बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मुख्य सिजनमै चीन र भारतबाट नेपाल आउने पर्यटक किन घटे?

सोमबार, कात्तिक १७ २०८२
मुख्य सिजनमै चीन र भारतबाट नेपाल आउने पर्यटक किन घटे?

सन् २०२५ को पहिलो १० महिनामा समग्र रूपमा नेपालमा विदेशी पर्यटक आगमनमा सामान्य वृद्धि भए पनि प्रमुख दुई छिमेकी मुलुक भारत र चीनबाट आउने पर्यटक घटेका छन्। भारत र चीन दुवै नेपालका ठूला पर्यटक बजार हुन्।

काठमाडौं- मुख्य सिजनमै चीन र भारतबाट नेपाल आउने पर्यटकको संख्या घटेको छ। राजनीतिक अस्थिरता, सुरक्षाप्रतिको चिन्ता र उच्च यात्रा लागतका कारण छिमेकी देशहरूबाट पर्यटक आगमनमा गिरावट आएको पर्यटन व्यवसायीहरूले बताएका छन्।

सन् २०२५ को पहिलो १० महिनामा समग्र रूपमा नेपालमा विदेशी पर्यटक आगमनमा सामान्य वृद्धि भए पनि प्रमुख दुई छिमेकी मुलुकn भारत र चीनबाट आउने पर्यटक घटेका छन्। भारत र चीन दुवै नेपालका ठूला पर्यटक बजार हुन्।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२५ को जनवरीदेखि अक्टोबरसम्मको अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा भारतीय पर्यटक ११ प्रतिशतले र चिनियाँ पर्यटक ५ दशमलव ३ प्रतिशतले घटेका छन्।

नेपालको कुल पर्यटक आगमनमा भारतीय पर्यटकको हिस्सा झन्डै एक चौथाइ रहने भएकाले यसमा आएको गिरावटले पर्यटन क्षेत्रमै गहिरो असर पारेको छ।

यस अवधिमा अमेरिकाबाट आएका पर्यटक ०.८ प्रतिशतले बढेर ९३ हजार ९८५ पुगेका छन्। चौथो स्थानमा बेलायती र पाँचौँमा बंगलादेशी पर्यटक रहेका छन्।

पर्यटन व्यवसायीहरूका अनुसार भदौको अन्त्यतिर (सेप्टेम्बरको सुरुतिर) भएको ‘जेनजी आन्दोलन’का क्रममा भएका हिंसात्मक गतिविधि र त्यसपछि फैलिएको सुरक्षासम्बन्धी त्रासले विदेशी पर्यटकले नेपाल भ्रमण स्थगित वा रद्द गर्न थालेका थिए।

भारतमा अहिले पनि 'नेपालमा सुरक्षा राम्रो छैन' भन्ने हल्ला फैलिइरहेको छ। हायात र हिल्टनजस्ता ठूला होटलमा भएको आगजनीले विदेशी पर्यटकमा त्रास सिर्जना गरेको र त्यसले भ्रमणमा असर पारेको व्यवसायीहरूको भनाइ छ।

यही परिस्थितिलाई सुधार्न नेपाल पर्यटन बोर्डले ‘नाउ इन नेपाल’ नामक प्रचार अभियान सुरु गरेको छ। बोर्डका अनुसार जेनजी आन्दोलनको असर सर्वाधिक देखिएको सेप्टेम्बर महिनामा पर्यटक आगमन १८ दशमलव ३ प्रतिशतले घटेको थियो। सो अवधिमा भारतीय पर्यटक ३२ दशमलव ३ प्रतिशतले, अमेरिकी ४ प्रतिशतले र चिनियाँ ३४ दशमलव ९ प्रतिशतले घटेका थिए।

अक्टोबर महिनामा भने पर्यटक आगमनमा झिनो सुधार देखिएको बोर्डले जनाएको छ। पर्यटक तर्साउने गरी अशान्तिका घटना नभएको भए यो वर्ष आगमनमा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको थियो।

सन् २०२५ को जनवरीदेखि अक्टोबरसम्म कुल ९ लाख ४३ हजार ७१६ विदेशी पर्यटक नेपाल आएका छन्। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ० दशमलव ३ प्रतिशत मात्र बढी हो।

महामारीअघि सन् २०१९ को सोही अवधिमा नेपालमा ९ लाख ६६ हजार २३ विदेशी पर्यटक आएका थिए। अर्थात् हालको आगमन ९७ दशमलव ७ प्रतिशत पुनरुत्थान हो।

१० महिनामा भित्रिए ९ लाख ४३ हजार विदेशी पर्यटक १० महिनामा भित्रिए ९ लाख ४३ हजार विदेशी पर्यटक


प्रकाशित : सोमबार, कात्तिक १७ २०८२११:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend