बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एआई नजान्दा कठिन भइरहेछ जागिर : जसले सिक्दैन ऊ टिक्दैन!

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २ २०८२
एआई नजान्दा कठिन भइरहेछ जागिर : जसले सिक्दैन ऊ टिक्दैन!

अमेरिकालगायतका देशमा कतिपय कम्पनीहरूले आफ्ना कर्मचारीलाई जेनेरेटिभ एआईका आधारभूत सीपहरूमा तालिम पनि दिएको छ।

काठमाडौं- आफ्नो व्यक्तिगत गोपनियताका विभिन्न विषयलाई बेवास्ता गर्ने हो भने पछिल्लो समय ‘एआई’ को सही प्रयोगले तपाइँको समय बचत गर्न सक्छ। त्यसका लागि इच्छाशक्तिसँगै चाहिन्छ केही विशेष क्षमता। 

एआईले विभिन्न काममा ल्याएको परिवर्तन केवल प्रविधिको सुधारमात्र होइन, मानव सोच र सीपको पुनःपरिभाषा पनि हो। एक समय कम्प्युटर चलाउन असहज महसुस गर्ने कर्मचारीबाट चलिरहेका कामहरूमा अहिले एआई नजान्नु दुर्भाग्य हुने गरेको छ। उनीहरूको लागि अस्तित्वको परीक्षा बनिरहँदा एआईबाट पर रहेर काम गर्नु कठिन हुँदै गइरहेको छ। 

एआईको विकासले नयाँ मोड लिँदै गइरहँदा च्याटबोटहरू तत्कालीन विषयमा मात्र नभइ प्रयोगकर्तासँगको विगतका संवाद र प्राथमिकताहरू पनि सम्झिन सक्षम हुँदै गइरहेका छन्।

गुगल, ओपन एआई, मेटा र माइक्रोसफ्टजस्ता अग्रणी प्रविधि कम्पनीहरूले आफ्ना च्याटबोटहरूमा ‘स्मृति क्षमता’को विकासमा विशेष ध्यान दिँदै काम गरिरहेका छन्। जसले प्रयोगकर्ताको विभिन्न रुचि, संवाद शैली र व्यक्तिगत प्राथमिकताजस्ता विवरणहरू सम्झेर अझ व्यक्तिगतरुपमा उत्तर दिन सक्ने भएका छन्। त्यसले कामको निरन्तरतामा थप सहयोग मिलिरहेको छ।

यस्तोमा कतिपय कम्पनीहरूले त एआई नजान्ने कर्मचारीलाई बिदा गर्दै ‘एआई अपनाउने’ दबाब बढाउँदै गइरहेका छन्। जसले कार्यस्थलमा एआई प्रयोग गर्न सिक्न सकेका छैनन् ती कर्मचारीहरूलाई कठिन हुँदै गइरहेको छ। त्यस्तो सीपका लागि इच्छाशक्ति नै नहुनेहरू जागिरबाट बिदासमेत भइरहेका छन्। 

अमेरिकालगायतका देशमा कतिपय कम्पनीहरूले आफ्ना कर्मचारीलाई जेनेरेटिभ एआईका आधारभूत सीपहरूमा तालिम पनि दिएको छ। 

गत केही वर्षयता अमेरिकी कम्पनीका साधारण कर्मचारीहरूमा एआईले आफूहरूलाई प्रतिस्थापन गर्ने डर थियो तर अहिले डर अर्को कुरामा हुँदैछ। त्यो हो, एआईलाई छिटो आत्मसात् गर्न नसक्नेहरू नै जागिर गुमाउँदै छन्।

पेशागत सेवामा रहेका र प्रविधि कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई च्याटजीपीटी, जेमिनी वा अन्य कम्पनीका आफ्नै उपकरणहरू प्रयोग गर्न र सिक्न दबाब दिइरहेका छन्। केहीले त त्यसमा प्रोत्साहनभन्दा दबाब बढी प्रयोग गरिरहेका छन्। जो सिक्न चाहँदैनन् वा ढिलो गर्छन् उनीहरूलाई हटाइएको छ। प्रदर्शन कमजोर हुँदा मूल्यांकनमा अंक घटाइएका छन्।

अमेरिकामा राम्रा मानिएका जागिरहरू घटिरहेको बेलामा कम्पनीहरूले एआई सीप नदेखाउने कर्मचारीहरूलाई चेतावनी पनि दिइरहेका छन्। गत हप्ता अमेजनले करिब १४ हजार जनालाई कम्पनीबाट हटायो। अर्को कम्पनीले टार्गेटले १ हजार ८ सय पद कटौती गर्‍यो। आईबीएमले पनि हजारौँ कटौती गरेको छ। अमेजन र आईबीएमका कार्यकारीहरूले उक्त कटौतीलाई एआईसँग सम्बन्धित बताएका छन्।

दि वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकामा केही कम्पनीहरूले एआई प्रयोग गर्ने तालिम दिइरहेका छन् तर त्यसलाई कसरी प्रयोग गर्ने भन्ने जिम्मेवारी कर्मचारीमै निहित रहेको छ। कतिपय कम्पनीले अनिवार्य कक्षा वा सहायता डेस्क खोलेका छन्। कतिपयले कर्मचारीहरूलाई आफैले सोच्न र सिक्न प्रोत्साहित गरेका छन्। 

इग्नाइट टेक नामक सफ्टवेयर कम्पनीले आफ्ना कर्मचारीहरूलाई हप्ताको २० प्रतिशत समय एआई प्रयोगमा खर्च गर्न अनिवार्य नै गर्‍यो। 'एआई मन्डे' मा उनीहरूले ग्राहक सेवा प्रतिक्रियालाई स्वचालित बनाउनेजस्ता विचारहरूमा काम गरे। 

इग्नाइट टेकका सीईओ एरिक भोनका अनुसार कर्मचारीहरूले आफैले एआई प्रयोग मूल्यांकन गरे र पछि कम्पनीले च्याटजीपीटी प्रयोग गरी उनीहरूलाई अंक दियो। मानव समीक्षापछि सबैभन्दा कम अंक ल्याउनेहरूलाई हटाइयो। उनले भने, 'उनीहरूले नै स्वीकार गरे कि उनीहरू अरूभन्दा कमजोर छन्।'

निकालिएकामध्ये एक थिए ग्रेग कोयल, जो कम्पनीसँग वर्षौँदेखि जोडिएका थिए। उनी सक्षम थिए तर एआई अनिवार्यता स्वीकार गर्न चाहेनन्। कोयललाई उद्धृत गर्दै दि वाल स्ट्रिट जर्नलले लेखेको छ, 'एआईले उत्पादन सुधार्छ भन्नेमा म विश्वास गर्थें, तर यति छिटो र व्यापक रूपमा कर्मचारी हटाउनु जोखिमपूर्ण हो। यदि तपाईंको एआई योजना असफल भयो भने त्यो व्यवसायका लागि ठूलो जोखिम हो।'

अन्य धेरै सानाठूला कम्पनीका धेरै कर्मचारीहरू अझै एआईप्रति हिच्किचाइरहेका छन्। उनीहरूलाई डर छ कि एआईले उनीहरूको लागिर नै सकिएला।

एक सर्वेक्षणअनुसार अमेरिकाका ४० प्रतिशतभन्दा बढी कर्मचारीहरू जो एआई प्रयोग गर्दैनन्, उनीहरू भन्छन् 'एआईले हाम्रो काममा सहयोग गर्दैन।' ११ प्रतिशतले भनेका छन् 'हामी काम गर्ने तरिका परिवर्तन गर्न चाहँदैनौँ।'

एआई अपनाउने गति बढिरहेको भए पनि अमेरिकीहरूमा नै अझै पनि एआई अपनाउन 'पूरा तयार छैनौँ' भन्नेको संख्या 'पूरा तयार छौँ' भन्नेभन्दा तीन गुणा बढी छ। 

एमआईटीका अनुसन्धानकर्ताहरूले तीन सयभन्दा बढी एआई परियोजना अध्ययन गर्दा भेटे कि केवल ५ प्रतिशत मात्रले ठोस नतिजा दिएका छन्। कर्मचारीहरू च्याटजीपीटी वा माइक्रोसफ्ट कोपाइलट जस्ता उपकरण प्रयोग गर्न त इच्छुक छन् तर अरू सफ्टवेयरलाई बेवास्ता गर्छन्।

मुख्य समस्या के हो भने धेरै उपकरणहरू प्रयोगकर्ताको अघिल्लो अनुभवबाट सिक्ने क्षमता राख्दैनन्। त्यसैले उनीहरुका लागि जटिल कामका लागि मानिससँग नै कुरा गर्नु अझै बढी उपयोगी हुन्छ।

कतिपय कम्पनीले कर्मचारीको प्रदर्शन मूल्यांकन गर्दा एआई प्रयोग गरेर निर्णय लिन सक्ने क्षमतालाई विशेष मापन गरिरहेका छन्। कतिपयले नयाँ भर्ना गर्दा अनिवार्य एआई तालिम सुरु गरेका छन्। जसमा 'प्रमोटिङ विथ प्रपोज' र 'एआई जिम्मेवारीपूर्वक प्रयोग गर्ने' जस्ता विषय समावेश छन्।

बेलायतका एक शिक्षा प्रविधि कम्पनी मल्टिभर्सले त एआई प्रयोग गरी उत्कृष्ट विचार ल्याउने कर्मचारीलाई १० हजार पाउन्ड हरेक त्रैमासमा पुरस्कार दिने नीति नै लिएको छ। कम्पनीमा नयाँ जागिरमा आउने कर्मचारीले पनि अन्तर्वार्तामा 'तपाईं एआई कसरी प्रयोग गर्नुहुन्छ?' भन्ने प्रश्नको उत्तर दिनुपर्छ। उनीहरूले एआईमा आधारित सीपमात्र होइन एआई अपनाउने इच्छा पनि खोजिरहेका छन्। 

अमेरिकादेखि युरोप र एसियासम्म नै पनि हरेक कार्यालयमा अहिले एउटै डर छ, 'एआईले मेरो काम खोस्ला कि?' तर अब स्थिति फरक दिशामा मोडिँदैछ। एआईले काम खोस्दै छैन बरु एआई नअपनाउनेहरूलाई कम्पनीहरूले हटाउँदैछ।

विश्वका ठूला कम्पनीहरूले एआईलाई जागिरको अनिवार्य विषय बनाउँदैछन्। 'जसले सिक्दैन ऊ टिक्दैन' भन्ने नारा नै अघि सारिरहेका छन्।


प्रकाशित : मंगलबार, मंसिर २ २०८२०९:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend