काठमाडौं- नेपालको दूरसञ्चारको समग्र बजार पछिल्लो पाँच वर्षमा खासै बढ्न सकेको छैन। पाँच वर्षमा एक वर्षमात्र बढे पनि समग्रमा हेर्दा घटेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार पछिल्लो पाँच वर्षमा दूरसञ्चारको बजार ९० अर्बकै वरिपरि घुमिरहेको छ। कुनै समय एक खर्ब क्रस गरेको दूरसञ्चारको बजार अहिले भने ९० अर्बमा सीमित भएको छ।
आर्थिक वर्ष २०७६/७७ कुल बजार ९२ अर्ब ५७ करोड रुपैयाँको थियो। त्यसपछि २०७८/७९ मा बढेर ९८ अर्ब पुगेको थियो तर त्यसपछि घटेर २०८०/८१ मा भने ९० अर्बमा सीमित भएको छ। पाँच वर्षमा ९२ बाट ९० मा झरेको छ।
कुल कारोबारमा खासै बढोतत्तरी नहुँदा पनि बजारको समीकरणमा भने व्यापक फेरबदल हुन थालेको छ। प्राधिकरणको तथ्यांकअनुसार उच्च नियमाकीय शुल्क तिर्ने तथा पूर्वाधारमा ठूलो लगानी गरेका टेलिकम कम्पनीहरूले यो बीचमा बजार हिस्सा गुमाएका छन्। पछिल्लो पाँच वर्षमा १६ प्रतिशत बजार गुमाएका छन्।
कारोबार बढेकै वर्ष पनि टेलिकम कम्पनीको बजार घटेको छ। २०७६/७७ मा टेलिकम कम्पनीको ८१ अर्ब २० करोडको कारोबार गरका थिए जुन बजारको ८८ प्रतिशत हिस्सा थियो। त्यही वर्ष ११ अर्बको मात्र कारोबार इन्टरनेट सेवाप्रदायकले गरेका थिए।
तर त्यसपछिका वर्षमा इन्टरनेट सेवाप्रदायकले ९३ प्रतिशतले बजार बढाए। इन्टरनेट सेवाप्रदायकले २०८०/८१ मा २१ अर्ब ९४ करोडको कारोबार गरेका छन्। जहाँ टेलिकम कम्पनी १६ प्रतिशत बजार गुमाएर ६८ अर्ब ११ करोडमा सीमित भएका छन्।
इन्टरनेट सेवाप्रदायकमा २१ अर्बको कुल बजार भएपनि १० अर्बमाथिको कारोबार एउटै कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको रहेको छ।
न्यून नियमाकीय शुल्क र पूर्वाधारमा पनि उल्लेख्य लगानी गर्नुनपर्ने आइएसपीले बजार बढाउँदै गर्दा टेलिकम कम्पनी भने उच्च शुल्कसँगै बजार पनि घटेपछि आर्थिक संकटमा पर्न थालेका छन्। यही कारणले फाइभजीमा लगानी गर्न उनीहरू असक्षम देखिन थालेका छन्।
नेपालका दुईवटा टेलिकम कम्पनी छन् एउटा सरकारी र अर्को निजी। पछिल्लो केही वर्षदेखि यी दुबै कम्पनी आर्थिक संकटसँग जुधिरहेका छन्। अर्थात् सेवालाई गुणस्तरीय बनाउनका लागि आवश्यक लगानी गर्न नसक्ने अवस्थामा पुगेको सार्वजनिक भएका तथ्यांकले देखाइरहेका छन्।
नेपाल टेलिकमको पछिल्लो वित्तीय प्रतिवेदनले टेलिकम कम्पनीको संकटलाई अझ नजिकबाट देखाएको छ। विगतका वर्षको नाफाबाट सञ्चित गरेर राखेको रकम नभइदिएको भए नेपाल टेलिकम नोक्सानीमा जाने अवस्था प्रष्ट देखिन्छ। कुनै पनि निश्चित वर्षबाट गरेको आम्दानीबाट सेवा सञ्चालन गरेर नाफा आर्जन गर्न नसक्ने अवस्थामा टेलिकम पुगेको छ।
सेवा प्रवाहबाट हुने आम्दानी घटेको छ, सञ्चालन खर्च किफायती हुन सकिरहेको छैन र नयाँ प्रविधिमा पर्याप्त लगानी हुन सकेको छैन। यसका बाबजुद पनि सञ्चितिलाई बैंकमा राखेको रकमको ब्याजबाट नाफामा सकारात्मक संकेत देखिएको छ।
टेलिकमले आफ्ना ग्राहकबाट हुने आम्दानी अघिल्लो वर्षको तुलनामा २ करोड ७८ लाख रुपैयाँ न्यून गरेको छ। त्यस्तै ब्याज आम्दानी आधा घट्दा कुल आम्दानी पनि ८ प्रतिशतले घटेको छ।
आम्दानीमा गिरावट आउनुका पछाडि नेपाल टेलिकमले विभिन्न कारण दिएको छ। इन्टरनेटमा आधारित सञ्चार सुविधा ग्राहकले धेरै लिएकाले आम्दानी पछिल्ला केही वर्षदेखि प्रभावित हुँदै आएको छ।
पछिल्ला केही वर्षदेखि अर्को पनि कारण थपिएको छ। सामान्यत: ओटीटीबाट सेवा लिँदा पनि डेटा भने टेलिकमकै प्रयोग हुने भएको भए आम्दानीमा उल्लेख्य प्रभाव पर्ने थिएन। तर पछिल्लो समय इन्टरनेट सेवाप्रदायकहरूले वाईफाई मोबिलिटीको नाममा जहाँ पनि जता पनि इन्टरनेट सुविधा दिन थालेपछि डेटा खपत पनि घट्न पुगेको छ।
तारबाट दिइने इन्टरनेट सेवा निश्चित स्थानमा पनि पर्याप्त हुने तर घरबाहिर निस्किँदा ग्राहकले टेलिकमको डेटा सुविधा लिने मान्यताअनुसार नै राजस्व र रोयल्टी निर्धारण भएको हुन्छ। यही कारणले इन्टरनेट सेवाप्रदायकले केही लाखमा लाइसेन्स नवीकरण गर्छन् भने टेलिकम कम्पनीले अर्बौँ रुपैयाँ तिर्छन्। तर पछिल्लो समय इन्टरनेट सेवाप्रदायकले जता पनि डेटा दिन थालेपछि टेलिकमको आम्दानीमा अर्को धक्का लागेको हो।
टेलिकम कम्पनीहरूको यही चिन्ता र चासोलाई सम्बोधन गर्न भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले निश्चित दायरा र समयभन्दा पर नि:शुल्क वाईफाई नदिन निर्देशन दिएको थियो।
