोमबार, कात्तिक २४ २०८२
करिब ५३ करोडको लागतमा दरबाङ-मुना-ढोरपाटन सडक स्तरोन्नति सुरु

बेनीबाट मंगला हुँदै मालिका गाउँपालिकाको केन्द्र दरबाङ जोड्ने २४ किलोमिटर सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ।

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरबाङ-मुना-ढोरपाटन सडक स्तरोन्नति सुरु भएको छ। गण्डकी प्रदेश र संघीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरबाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्र गर्ने योजना सुरु भएको हो।

पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले धवलागिरि गाउँपालिका-७ मच्छिममा पहिलो चरणमा सडक फराकिलो पार्न थालेको म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले जानकारी दिए। 

'मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरबाङ-मुना- ढोरपाटन सडक स्तरोन्नतिका लागि ९२ करोड ९२ लाख रूपैयाँको स्रोत सुनिश्चितता भएको थियो,' उनले भने, 'योजनामार्फत दरबाङ-धारापानी (सात किलोमिटर) र मच्छिम-मुना (चार किलोमिटर) अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान हुनेछ।'

पूर्वाधार विकास कार्यालय र ठेकेदारका प्राविधिक टोलीले संयुक्त सर्वेक्षण सकेपछि गत हप्तादेखि उपकरण र मजदुर परिचालन भएका हुन्। गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मकामध्ये सबैभन्दा ठूलो र धेरै बजेटको आयोजना भएको जुग्जालीले बताए। 

प्रशासनीक खर्चबाहेक ६७ करोड रूपैयाँ लागत अनुमान गरिएको योजना कार्यान्वयनका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा सबैभन्दा कम ५२ करोड ८० लाख ५३ हजार रूपैयाँ कबोलेको निर्माण कम्पनीसँग २०८२ असार ११ गते ठेक्का सम्झौता भएको थियो।

म्याग्दीको मंगला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा-काठमाडौं जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले जुग्जालीले गण्डकी प्रदेशको पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेको समयमा विसं २०८० माघमा यो सडकलाई संघीय समपूरक योजनामा समावेश गराउने निर्णय गराएका थिए।

संघीय र प्रदेश सरकारको समपूरक ५०/५० प्रतिशत लागत साझेदारी रहने यस योजनाको ठेक्का अवधि २७ महिनाको रहेको कार्यालय प्रमुख विष्णु पौडेलले जानकारी दिए। संघीय र प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा २४ करोड रूपैयाँ बजेट विनियोजन गरेको यस योजनाका लागि चाालु आर्थिक वर्ष २०८२/०८३ मा २३ करोड २२ लाख रूपैयाँ विनियोजन भएको छ। 

उक्त सडकअन्तर्गतको धवलागिरि गाउँपालिका-७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको चार किलोमिटर दुरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ६१ लाख ६१ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले करिब ६० प्रतिशत भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। 

बेनीबाट मंगला हुँदै मालिका गाउँपालिकाको केन्द्र दरबाङ जोड्ने २४ किलोमिटर सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ। बेनी-तोलाबाङ खण्डमा १८ किलोमिटर कालोपत्र भएको छ। यो सडकले भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिकाको पूर्वाधार र आर्थिक क्षेत्रमा रुपान्तरण गराउने अपेक्षा गरिएको वडा नं.-३ का अध्यक्ष तथा गाउँकार्यपालिकाका प्रवक्ता देवेन्द्र रोकाले बताए।

विसं २०७१ मा मुनामा सडक पुगेको थियो। हाल कच्ची अवस्थामा रहेको सडक गाउँपालिकाले मर्मत गरेर यातायात सञ्चालनको व्यवस्था मिलाएको छ। सडक स्तरोन्नति सुरु भएपछि स्थानीयवासीमा खुसीयाली छाएको उनले बताए। सडक निर्माणलाई गुणस्तरीय हिसाबले समयमै सम्पन्न गराउन गाउँपालिकाले समन्वय र सहजीकरण गर्ने रोकाले बताए।

मुना हुँदै मरेनीबाट जलजला र ढोरपाटन जोड्ने सडकको गत आर्थिक वर्षमा मार्ग खुलेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए। 'गत वर्ष मार्ग खुलेको मुना-खोरीया-मरेनी-जलजला खण्डको सडकमा यातायात सञ्चालन गर्न मर्मतका लागि सडक डिभिजनसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीलाई ताकेता गरेका छौँ,' उनले भने, 'बेनीदेखि मुना खण्डको सडक स्तरोन्नतिसँगै जलजला हुँदै ढोरपाटनको मार्ग खुलेपछि स्थानीयवासीका साथै ढोरपाटन घुम्न जाने पर्यटकहरुलाई सहज हुनेछ।' रासस


प्रकाशित : सोमबार, कात्तिक २४ २०८२११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend