बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मुगुको कोइकी हिमालमा पहिलोपटक सफल आरोहण

बिहीबार , कात्तिक १३ २०८२
मुगुको कोइकी हिमालमा पहिलोपटक सफल आरोहण

समुद्री सतहदेखि ६ हजार १६९ मिटर अग्लो कोइकी हिमालको सफल आरोहणले मुगुम कार्मारोङवासी उत्साहित भएका छन्।

मुगु- यहाँस्थित मुगुम कार्मारोङ गाउँपालिका-२ मा पर्ने कोइकी हिमालमा पहिलोपटक सफल आरोहण गरिएको छ।

यही कात्तिक ३ गते चार अष्ट्रियन र एक जर्मन गरी पाँच जनाको टोलीले सो हिमालमा सफल आरोहण गरेका हुन्। सफल आरोहीहरुमा अष्ट्रियाका एर्विन पल विसम्यान, भ्यालेन्टिन म्याक, स्यान्द्रो फ्रान्ज कान्डुथ, ग्रेगर प्रिबर्निग र जर्मनीका स्टेफन लिब लिन्ड छन्।

समुद्री सतहदेखि ६ हजार १६९ मिटर अग्लो कोइकी हिमालको सफल आरोहणले मुगुम कार्मारोङवासी उत्साहित भएका छन्।

'गाउँकै सामुन्ने रहेको यो हिमालको शिखरमा पहिलोपटक मान्छे पुगेको खबरले हामी हर्षित छौँ। चौँरी र याक चराउन फेदसम्म पुग्ने स्थानीय कसैले पनि यो हिमाल आरोहण गरेको सुनेका देखेका थिएनन्', स्थानीय तुण्डुल तामाङले भने, 'अब यस हिमालमा पनि आरोहणका लागि अरु आरोही आउँछन् भन्ने लागेको छ।'

पहिलोपटक रिजन ट्रेक प्रालिको व्यवस्थापनमा पाँचजना अष्ट्रियाका आरोही र नेपाली शेर्पाले आरोहण गरेको जनाइएको छ। मुगुम कार्मारोङ गाउँपालिका-२ का पूर्व वडाअध्यक्ष कार्मा तामाङ भन्छन्, 'कोइकी हिमालको सफल आरोहणले मुगुमात्र होइन, देशकै पर्यटनको सम्भावना थपिएको छ। अब यस क्षेत्रको प्रचारप्रसारमा सरकार र सरोकारवाला निकायको ध्यान पुग्न जरुरी छ।'

सो हिमालका सफल आरोही मध्येका २८ वर्षीय अष्ट्रियाका नागरिक सेन्द्रोकले भने, 'मैले संसारका थुप्रै हिमाल आरोहण गरेको छु, तर कोइकी हिमालमा उभिँदा बेग्लै अनुभूति भयो। यो हिमाल सफा, शान्त र सुन्दर छ। कतै फोहर छैन, हावामा ताजगी छ। यस्तो प्राकृतिक शुद्धता मैले पहिलोपटक महसुस गर्दै थिएँ।'

उनले यहाँका स्थानीयको माया र आतिथ्यले आफू प्रभावित बनाएको र आफ्नो देश फर्केर साथीभाइलाई यो हिमाल चढ्न प्रेरित गर्ने बताए। 'यो ठाउँको अझ प्रचार भयो भने, मजस्ता सयौँ विदेशी पर्यटक यहाँ आउनेछन्', उनले भने।

रिजन ट्रेक प्रालिका पथप्रदर्शक पासाङ शेर्पाका अनुसार, कोइकी हिमाल चढ्दा कुनै ठूला कठिनाई परेन। मौसम अनुकूल रह्यो, बाटो रमणीय थियो र दृश्य अद्भुत। अरू हिमालको तुलना गर्दा यहाँको यात्रा सहज र यादगार रह्यो।

उनी भन्छन्, 'विदेशी आरोही अत्यन्त उत्साहित थिए। उनीहरू फर्कँदा पनि बारम्बार यही कुरा भन्दै थिए हामी फेरि फर्कनेछौँ। कोइकी हिमाल पुग्ने बाटोमा कुनै कठिनाइ भोग्नु परेन।'

पहिलो सफल आरोहणसँगै प्रचारप्रसारमा जोड दिएमा कोइकी हिमाल अब मुगुको पर्यटनको अर्को सम्भावना बन्ने पर्यटन व्यवसायी राजु कार्की बताउँछन्।

यसरी पुग्न सकिन्छ कोइकी

हवाई या स्थलमार्ग भएर नेपालगञ्ज जाने। नेपालगञ्जबाट रारा विमानस्थल करिब ३५ मिनेटको हवाई उडानमार्फत पुग्न सकिन्छ। रारा विमानस्थलबाट १५-२० मिनेटको जीप यात्रामा सदरमुकाम गमगढी पुगिन्छ।

त्यसैगरी स्थलमार्ग भएर जानेका लागि नेपालगञ्ज वा कोहलपुरबाट बसमार्फत सुर्खेत, दैलेख, कालीकोट हुँदै पहिलो दिन मान्म वा नाग्मा त्यसपछि दोस्रो दिन बिहानै हिँडेर जुम्लाको गोठी ज्युला वा बुलबुले हुँदै दिउँसो गमगढी पुग्न सकिन्छ।

त्यहाँ एक रात बास बसेर भोलिपल्ट बिहानै मुगुम कार्मारोङ गाउँपालिकाको छायल बजार, माग्री गाउँ र ढुंगेधारा बजार हुँदै जानुपर्छ। रिउस बगर वा पुलु बजार, लादेगाड, चिताई बगर हुँदै तेस्रो दिन साँझ मुगुम गाउँ पुगिन्छ।

चौथो दिन बिहानै मुगुम गाउँको पाटन क्षेत्र हुँदै पाँचौँ दिन समुन्द्री सतहबाट चार हजार ६०० मिटर उचाइमा रहेको सो हिमालको आधारशिविर पुग्न सकिन्छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक १३ २०८२१५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend