बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

म्याग्दीमा सडक पूर्वाधारका ३२ योजना कार्यान्वयनमा

शनिबार, कात्तिक २२ २०८२
म्याग्दीमा सडक पूर्वाधारका ३२ योजना कार्यान्वयनमा

पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत कार्यान्वयन हुने सडक स्तरोन्नति, मोटरेबल र झोलुंगे पुल निर्माण सम्बन्धी योजनाका लागि प्रदेश सरकारले ६२ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

म्याग्दी- गण्डकी प्रदेश सरकारले म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधारसम्बन्धी ३२ योजना सञ्चालन गर्ने भएको छ। 

पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत कार्यान्वयन हुने सडक स्तरोन्नति, मोटरेबल र झोलुंगे पुल निर्माण सम्बन्धी योजनाका लागि प्रदेश सरकारले ६२ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

क्रमागत १७ योजनाका लागि ५२ करोड र नयाँ १५ वटा योजनाका लागि १० करोड रूपैयाँ बजेट प्राप्त भएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले जानकारी दिए।

यसअघिका वर्षमा ठेक्का सम्झौता भएका क्रमागत योजनाका निर्माण ब्यवसायीहरु बर्खा र चाडपर्व सकिएपछि काममा फर्कन थालेका तथा नयाँ सालबसाली योजना कार्यान्वयनका लागि ठेक्का आह्वानका लागि सर्वेक्षण र लागत अनुमानको काम भैरहेको उनले बताए।

धवलागिरि, मालिका र मंगला गाउँपालिका समेटिएको प्रदेशसभाको क्षेत्र १(ख)का १८ योजनाका लागि ४७ करोड रूपैयाँ र बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिका समेटिएको निर्वाचन क्षेत्र १(क) का १४ योजनाका लागि १४ करोड ६२ लाख रूपैयाँ बजेट प्राप्त भएको छ। 

संघीय र प्रदेश सरकारको लागत साझेदारीमा गत वर्ष ठेक्का सम्झौता र यस वर्ष २३ करोड २२ लाख रूपैयाँ बजेट विनियोजन भएको दरवाङ-ताकम-शिवाङ-मुना-जलजला-ढोरपाटन सडक प्रदेश सरकार मार्फत म्याग्दीमा सञ्चालित सबैभन्दा ठूलो योजना हो। 

बिम-मराङ-मल्कवाङ-पाखापानी, जैसीखोर-खहरेखोला-रिसिन चौतारी हुदै बैसरी सडक स्तरोन्नति र फापरखेत पहिरोको वैकल्पिक मार्गमा पर्ने म्याग्दीखोलामा बेलिब्रिज निर्माणका लागि एक/एक करोड रूपैयाँ बजेट विनियोजन भएको छ। 

म्याग्दी १(ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले धवलागिरि गाउँपालिका-१ को गुर्जालाई सडक सञ्जालले जोड्ने लक्ष्यसहित प्रदेशबाट ५० लाख रूपैयाँ विनियोजन भएको जानकारी दिए। संघीय, प्रदेश सरकार, गाउँपालिका र समुदायको साझेदारीमा विकट गुर्जालाई यो वर्ष सडक सञ्जालमा जोडिने उनले बताए।

मंगला गाउँपालिका-१ को तुसारेपानी-कुहुँ, गैराखेत-मालिका मन्दिर र दरवाङ-लामेला-अल्काचौर, दूधखोला-तोलावाङ र सराग्दी सडकका लागि ५०/५० लाख र मालिका गाँउपालिकको खतेन-ओखरबोट झोलुंगे पुललाई ३० लाख रूपैयाँ बजेट विनियोजन भएको छ। 

घारखोला-नेपाने र तिप्ल्याङ-बादुक बाख्रेनी डिल देखि धुपीचौर सडक रघुगंगा-२ र बगैचा रानीपौवा रिसिन चौतारी हुदै बेगखोला जोड्ने सडक र रघुगंगा-१ को टोल नम्बर २ को ढल निकास योजनाका लागि ५०/५० लाख रूपैयाँ बजेट विनियोजन भएको म्याग्दी १(क) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए। ग्रामिण सडकहरुलाई ग्राभेल, ढलान र कालोपत्र गरेर स्तरोन्नति गर्न योजनाहरु सञ्चालन भएको उनले बताए।

सडक स्तारोन्नति भएपछि ग्रामिण क्षेत्रमा यातायातको सहज पहुँच बढ्ने र बसाईसराई घट्ने अपेक्षा गरिएको छ। 

अन्नपूर्ण-५ पाउद्धारदेखि कुरिलाबगर हुदै वडा नं ६ बिरौटा सम्म सहिद सुरेश शेरपुजा र हिरालाल फगामी स्मृति मोटरबाटो र दोबा-भिरकाटे सडक, ज्ञानप्रकाश माविदेखि कोट खलंगा हुँदै ठारा, भगवती-डाडाबारी-पिप्ले एकघरे सडक, कोटगाउँ-रायखोर-घ्यासीखर्क र पाखापानी-कालावाङ-ठाडाखानी र ठूलोगैरा-खबरा-बन्चरेढुंगा-भकुण्डे र आनन्दबगर-लामबगर-ढोडेनी सडकका लागि ५०/५० लाख रूपैयाँ बजेट विनियोजन भएको छ।

बेनी-दरवाङ-कल्लेनी-ताकम-मुना-जलजला, दरवाङ-अदिभारा-डाडागाउँ-सोले-तमान-बुर्तीवाङ, पखेर बरंजा ३ र ४ हुँदै महेश धापुङ ताराखोला गापा जोड्ने सडक, दरवाङ-मुना-ढोरपाटन, दरवाङ-बिम-दिच्याम, दरखोला सडक पुल, शिवरात्री खोला सडक पुल,  रुम देखि ताराखोला जोड्ने सडक, दाङखोला पुल र साँवता थापाचौर झोलुंगे पुल निर्वाचन क्षेत्र १(ख) का क्रमागत बहुवर्षीय योजनाहरु हुन्।

निर्वाचन क्षेत्र १(क) मा बेनी-तोरीपानी, हाँडेभिर-बगरफाँट-दूधेखोला-हल्लेगौडा-डोलेमुसुङ, गलेश्वर-पिप्ले-भगवति, गलेश्वर-पुलाश्रम, चित्रे-घोडेपानी, भगवति-सिजलगाउँ-बेग जोड्ने क्रमागत बहुवर्षीय सडक निर्माणाधीन छन्। रासस


प्रकाशित : शनिबार, कात्तिक २२ २०८२११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend