बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विनोद चौधरी भन्छन् - ‘१० वर्षे पर्खाल’ हटाएर नयाँ पुस्ता र उद्यमीहरूलाई कांग्रेसमा स्वागत गर्नुपर्छ

बिहीबार , कात्तिक २० २०८२
विनोद चौधरी भन्छन् - ‘१० वर्षे पर्खाल’ हटाएर नयाँ पुस्ता र उद्यमीहरूलाई कांग्रेसमा स्वागत गर्नुपर्छ

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरीले पार्टीभित्र नयाँ पुस्ता र सफल उद्यमीहरुलाई सहभागी गराउन सदस्यताको ‘१० वर्षे पर्खाल’ हटाउनुपर्ने सुझाव दिएका छन्।

बिहीबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै उनले अन्य राजनीतिक दलहरूले विभिन्न पेशागत र उद्यमशील पृष्ठभूमिका आशालाग्दा अनुहारहरूलाई पार्टीमा भित्र्याइरहेको तर कांग्रेस भने पुरानो संरचनामा सीमित भइरहेको टिप्पणी गरे।

'अहिलेका दलहरूले आफ्नो जीवनमा ट्र्याक रेकर्ड बनाएका, उद्यमशिलता र पेशागत क्षेत्रमा सफल भएका अनुहारहरूलाई आआफ्नो संगठनमा समेटिरहेका छन्,' चौधरीले भने, 'तर हाम्रो कांग्रेसले सदस्यताको १० वर्षे पर्खाल लगाएर यस्ता मानिसलाई रोकिरहेको छ।'

उनका अनुसार अब कांग्रेसले पुरानो सोच र नीतिलाई पुनरावलोकन गर्दै नयाँ पुस्ता र विचारलाई स्वागत गर्ने वातावरण बनाउन आवश्यक छ। 'हामीले यो पर्खाल हटाएर नयाँ पुस्ता र नयाँ विचारलाई भित्र्याउने हो भने मात्र कांग्रेसमा पुनः आशा जगाउन सकिन्छ,' उनले जोड दिए।

चौधरीले पार्टीको आन्तरिक रुपान्तरणबिना कांग्रेसले बदलिँदो राजनीतिक यथार्थ र युवा पुस्ताको भावना सम्बोधन गर्न नसक्ने चेतावनी पनि दिए। 'देशमा बदलिँदो मानसिकता बुझ्न ढिलाइ भइरहेकाले नयाँ पुस्ता कांग्रेसबाट टाढिँदै गइरहेका छन्,' उनले भने, 'अब पार्टीले आफ्नो ढोका खुला गरेर नयाँ सोचलाई स्थान दिनुपर्छ।'

चौधरीले विगत ३५ वर्षमा बनेका ३५ वटा सरकारकै कारण नागरिकमा पुराना दलप्रति वितृष्णा बढ्दै गएको बताए। 'सोसल मिडियादेखि सामान्य नागरिकसम्म यस्तो भाष्य बनेको छ कि पुराना पार्टीबाट देशको र हाम्रो पुस्ताको कल्याण छैन,' उनले भने, 'त्यसैले धेरै युवाहरूले अब देश फर्केर जानु पर्दैन भन्ने मानसिकता बनाएका छन्।'

उनका अनुसार आजका सफल उद्यमी, अनुसन्धानकर्ता, पेसेवर र युवाहरू नयाँ दलको खोजीमा छन्, तर कांग्रेसले अवसर दिएमा उनीहरू देश र पार्टीका लागि योगदान गर्न तयार छन्। चौधरीले पार्टी नेतृत्वलाई आग्रह गर्दै भने, 'कांग्रेस अब यस्तो रूपान्तरणको बाटोमा लाग्नुपर्छ जसले जनतामा नयाँ आशा र विश्वास पुनःस्थापना गर्न सकोस्।'


प्रकाशित : बिहीबार , कात्तिक २० २०८२१८:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend