बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नागढुंगा सुरुङ मार्ग सञ्चालनका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान

आइतबार, कात्तिक १६ २०८२
नागढुंगा सुरुङ मार्ग सञ्चालनका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान

नागढुंगा-सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न अन्तर्राष्ट्रिय बोलपत्र (टेण्डर) आह्वान गरिएको छ।

काठमाडौं- नागढुंगा-सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न अन्तर्राष्ट्रिय बोलपत्र (टेण्डर) आह्वान गरिएको छ।

नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिष्पर्धामार्फत अनुभवी तथा दक्ष सेवा प्रदायक चयन गर्न बोलपत्र आह्वान गरेको हो। बोलपत्र बुझाउने अन्तिम मिति आगामी २ पुस (१७ डिसेम्बर २०२५) तोकिएको छ।

हाल सुरुङमार्गमार्फत सवारीसाधन चलाउन सक्ने अवस्था भए पनि दक्ष जनशक्ति र सुरक्षासम्बन्धी पूर्वतयारी अभावका कारण सञ्चालनमा आउन सकेको छैन। मुख्य सुरुङ मार्ग २.७ किलोमिटर र आपत्कालीन सुरुङ २.६ किलोमिटर लम्बाइको रहेको छ। सरकारले यसमार्गबाट गुड्ने सवारीसाधनका लागि सडक उपभोग दस्तुर (टोल) पनि तोकिसकेको छ।

आयोजनाका अनुसार सुरुङमा अत्याधुनिक प्रविधि जडान गरिएको भए पनि सडक विभागको सीमित जनशक्ति र अनुभवका कारण सञ्चालन तथा मर्मत कठिन हुने देखिएको छ। त्यसैले विशेष तालिम प्राप्त दक्ष जनशक्तिबाट सुरुङ सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको हो।

छनोट हुने सेवा प्रदायकले पाँच वर्षसम्म सुरुङ मार्गको सञ्चालन र मर्मतको जिम्मेवारी लिनेछ। सो अवधिमा विदेशी विज्ञहरूको सहकार्यमा नेपाली प्राविधिक तथा व्यवस्थापकहरूलाई प्रविधि हस्तान्तरण हुने र भविष्यमा अन्य सुरुङ तथा फास्ट ट्र्याकजस्ता संरचना स्वदेशी जनशक्तिबाटै सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

सुरुङ २४ घण्टा सञ्चालन हुने भएकाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक हुने जनाइएको छ। त्यसअनुसार सेवा प्रदायकले शिफ्ट प्रणालीमा कर्मचारी खटाउने र आपत्कालीन टोली स्थापना गर्नेछ।

यसका लागि करिब १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ। सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा रहने टोलीमा सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना, टोल उठाउने कार्यमा ५४ जना, ट्राफिक अनुगमन तथा नियन्त्रणका लागि १४ जना, र सिभिल तथा अन्य संरचना मर्मतका लागि ८-८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ।


प्रकाशित : आइतबार, कात्तिक १६ २०८२०९:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend