बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कसले आयात गर्‍यो बोनलक कम्पनीका विद्युतीय बस?

आइतबार, कात्तिक २३ २०८२
कसले आयात गर्‍यो बोनलक कम्पनीका विद्युतीय बस?

कम्पनीले ल्याएको बोनलक जेएक्सके६५४०आरबी र जेएक्सके६४९०आरबी मोडलका बस छन्।

काठमाडौं- नेपाली बजारमा नयाँ-नयाँ चिनियाँ ब्रान्ड आउने क्रम रोकिएको छैन। आएका सयौँ ब्रान्ड उत्पादनको निरन्तरता नहुँदा र सर्भिस तथा स्पेयर पार्ट्स उपलब्ध गराउन नसक्दा फिर्तासमेत भइसकेका छन्। 

विगतमा प्यासेन्जर कारको ब्रान्ड धेरै आइरहेका थिए भने अहिले कमर्सियल गाडी तथा बसका ब्रान्ड आइरहेका छन्। प्यासेन्जर कारमा सर्भिस दिनसक्ने, उत्पादन राम्रो भएका र बलिया कम्पनीका कारले मात्र निरन्तरता पाउने देखिएको छ। 

माइक्रोबस तथा मिनि र ठूला विद्युतीय बसका ब्रान्ड भने अझै आउने क्रममा छन्। यस्तैमा हालैमात्र नयाँ विद्युतीय बस ब्रान्ड नेपाल भित्रिएको छ।

चीनको जियाङसी प्रान्तको नानचाङ सहरमा केन्द्रीय कार्यालय रहेको बोनलक ब्रान्डको विद्युतीय बस नेपाल आयात भएको छ। 

बोनलक बस एन्ड कोच कम्पनीका दुईवटा विद्युतीय बस भित्रिएको हो। बोनलक बसको आधिकारिक आयातकर्ता कम्पनी मेघेन्द्र घ्राम प्रालि रहेको छ। यो कम्पनी कुन समूह वा नयाँ अटोमोबाइल व्यवसायीको कम्पनीमार्फत आयात भएको हो खुलेको छैन। 

बोनलक बस कम्पनी २०१० देखि चीनको सीएचटीसी कम्पनी अन्तर्गत रहेको छ। त्यसैले यो कम्पनीको पूरा नाम सीएचटीसी बोनलक बस कम्पनी लिमिटेड हो। चाइना हाइ टेक ग्रुप कर्पोरेसन(सीएचटीसी) चीनको सरकारी स्वाभिन्वमा रहेको ठूलो व्यवसायिक कम्पनी हो। 

अनौठो नाम रहेको कम्पनी मेघेन्द्र घ्राम प्रालिले पहिलो चरणमा बोनलकका दुई वटा विद्युतीय बस आयात गरेको छ। कम्पनीले ल्याएको बोनलक जेएक्सके६५४०आरबी र जेएक्सके६४९०आरबी मोडलका बस आयात भएका छन्। यसमध्ये जेएक्सके६५४०आरबीको सीआईएफ भ्यालु २१ हजार ४ सय ६५ अमेरिकी डलर र जेएक्सके६४९०आरबी मोडलको सीआईएफ भ्यालु १६ हजार २ सय ५५ अमेरिकी डलर रहेको छ। 

बोनलकका यी विद्युतीय बसको बिक्री मूल्य कति पर्छ, सर्भिस सेन्टर छ/छैन, बिक्रीपछिको सेवालगायत कुनै कुरा बाहिर आएको छैन। बोनलकले भने चीनसहित युरोप, मध्यपूर्व तथा अफ्रिका, उत्तर अमेरिका, ल्याटिन अमेरिका र अस्ट्रेलियमा आफ्नो बिक्री तथा सेवा विस्तार भइसकेको जनाएको छ। 

विभिन्न क्षमताका विद्युतीय बस उत्पादन गर्दै आएको बोनलकको चीनमा रहेको प्लान्टको वार्षिक उत्पादन क्षमता ५ हजार वटा रहेको छ। १ लाख ५० हजार वर्ग मिटर क्षेत्रफलमा प्लान्ट रहेको बोनलक बसमा विश्वभर करिब १५ हजार जनाले काम गर्दै आएका छन्।


प्रकाशित : आइतबार, कात्तिक २३ २०८२०७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend