काठमाडौं- भारतबाट फर्किने घोषणा गरेको करिब ४ वर्षपछि अमेरिकी कार उत्पादक कम्पनी फोर्ड मोटर्सले फेरि भारत फर्कने निर्णय गरेको छ। फोर्डले भारतमा रहेको दुई प्लान्टमध्ये गुजरात प्लाट बिक्री गरेको भएपनि चेन्नइमा रहेको प्लान्ट भने बिक्री गरेको थिएन।
फोर्डले अब भारतमा ३२ अर्ब ५० करोड भारतीय रुपैयाँ लगानी गर्ने बताएको छ। उक्त लगानीसँगै फोर्डले भारतको तामिलनाडू प्लान्टबाट २०२९ भित्र इन्जिन उत्पादन सुरु गर्ने छ। उक्त प्लान्टबाट सुरुमा वार्षिक २ लाख ३५ हजार वटा इन्जिन उत्पादन गर्ने योजना फोर्डले अघि सारेको छ।
गुजरातको प्लान्ट टाटा मोटर्सलाई बिक्री गरेपनि २०२२ देखि फोर्डको तामिलनाडू प्लान्ट प्रयोग बिहीन रहेको छ। २०२४ मा फोर्डले चेन्नइ प्लान्टबाट निर्यात प्रयोजनका लागि मात्र कार उत्पादन गर्ने बताएको थियो। अमेरिकी सरकारले आयात हुने सामानमा कर बढाएपछि फोर्डले उक्त निर्णयलाई पेन्डिङमा राखेको थियो।
अब भने फोर्डले भारतीय प्लान्टबाट सुरुमा इन्जिन बनाउने निश्चित भएको छ। सुरुवाती चरणमा फोर्डले चेन्नइ प्लान्टमाट नयाँ नेक्स जेनेरेसन इन्जिन बनाउने जनाएको छ।
त्यसपछि कार उत्पादन, विद्युतीय कार उत्पादन बारे भने समयक्रम र आवश्यकताअनुसार निर्णय गर्दै जाने फोर्डले बताएको छ।
फोर्डको भारत आगमन
फोर्ड मोटर कम्पनीले सन् १९९० को मध्यमा भारतमा पहिलो फ्याक्ट्री स्थापना गर्दा उसले चीनको जस्तैगरि बजार विस्तार हुने अपेक्षा राखेको थियो।
भारतले १९९१ मा अर्थतन्त्रको उदारीकरणलाई स्वीकार गरेको थियो। त्यो नीति अख्तियार गरेसँगै भारत सरकारले सबैखाले लगानीलाई स्वागत गरिरहेको थियो। उदारीकरणको विस्तारसँगै आम मानिसको खर्च गर्ने क्षमता बढ्दै गयो।
यो समयसम्म भारतमा निजी कारको खपत ज्यादै न्यून थियो। त्यसमा पनि विदेशी कार उत्पादकहरूको बजार हिस्सा पुग नपुग १० प्रतिशत थियो।
२०२१ को अन्त्यतिर पुग्दा फोर्ड मोटरले दुई अर्ब अमेरिकी डलर सञ्चित नोक्सानी पुगेको भन्दै भारतमा कार उत्पादन बन्द गर्ने निर्णय गर्यो। २०१७ मा फोर्डको अमेरिकी प्रतिस्पर्धी जनरल मोटर्ससमेत भारतमा कार उत्पादन बन्द गरेर फिर्ता भएको थियो।
फोर्डले भारत प्रवेश गर्दा जुन सपना देखेको थियो त्यो सपना २०२१ मा आइपुग्दा चकनाचुर भएको हो। भारतबाट मात्र होइन फोर्डले ब्राजिलबाट समेत फिर्ता हुने निर्णय २०२१ जनवरीमा लिएको थियो।
फोर्डको उचारचढाव
फोर्डले भारतमा १ अर्ब डलर लगानीमा स्थापना भएको आफ्नो पहिलो प्लान्टमा २०१५ मा पुनः लगानी विस्तार गरेको थियो। सो प्लान्टबाट फोर्डले २०२० सम्म निर्यात र आन्तरिक बजारका लागि वार्षिक ७० लाख र २०२५ सम्म ९० लाख पुर्याउने योजना सार्वजनिक गरेको थियो।
तर फोर्डले विविध कारणवश लक्ष्यअनुसार सफलता प्राप्त गर्न सकेन, बन्द हुनुपूर्व फोर्डले आफ्नो वार्षिक क्षमताको करिब २० प्रतिशत अर्थात ४ लाख ४० हजार वटामात्र कार उत्पादन गर्दै आएको थियो।
भारतीय प्लान्टको क्षमता अनुसार र बजारको मागलाई सम्बोधन गर्न फोर्डले कम्प्याक्ट कार बनाउने तय ग¥यो। तर २०१६ मा फोर्ड मोटर अमेरिकाले विश्वभरका कार उपभोक्ताहरू एसयूभीतर्फ मोडिएकाले एसयूभीलाई नै प्राथमिकता दिने निर्णय लियो।
२०१८ मा फोर्डले आफ्नो उत्पादन लागत कटौती गर्ने उद्देश्यले भारतीय सवारी उत्पादक महिन्द्रासँग साझेदारी गर्ने प्रारम्भिक सम्झौता गरेको थियो। तर २०२० को डिसेम्बरमा दुई कम्पनीले गरेका प्रारम्भिक सम्झौता रद्द हुन पुग्यो।
‘फोर्ड मोटरले भारतमा गरेको लगानीलाई निरन्तर विस्तार गर्दै लगानीको उचित मुनाफा आर्जनका लागि प्रयासरत थियो’ फोर्ड इन्डियाका प्रमुख अनुराग मेहरोत्राले फोर्डले भारत छाड्ने निर्णय लिएलगत्तै भनेका थिए, ‘दुर्भाग्यवश अब हामी त्यसो गर्न सक्ने अवस्थामा छैनौँ।’
२०२५ को अन्त्यतिर आइपुग्दा फोर्डले पुनः भारतमा सवारी प्लान्ट स्थापना गर्न लगानी गर्ने घोषणा गरेको छ। फोर्डको यो लगानी घोषणाले दीर्घकालिकता आउँछ वा पाउँदैन त्यो भने समयले नै बताउने छ।
