काठमाडौं- सिंगापुर एयरलाइन्सले काठमाडौं र सिंगापुरबीचको आफ्नो रुटमा बोइङ ७३७-८ म्याक्स विमानको सेवा स्थायी रूपमा सुरु गरेको छ।नयाँ विमानको सञ्चालनले यात्रुहरूका लागि थप आराम र सुविधा प्रदान गर्ने सिंगापुर एयरलाइन्सले जनाएको छ।
यसअघि सिंगापुर एयरलाइन्सले यस रुटमा बोइङ ७३७-८०० एनजी विमानहरू सञ्चालन गर्दै आएको थियो। अहिले गरिएको विमान स्तरोन्नतिले समग्र उडान अनुभवलाई धेरै गुणा माथि पुर्याएको एयरलाइन्स भनाइ छ।
नयाँ बोइङ ७३७-८ म्याक्स विमान पूर्णरूपमा सुताउन मिल्ने बिजनेस क्लास सिटहरू रहेको विमान हो। बिजनेस क्लासका यात्रुहरूले अब पूर्ण रूपमा समतल हुने सिटहरूमा आरामदायी आनन्द लिन सक्नेछन्, जसले गर्दा लामो यात्रापछि पनि स्फूर्त महसुस हुनेछ।
सबै क्लासका यात्रुहरूका लागि उडानभरि निःशुल्क वाईफाई उपलब्ध गराइएको एयरलाइन्सले जनाएको छ। यसले यात्रुहरूलाई काम गर्न, परिवार र साथीहरूसँग सम्पर्कमा रहन वा मनोरञ्जनको लागि इन्टरनेट प्रयोग गर्न सहज बनाएको छ।
नयाँ पुस्ताको यो विमानले आधुनिक क्याबिन डिजाइन, उन्नत इनफ्लाइट मनोरञ्जन प्रणाली र उत्कृष्ट इन्धन दक्षताका साथ वातावरणमैत्री उडान अनुभव प्रदान गर्दछ।
बोइङ ७३७-८ म्याक्स विमानको सेवा काठमाडौं-सिंगापुर र सिंगापुर हुँदै अन्य गन्तव्यहरूसम्मको यात्राका लागि स्थायी रूपमा उपलब्ध हुने जनाइएको छ।
