काठमाडौं- अर्बौँ रुपैयाँ खर्चेर निर्माण सम्पन्न भइ सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अपेक्षाअनुसार सञ्चालन हुन सकेको छैन। व्यावसायिक अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न नसकेको अवस्थामा सरकारले कार्गो (मालवाहक) उडानका लागि विशेष सुविधा दिने नीति बनाउन सुझाव दिएको छ।
‘नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवम् सुझाव समितिले’ उक्त विमानस्थललाई अन्तर्राष्ट्रिय कार्गो सेवा सञ्चालनको केन्द्रका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै सरकारलाई स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न पहल गर्न सुझाव दिएको हो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा बनेको समितिले २०७९ जेठ २ गते उद्घाटन भएको विमानस्थल अझै पूर्ण व्यावसायिक सञ्चालनमा नआएको औँल्याउँदै ‘कार्गो सेवा’ नै व्यवहारिक विकल्प बन्न सक्ने निष्कर्ष निकालेको छ।
समितिले सरोकारवाला र व्यवसायीहरूसँगको छलफलपछि गौतमबुद्ध विमानस्थलमा सुविधा प्रदान गरेर अन्तर्राष्ट्रिय कार्गो उडान सञ्चालन गर्नुपर्ने सुझाव पाएको जनाएको छ।
हाल नेपालको निर्यातका लागि प्रयोग हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै सन् २०२३/२४ मा करिब १ करोड ३३ लाख ४० हजार किलोग्राम कार्गो बाहिरिएको नागरिक उड्डयन प्राधिकरणका तथ्यांकमा उल्लेख छ। यद्यपि त्यहाँ कुनै समर्पित कार्गो एयरलाइन्स सेवा सञ्चालनमा छैन।
समितिको प्रतिवेदनअनुसार पारवहन कम्पनीहरूले कार्गो ढुवानीका लागि हप्तौँ कुर्नुपर्ने बाध्यता छ। यस्तो अवस्थामा सरकारले वायुयान लिजिङसहित विशेष सुविधा प्रदान गरी गौतमबुद्ध विमानस्थललाई ‘कार्गो हब’का रूपमा विकास गर्न सके निजी क्षेत्र आफैले नयाँ अवसर पहिचान गर्न सक्ने उल्लेख छ।
भौगोलिक रूपमा नेपालका विभिन्न क्षेत्रसँग समदूरीमा रहेको यस विमानस्थलबाट निर्यातयोग्य वस्तु ढुवानी गर्न सहज हुने प्रतिवेदनमा भनिएको छ। समितिले नेपाल भित्रिने प्रमुख अन्तर्राष्ट्रिय वायुसेवाहरूलाई कार्गोका लागि आकर्षित गर्न सकिने र विमानस्थललाई ‘निर्यात पूर्वाधार केन्द्र’का रूपमा स्थापित गर्न सकिने सम्भावना देखिएको जनाएको छ।
अहिलेको जहाज पार्किङ क्षेत्रबाट साढे दुई किलोमिटर पर टर्मिनल भवनमा पुग्ने सडक निर्माणाधीन छ। बीचमा खोला भएकाले पुल बनाउने काम भइरहेको छ। ट्रान्जिट कार्गो उडानका लागि पनि यो विमानस्थल प्रयोग गर्न सकिन्छ। विदेशी एयरलाइन्सलाई ट्रान्जिट कार्गो उडानका लागि पाँचौं ट्राफिक स्वतन्त्रता दिनुपर्ने हुन्छ।
गौतमबुद्ध विमानस्थलमा उपकरण अवतरण प्रणाली जडान गरिए पनि हाल प्रयोगमा आएको छैन। प्रतिवेदनमा भनिएको छ- 'आईएलएसमा गरिएको लगानीको सदुपयोग हुन सकेको छैन, किनभने आरएनपीएआर प्रणाली सञ्चालनमा आइसकेको छ।'
भूउपग्रहमा आधारित ‘रिक्वायर्ड नेभिगेशन पर्फर्मेन्स विथ अथोराइजेशन रिक्वायर्ड’ प्रणाली २०८१ माघदेखि लागू गरिएको छ, जसबाट न्यूनतम ८०० मिटर दृश्यता हुँदा पनि विमान सुरक्षित अवतरण गर्न सक्छ।
समितिको मूल्यांकनअनुसार ऐतिहासिक र धार्मिक महत्त्व बोकेको लुम्बिनी क्षेत्रको यो विमानस्थललाई निर्यात र पर्यटन दुबै दृष्टिले प्रभावकारी रूपमा सञ्चालन गर्न रणनीतिक योजना आवश्यक देखिएको छ।
