बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

किर्ते कारोबारमा साथ : प्राइम बैंकले मात्रै किन खोल्छ अरेत र काइरोसको एलसी?

झुटा कागजात बनाएर अउडी, टेस्ला, पोर्सा र ल्यान्ड रोभर आयात

बुधबार, कात्तिक १९ २०८२
किर्ते कारोबारमा साथ : प्राइम बैंकले मात्रै किन खोल्छ अरेत र काइरोसको एलसी?

काइरोस र अरेत इन्टरनेसनलले प्राइमबाहेक अन्य वाणिज्य बैंकमा पनि एलसी खोल्न प्रस्ताव पेस गरेको थियो। तर उक्त कम्पनीले दुईवटा वाणिज्य बैंकमा एलसी खोलिदिन गरेको प्रस्ताव दुवै बैंकले अस्वीकार गरेका थिए।

काठमाडौं- विश्वचर्चित सवारी उत्पादक कम्पनीका विलासी कार काइरोस इन्टरनेसनल र अरेत इन्टरनेसनल प्रालिले आयात गर्दै आएका छन्। यी दुवै कम्पनीले उत्पादक कम्पनी वा उसले तोकेका कम्पनीबाट नभइ हङकङमा खडा गरिएको कम्पनीबाट किर्ते कागजात बनाइ गाडी आयात गरिरहेका छन्। 

किर्ते कागजातकै आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कुनै पुष्टि नै नगरी एजेन्सी दर्ता गरिदिएपछि अवैध रुपमा सवारी आयात मैलाउँदै गएको छ। वाणिज्यले गरेको खेलाँचीलाई वाणिज्य बैंकले पनि मान्यता दिएको छ। यसरी मान्यता दिनेमा एउटामात्र वाणिज्य बैंक रहेको पाइएको छ। 

काइरोस र अरेत इन्टरनेसनलले अवैध रुपमा आयात गरेका जतिपनि सवारी साधनको एलसी (प्रतितपत्र) छन्, ती सबै प्राइम कमर्सियल बैंकबाट मात्र खोलिएको देखिएको छ।

नेपाल राष्ट्र बैंकले एलसी खोल्नका लागि चाहिने कागजातको सूची वाणिज्य बैंकहरूलाई सर्कुलरमार्फत उपलब्ध गराएको हुन्छ। उक्त सर्कुलर बेवास्ता गर्दै प्राइम कमर्सिलय बैंकले काइरोस इन्टरनेसनल र अरेत इन्टरनेसनल प्रालिले प्रस्ताव गरेको एलसी दोहोरो पुष्टि नै नगरी खोलिदिने गरेको छ। 

काइरोस र अरेत इन्टरनेसनल प्रालिले चारवटा चर्चित विलासी ब्रान्डका सवारीसाधन अवैधरुपमा आयात गर्दै आइरहेको छ।

काइरोसले जर्मन विलासी ब्रान्ड पोर्सा, अउडी र बेलायती ब्रान्ड ल्यान्ड रोभर रेन्ज रोभर तथा अरेत इन्टरनेसनल प्रालिले अमेरिकी ब्रान्ड टेस्लाका विद्युतीय कार आयात गर्दै आएको छ।

टेस्लाले कुनै पनि देशमा आफ्नो उपस्थितिबिना आधिकारिक बिक्रेता दिँदैन भने बेलायती कम्पनी ज्यागुअर ल्यान्ड रोभर (जेएलआर)ले नेपालमा आफ्नो आधिकारिक बिक्रेता नभएको जानकारी बिजनेस न्युजलाई यसअघि नै गराइसकेको छ। पोर्सा र अउडीले पनि एक/दुई वर्षअघि स्थापना भएको कम्पनीलाई नेपालको आधिकारिक बिक्रेता नियुक्त गर्ने सम्भावना हुँदैन। 

यस्तो अवस्थामा काइरोस र अरेतलाई सवारी आयात गर्न लाखौँ डलरको एलसी कागजातको दोहोरो पुष्टि नै नगरी प्राइम कमर्सिलय बैंकले खोलिदिँदै आएको छ। काइरोसले ल्याउने अउडी, पोर्सा र ल्यान्ड रोभर रेन्ज रोभरका कार नयाँ हुन् वा पुराना, अन्डर इनभोइस गरेर ल्याएकोबारे साथै ओईएमले नै जारी गरेको टाइप अप्रुभल र आधिकारिक बिक्रेता नियुक्ति हो वा होइन नहेरिकनै प्राइम बैंकले आँखा चिम्लिएर एलसी खोल्दै आएको छ। यसले काइरोस र अरेतको अवैध कारोबारमा बैंकको संलग्नताको आशंका देखिएको छ। 

प्राइभ कमर्सियल बैंकले भने यातायात व्यवस्था विभागबाट लिएको स्वीकृति र वाणिज्यबाट लिएको एजेन्सी दर्ताका आधारमा आफूहरुले एलसी खोल्ने गरेको बताएको छ। ‘हामीले यातायात र वाणिज्यबाट आएको कागजातका आधारमा एलसी खोल्ने गरेको हो,’ प्राइभ बैंकको एलसी डिपार्टमेन्टमा रहेकी अर्पणा लाकौलले भनिन्।

प्राइमबाहेक अन्य बैंकले खोल्न मानेका छैनन् काइरोस र अरेतको एलसी 

काइरोस इन्टरनेसनल वाणिज्य विभागमा दर्ता भएको फर्म हो। करिब दुई वर्षअघि दर्ता भएको यो फर्मले सुरुमा अउडीको गाडी किर्ते कागजात पेस गरेर आयात सुरु गर्‍यो। गाडी आयात गर्न पहिलो एलसी पनि प्राइम बैंकबाट नै खोलिएको थियो।

अउडीपछि त्यसयता आयात गरिएका पोर्सा र ल्यान्ड रोभर रेन्ज रोभरका कार हङकङमा बनाइएको एउटा कम्पनीले काइरोसलाई आधिकारिक बिक्रेता दिएर आयात हुँदै आएको छ र यी सबैको एलसी प्राइम बैंकबाट खोलिएको छ। 

काइरोस र अरेत इन्टरनेसनल प्रालिले प्राइमबाहेक अन्य वाणिज्य बैंकमा पनि एलसी खोल्न प्रस्ताव पेस गरेका थिए। तर उक्त कम्पनीले दुईवटा वाणिज्य बैंकमा एलसी खोलिदिन गरेको प्रस्ताव दुवै बैंकले अस्वीकार गरेका थिए। अहिले पनि यी दुई कम्पनीको एलसी प्राइम बैंकबाहेक अन्य वाणिज्य बैंकले खोलेका छैनन्। 

बैंक स्रोतका अनुसार अरेत र काइरोस इन्टरनेसनलले हङकङमा कम्पनी खडा गरेर त्यसबाट आधिकारिक बिक्रेता ल्याएको तर उत्पादन कम्पनीले आधिकारिक बिक्रेता नतोकेकाले यी कम्पनीको काम गर्दा जुनसुकै बेला फस्ने सम्भावना रहेकाले एलसी खोल्न अस्वीकार गरिएको हो। 

‘लाखौँ डलरको एलसी खोल्नुपर्ने भएकाले कागजात र कारोबार शंकास्पद लागेपछि विदेशी मुद्रा अपचलनको खोजिम हुने देखेर ती कम्पनीहरूको एलसी खोल्न नसकिने भनेका हौँ,’ एक बैंक स्रोतले भन्यो, ‘अन्य बैंकले के आधार र विश्वासमा एलसी खोले त्यो हामीलाई थाहा हुने कुरा भएन।’

प्राइम बैंकले मात्र काइरोस र अरेतको शंकास्पद कारोबार र एलसी खोलिरहँदा राष्ट्र बैंकको भूमिकासमेत रहस्यमयी देखिएको एक बैंकरले बताए।  

तीन विलासी कम्पनीको एउटै आधिकारिक बिक्रेता  

एउटा कम्पनीलाई विश्वचर्चित तीनवटा विलासी कार निर्माता कम्पनीले एकैसाथ नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त गर्न सक्ला? अटोमोबाइल जगतमा नेपालजस्तो देशमा वैधानिक बाटोबाट यो हुन असम्भव छ। नेपालमै यो सम्भव भएको छ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको कमजोरीका कारण।

विदेशबाट कुनै पनि सामान आयात गर्न अनिवार्यरुपमा वैदेशिक व्यापारको एजेन्सी दर्ता गर्नुपर्छ। उक्त एजेन्सी दर्ताको काम वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नै गर्दै आएको छ। 

नेपालमा सवारीसाधन आयात गर्न अनिवार्य रुपमा उत्पादक कम्पनी वा उत्पादक कम्पनीले तोकेको कम्पनीसँग आधिकारिक आयातकर्ताको सम्झौता गरेरमात्र आयात गर्न पाइने व्यवस्था रहेको छ। तर काइरोस इन्टरनेसनल प्रालिले एउटै समयमा तीनवटा विश्वस्तरीय विलासी सवारी उत्पादकको आधिकारिक बिक्रेता भएको दाबी गरेर एजेन्सी दर्ताका लागि पेस गरेको कागजातमा वाणिज्य विभागले उत्पादकसँग ‘भेरिफाइ’ नै नगरी एजेन्सी दिँदै आएको छ।

एकैसाथ दुई ठूला कम्पनीले नेपालमा सवारी बिक्रीका लागि आधिकारिक बिक्रेता दिँदैन। विलासी कम्पनीहरूले कुनै पनि देशमा आधिकारिक बिक्रेता नियुक्त गर्न लामो प्रक्रियाबाट छनोट गर्छन्। त्यस्ता सवारी उत्पादकले तोकेको मापदण्डअनुसार सर्भिस सेन्टरदेखि स्पेयर पार्ट्ससम्ममा सुरुमै लगानी गरेर ‘वेल इक्युप्ड’ भएपछि मात्र आधिकारिक बिक्रेता नियुक्त गर्ने गरेका छन्। 

काइरोस इन्टरनेसनल प्रालिले उत्पादक कम्पनी वा उत्पादक कम्पनीले तोकेको तेस्रो पक्षसँग नभइ उत्पादकले चिन्दै नचिनेको कम्पनीसँग गाडी खरिद गरी किर्ते कागजात बनाएर आयात गरिरहेको छ।

वाणिज्य विभागले एजेन्सी दिने बेलामा कुनै तथ्य जाँच नै नगरी एजेन्सी दिएको किन पनि पुष्टि हुन्छ भने तीन ठूला विलासी कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता एकै समयमा एउटै कम्पनीलाई एजेन्सी दर्ताको प्रमाण पत्र दिनु।

वैध बाटोबाट आयात गर्ने आधिकारिक बिक्रेता कम्पनीलाई भने वाणिज्य विभागले अनेकन कागजात माग गर्ने, हरेक मोडलको अलअलग आयात अनुमति लिनुपर्ने जस्ता अड्काउने काम गर्दै आएको छ। तर अवैध र किर्ते काम गर्ने दुई कम्पनी काइरोस इन्टरनेसनल र अरेत इन्टरनेसनल प्रालिले ल्याएको जुनसुकै ब्रान्डले जस्तोसुकै डकुमेन्ट पेस गर्दा पनि बिनासोधखोज एजेन्सी दर्ता गरिरहेको पाइएको हो। 

काइरोस इन्टरनेसनल प्रालिले करिब दुई वर्षअघिदेखि जर्मन विलासी ब्रान्ड अउडीको आधिकारिक बिक्रेता भएको किर्ते कागजात पेस गरेर अउडीका विद्युतीय कार आयात गरेर बिक्री गरिरहेको छ।

त्यस्तै सोही कम्पनीले एक महिनाअघि अर्काे जर्मन विलासी स्पोर्ट्स कार निर्माता कम्पनी पोर्साको विद्युतीय कार किर्ते कागजात बनाएर ल्याएको थियो।

यसैगरी काइरोस कम्पनीले नै बेलायती ब्रान्ड ज्यागुअर ल्यान्ड रोभर (जेएलआर)को ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्ट्स कार पनि हङकङमा दर्ता भएको कम्पनीबाट खरिद गरेर किर्ते कागजात पेस गरेर ६ महिनाअघिदेखि ल्याइरहेको छ। 

काइरोस इन्टरनेसनलले हङकङमा दर्ता भएको साउथ चाइना एक्जिम लिमिटेडसँग आधिकारिक बिक्रेता सम्झौता गरेर उसैसँग ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्ट्स कार ल्याएको छ। 

साउथ चाइना एक्जिम लिमिटेड सुरुमा राकेश अडुकियाकै नाममा हङकङमा दर्ता भएको कम्पनी हो। साउथ चाइना एक्जिम लिमिटेड न त ज्यागुअर ल्यान्ड रोभरको हङकङका लागि आधिकारिक बिक्रेता हो न त त्यो कम्पनीले हङकङबाट तेस्रो मुलुकमा ल्यान्ड रोभरका कार बिक्री गर्ने अनुमति उत्पादक कम्पनीबाट पाएको छ। 

राकेश अडुकिया संशयपूर्ण व्यापारमा लागेका व्यक्ति हुन्। नेपालमा उनको आफ्नै नाममा कुनै पनि कम्पनी दर्ता छैन। यस्तै काम गर्न उनले सुरुमा श्रीमा डिस्ट्रिब्युसन प्रालि नामक कम्पनी बनाएर टेस्लाको विद्युतीय कार नेपाल भित्र्याएका थिए। उक्त कम्पनीले गैरकानूनी काम गरेको ठहर भएर लफडा भएपछि उनले अरेत इन्टरनेसनल प्रालि नामक कम्पनी बनाएर आफै आधिकाकिर बिक्रेता भएको जिकिर गरेर टेस्लाका कार आयात गरिरहेका छन्। यसमा अदालतसम्म सेटिङको पहेली छ। 

किर्ते आधिकारिक बिक्रेताको कागजात, त्यसैको आधारमा वाणिज्य विभागले दिएको एजेन्सी दर्ता प्रमाणपत्रका आधारमा यातायात व्यवस्था विभागको आयात अनुमति लिने र यी कागजात देखाएर वाणिज्य बैंकबाट एलसी (लेटर अफ क्रेडिट) खोलेर गाडी आयातमा काइरोस इन्टरनेसनल लागेको छ। मुख्यगरी आधिकारिक बिक्रेताले सवारी आयात गर्दा सुरुमै यातायात व्यवस्था विभागबाट अनुमति लिँदैनन्। उनीहरूसँग वाणिज्य बैंकले सुरुमै यातायातबाट आयात अनुमति माग्दैनन्।

काइरोस इन्टरनेसनल र अरेत इन्टरनेसनल प्रालिले वाणिज्य विभागमा मात्र होइन भन्सार कार्यालयमा समेत सेटिङ मिलाएर राखेको छ। यी दुवै कम्पनीले आयात गरेका कारहरू वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास हुँदै आएको छ। यी कम्पनीले आयात गरेका कारहरू कुनै सोधीखोजीबिनै सरासर जाँचपास हुनेगरी कम्पनीले सेटिङ मिलाएको सोही भन्सार कार्यालयका एक अधिकारीले बताए। 

‘काइरोस इन्टरनेसनल र अरेत इन्टरनेसनल भन्ने कम्पनीले आयात गरेका सामान सरासर पास हुने गरेको छ। अन्य कम्पनीले ल्याएका सामानमा केही न केही सोधीखोजी गरेर पास गर्ने गरिएको छ,’ ती अधिकारीले भने, ‘तर ती दुई कम्पनीले ल्याएका सामान असाध्यै राम्रो हुने भएर हो वा अरु केही हो, जाँचपासमा विशेष सुविधा नै पाए जस्तो देखिन्छ।’ 

नेपालमा जेएलआरको आधिकारिक बिक्रेता छैन

बेलायती ब्रान्ड ज्यागुअर ल्यान्ड रोभरले नेपालमा आफ्नो कुनै आधिकारिक बिक्रेता नरहेको बिजनेस न्युजले इमेलमार्फत सोधेको प्रश्नको जवाफमा बताएको थियो। जेएलआरको सिंगापुरस्थित एसिया प्यासिफिक कार्यालयको डिलर एन्ड ब्रान्डिङ प्रतिनिधिले नेपालमा आफ्नो आधिकारिक प्रतिनिधि नभएको उल्लेख गरेका थिए। 

जेएलआरले इमेलमार्फत भनेको छ, ‘ज्यागुअर र ल्यान्ड रोभर सवारी, पार्ट्स र एसोसिरिज उत्पादक ज्यागुअर ल्यान्ड रोभर लिमिटेड नेपालमा आफ्नो आधिकारिक बिक्रेता नभएको पुष्टि गर्छ। कुनै पनि व्यवसायीले नेपालमा आधिकारिक आयात, वितरक र जेएलआरको उत्पादन बिक्री गर्छु भनिरहेको छ भने त्यो 'नन-अथोराइज्ड' हो।’ 

योसँगै काइरोस इन्टरनेसनलले नेपालमा ल्याउन लागेको ल्यान्ड रोभरका कार गैरकानूनी वा अवैध बाटोबाट ल्याएको पुष्टि हुँदासमेत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, भन्सार विभागलगायत सरकारी निकायले चासो दिएका छैनन्। अवैध बाटोबाट काम गर्नेहरू मौलाउँदै जाँदा सवारीमा अन्डर इनभ्वोइस हुने र विदेशी मुद्रा अपचलनको जोखिम उच्च भएको छ। 

ज्यागुअर ल्यान्ड रोभरका अनुसार नेपालमा २०१६ अगस्ट (२०७३ भदौ १५) पछि आधिकारिक बिक्रेता छैन। त्यसअघि दिइएको आधिकारिक बिक्रेताको अवधि सकिएको र नयाँ नियुक्ति वा नवीकरण नभएको कम्पनीले ईमेलमार्फत जानकारी गराएको थियो। यही मौका छोपेर अवैध काम गर्न पल्किएको काइरोस इन्टरनेसनलले हङकङमा यही गाडी आयात गर्ने प्रयोजनका लागि कम्पनी बनाएर किर्ते कागजातका आधारमा एजेन्सी लिएर कार आयात गर्दै आएको छ। 

ज्यागुअर ल्यान्ड रोभरले भन्यो - नेपालमा हाम्रो कुनै आधिकारिक बिक्रेता छैन ज्यागुअर ल्यान्ड रोभरले भन्यो - नेपालमा हाम्रो कुनै आधिकारिक बिक्रेता छैन जेएलआरले नेपालमा आधिकारिक बिक्रेता नतोक्दै कसले ल्याउन लाग्यो ल्यान्ड रोभरका कार? जेएलआरले नेपालमा आधिकारिक बिक्रेता नतोक्दै कसले ल्याउन लाग्यो ल्यान्ड रोभरका कार? उत्पादकले आधिकारिक बिक्रेता नतोक्दै ल्यान्ड रोभरका कार कहाँबाट कसरी काइरोस इन्टरनेसनलले ल्याउन लाग्यो? उत्पादकले आधिकारिक बिक्रेता नतोक्दै ल्यान्ड रोभरका कार कहाँबाट कसरी काइरोस इन्टरनेसनलले ल्याउन लाग्यो? काइरोसले अवैध बाटोबाट ल्याएको रेन्ज रोभरमा ‘अन्डर इनभ्वोइस’ भएको पुष्टि काइरोसले अवैध बाटोबाट ल्याएको रेन्ज रोभरमा ‘अन्डर इनभ्वोइस’ भएको पुष्टि भन्सारले ‘अन्डर इनभ्वोइस’ पुष्टि गरेपछि काइरोसले गुहार्‍यो अदालत भन्सारले ‘अन्डर इनभ्वोइस’ पुष्टि गरेपछि काइरोसले गुहार्‍यो अदालत अवैधरुपमा रेन्ज रोभर आयात गरेको काइरोसलाई अन्तरिम आदेश दिन अस्वीकार, भन्सार छलेको राजस्व असुल्ने बाटो खुल्यो अवैधरुपमा रेन्ज रोभर आयात गरेको काइरोसलाई अन्तरिम आदेश दिन अस्वीकार, भन्सार छलेको राजस्व असुल्ने बाटो खुल्यो अवैध बाटोबाट आएको ल्यान्ड रोभर कार भन्सारले कसरी गर्‍यो पास? अवैध बाटोबाट आएको ल्यान्ड रोभर कार भन्सारले कसरी गर्‍यो पास? 


प्रकाशित : बुधबार, कात्तिक १९ २०८२१६:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend