बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आकाशमा उड्ने जहाजको औसत आयु बढ्यो, निष्क्रिय फ्लिट १५ प्रतिशत

आइतबार, कात्तिक २३ २०८२
आकाशमा उड्ने जहाजको औसत आयु बढ्यो, निष्क्रिय फ्लिट १५ प्रतिशत

नेपालमा आन्तरिक उडान गर्ने कम्पनीहरूले पनि पछिल्लो समय यस्तो लागत वृद्धिमात्र होइन, भनेको समयमा पार्ट्स नपाउने समस्या भोगिरहेका छन्। नयाँ जहाजको पूर्ति नहुँदा पुराना जहाजको मूल्य पनि बढ्न गएको छ।

काठमाडौं- विश्व स्वास्थ्य संगठनले कोरोना महामारी अन्त्य भएको घोषणा गरेको दुई वर्षभन्दा धेरै भइसकेको छ। तीन चार वर्षसम्म संसारलाई नै प्रभावित बनाएको यो महामारी अन्त्य भए पनि यसका असर संसारभर अझै छ। विभिन्न स्वरुपमा महामारीकालीन संकटका डोबहरू कायमै छन्। कतिपय त अझ विस्तारित भएर दु:ख दिइरहेका छन्।

व्यापारदेखि उत्पादनसम्म, यात्रादेखि खेती किसानीसम्म प्रभाव पारेको यो महामारीका कारण सबैभन्दा धेरै प्रभावित भएको क्षेत्र पर्यटनसँग सम्बन्धित उद्यम व्यवसाय र रोजगारी थिए। पर्यटन नै खस्किँदा कतिपय मुलुकको राजनीति नै उथलपुथल भए।

संसारकै उड्डयन क्षेत्र अहिलेमात्र होइन अझै केही वर्ष त्यतिबेलाको प्रभावबाट प्रभावित भइरहने देखिएको छ। यस्ता विश्वव्यापी असरको मार नेपालकै कम्पनीहरूले पनि विभिन्न स्वरुपमा भोगिरहेका छन्।

आजको समयमा विश्वभर आकाशमा उड्ने जहाजको औसत आयु बढेको छ। कोभिडभन्दा पहिलेको तुलनामा व्यावसायिक रुपमा न्यून किफायती र बुढा जहाज अहिले आकाशमा उडिरहेका छन्। यो क्रम अझै बढ्न सक्ने देखिएको छ। त्यतिमात्र होइन संसारभर अहिले व्यावसायिक उडान गर्नुपर्ने ५ हजार जहाज ग्राउन्डमा छन्। त्यस्तै २ प्रतिशत जहाज त इन्जिनमा देखिएको समस्याका कारण उड्न सकिरहेका छैनन्। 

यही कारणले गर्दा विश्वको हवाई यात्रामा जति माग बढेको छ त्यति नै मात्रामा सिट बढ्न सकेका छैनन्। यही कारणले उपलब्ध ठूला जहाजको सिट उपयोगिता दर बढेको छ। यसले सस्तो इन्धनको लाभ यात्रुले पाउन सकेका छैनन् भने यात्रा अझै महँगो हुनसक्ने देखिएको छ। जति धेरै यात्रु संख्या र उपलब्ध सिट न्यून हुन्छ त्यति नै भाडा महँगो हुन्छ। यसको मार नेपालका श्रमिकहरूले विदेशमा काम गर्न जाँदा खेपिरहेका छन् पछिल्लो केही समयदेखि। 

त्यसको मार यात्रुले मात्र होइन कम्पनीहरूले पनि खेपिरहेका छन्। अझ नेपालका घरेलु उडान गर्ने कम्पनीहरूले झन् धेरै। पछिल्लो समय जहाजको आयु बढेसँगै मर्मतसम्भारका लागि आवश्यक जनशक्तिदेखि उपकरण र प्रविधिको माग बढ्यो। तर उत्पादनमा सीमा कायमै छ। यही कारणले गर्दा मर्मत लागत बढ्न गएको छ। यस्तो लागत ठूला जहाजको तुलनामा क्षेत्रीय जेट तथा टर्बोप्रपमा झन धेरै रहेको आयटाको पछिल्लो अध्ययनमा उल्लेख गरिएको छ। 

५ हजार जहाज आपूर्तिमा ढिला, १५ प्रतिशत जहाज ग्राउन्डमा 

आयटाको तथ्यांकअनुसार संसारभर व्यावसायिक उडानको लाइसेन्स भएका ३५ हजार ५ सय ५० वटा जहाज छन्। जसमा ३० हजार ३ सय जहाजले मात्र सक्रिय रुपमा उडान गरिरहेका छन्। ५ हजार २ सयभन्दा धेरै जहाज अहिले पनि सक्रिय उडानमा छैनन्।

त्यस्तै २ प्रतिशत जहाज इन्जिनसँग सम्बन्धित समस्याले ग्राउन्डेड भएका छन्। एकातिर मागअनुसारको जहाजको आपूर्ति कम्पनीहरूले गर्न सकिरहेका छैनन्, अर्कोतिर भएकै जहाज उडानबाट बाहिरिनुपर्नेमा मर्मत गरेर भएपनि उडान गर्न कम्पनीहरू बाध्य छन्। यसरी मर्मतको क्यू धेरै हुँदा पनि लागत बढेको छ। 

कोरोना महारीसँगै प्रत्येक वर्ष जहाजको आपूर्ति मागअनुसार हुन सकिरहेको छैन। हालसम्म ५ हजारभन्दा धेरै जहाजको पूर्ति भएको छैन। मागअनुसारको पूर्ति नहुँदा रिटायर हुनुपर्ने जहाज पनि फ्लिटमै राख्नुपर्ने बाध्यतामा कम्पनीहरू छन्। यही कारणले जहाजको औसत आयु १५ वर्ष पुगेको छ, कोभिडअघि यो आयु १३ वर्ष थियो। नेपालमा भने १५ वर्ष पुग्नै लागेका जहाजहरू आउने गर्छन्। 

नेपालमा आन्तरिक उडान गर्ने कम्पनीहरूले पनि पछिल्लो समय यस्तो लागत वृद्धिमात्र होइन, भनेको समयमा पार्ट्स नपाउने समस्या भोगिरहेका छन्। नयाँ जहाजको पूर्ति नहुँदा पुराना जहाजको मूल्य पनि बढ्न गएको छ।


प्रकाशित : आइतबार, कात्तिक २३ २०८२०९:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend