बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वायुसेवा निगमको इन्जिन भाडा विवादमा तीन दिनभित्र जवाफ पेस गर्न प्राधिकरणको निर्देशन

सोमबार, कात्तिक १७ २०८२
वायुसेवा निगमको इन्जिन भाडा विवादमा तीन दिनभित्र जवाफ पेस गर्न प्राधिकरणको निर्देशन

'नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको वायुसेवा निगमबाट भएको यस्तो कार्यले नेपालको हवाई क्षेत्रको प्रतिष्ठा र विश्वसनीयतामा नकारात्मक असर पर्न सक्ने भएकाले तीन दिनभित्र प्रतिक्रिया उपलब्ध गराउन निर्देशन गरिएको छ।'

काठमाडौं- इजरायली कम्पनीसँगको इन्जिन मर्मत र भाडा सम्झौतामा देखिएको विवादपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमलाई तीन दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको छ।

प्राधिकरणको 'फ्लाइट सेफ्टी स्ट्यान्डर्ड्स विभाग'ले आज सोमबार निगमलाई पठाएको पत्रअनुसार इजरायली कम्पनी ‘इजरायल एरोस्पेस इन्डस्ट्रीज लिमिटेड’ ले पठाएको पत्र र त्यससँग सम्बन्धित इमेलका प्रतिलिपिहरू संलग्न गर्दै तत्काल स्पष्टीकरण मागेको हो।

उक्त कम्पनीले निगमसँग भएको इन्जिन भाडा सम्झौता (लीज सम्झौता) रद्द भइसकेको अवस्थामा पनि ‘इन्जिन सिरियल नम्बर भि १०३१२, मोडल भि २४२७ इ-ए ५’ फिर्ता नगरिएको र सोबापत तिर्नुपर्ने ३१ लाख ३६ हजार अमेरिकी डलर (करिब ४२ करोड रुपैयाँ) अझै भुक्तानी नगरेको आरोप लागेको छ।

प्राधिकरणले पत्रमा भनेको छ, 'नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको वायुसेवा निगमबाट भएको यस्तो कार्यले नेपालको हवाई क्षेत्रको प्रतिष्ठा र विश्वसनीयतामा नकारात्मक असर पर्न सक्ने भएकाले तीन दिनभित्र प्रतिक्रिया उपलब्ध गराउन निर्देशन गरिएको छ।'

निगममा तत्कालिन कार्यकारी अध्यक्ष युवराज अधिकारीले कार्यभार सम्हालेको तीन महिना नपुग्दै न्यारोबडी जहाजका इन्जिन मर्मत र भाडा सम्झौतामा ‘कमिसनको खेल’ सुरु भएको आरोप उठेको थियो।

सन् २०२१ को डिसेम्बरदेखि सुरु भएको इन्जिन मर्मत र भाडा प्रक्रिया ढिलाइ र कम्पनी छनोटमा देखिएको असंगतिका कारण विवादास्पद बनेको हो। यसक्रममा निगमले करिब १० अर्ब रुपैयाँभन्दा बढी सम्भावित आम्दानी गुमाएको अनुमान गरिएको छ।

इन्जिन मर्मतका क्रममा जर्मन कम्पनी ‘लुफ्थान्सा’ ले ४२ लाख डलर र इजरायली कम्पनीले ६४ लाख डलर खर्च गरेको थियो। तर दुवैमा मर्मत ढिलाइ हुँदा जहाजहरू महिनौँसम्म ग्राउन्डेड रहनुपर्‍यो। कम्पनी छनोटमा पारदर्शिता नदेखिएको र ‘कमिसनको लागि हतारमा सम्झौता गरिएको’ आरोप पनि निगमभित्रबाटै लगाइएको छ।

मर्मतमा ढिलाइ हुँदा निगमले ‘एमटीयू’ र ‘आईएआई’  कम्पनीसँग इन्जिन भाडामा लिनुपर्ने बाध्यता बन्यो। सम्झौताअनुसार निगमले प्रतिदिन २ हजार डलर, प्रतिघण्टा २ सय ७८ डलर र प्रत्येक उडान चक्रमा २ सय ३९ डलर तिर्नुपर्ने व्यवस्था थियो। २० महिनाको अवधिमा निगमले इन्जिन भाडाबापत करिब ४५ करोड रुपैयाँभन्दा बढी तिरेको छ।

अझै पनि ‘नाइन एन-एकेएक्स’ जहाज भाडाकै इन्जिनमा उडाइँदै आएको छ। यसको इन्जिन २०२४ बैशाख १५ (अप्रिल २८) मा इजरायल पठाइएको भए पनि अहिलेसम्म नेपाल फर्काइएको छैन। कम्पनीले २०२४ कात्तिक ३ (अक्टोबर २०) मा इमेलमार्फत मर्मत पूरा भएको जनाउँदै इन्जिन लिन आग्रह गरे पनि निगमले फिर्ता ल्याएको छैन।

इन्जिन मर्मतमा ढिलाइ र जहाज लामो समय ग्राउन्डेड रहनु परेको भन्दै निगमले कम्पनीसँग करिब ८० लाख डलर (१ अर्ब ५० करोड रुपैयाँ) बराबरको क्षतिपूर्ति दाबी गरेको छ। तर उक्त दाबीबारे हालसम्म कुनै निर्णय भएको छैन। 


प्रकाशित : सोमबार, कात्तिक १७ २०८२१६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend