बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

धान काट्ने-थन्क्याउने चटारोकै बीच बर्सात, किसान भन्छन् - नोक्सान हुने भयो

बिहीबार , कात्तिक १३ २०८२
धान काट्ने-थन्क्याउने चटारोकै बीच बर्सात, किसान भन्छन् - नोक्सान हुने भयो

अब धान काट्न हुने ढिलाइले गहुँ छर्ने, आलु रोप्ने र दलहन बाली लगाउने कामलाई पनि पछि धकेल्ने चिन्ताले किसान पिरोलिएका छन्।

महोत्तरी- भर्खरै दीपावली र छठसहितका मुख्य पर्व सकेका यहाँका किसान अहिले मुख्यबाली धान थन्क्याउन नपाएर चिन्तित भएका छन्। चाडपर्व सकेर धान काट्ने, चुट्ने र थन्क्याउने मेसोमा लागेका किसानलाई बुधबार मध्यरातपछि लगातार परेको पानीले चिन्तित बनाएको हो।

महोत्तरीसहितका मधेसका जिल्लामा मंगलबार बिहानदेखि मौसम धुम्मिएर बुधबार बिहान सिमसिम पानी परेको थियो। बुधबार दिउँसो घाम लागे पनि मध्यरात कटेपछि झमझम पानी परिरहेपछि खेतमा पाकेको धान काट्न, चुट्न र थन्क्याउन नपाएर किसानको चिन्ता बढेको हो।

खासगरी महोत्तरीका उत्तरी क्षेत्रका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रका किसान अहिले पाकेको बाली थन्क्याउन नपाउँदा चिन्तामा परेका छन्।

'धान खेतमा पाकेर पहेँलपुर छ, चाडवाड सकेर काटौँला, थन्क्याउँला भनियो, पानी पो पर्न थाल्यो', भङ्गाहा-५ कर्पुरगञ्जका ६० वर्षीय किसान रामजुलुम बाँतर भन्छन्, 'पानी पर्दापर्दै काट्न पनि भएन, धान झरेर नोक्सान हुने भयो।' हिउँदे धान काटेर केही दिन निहिनमा सुकाउनुपर्नेमा यो पानीले काम बिगारेको बाँतर बताउँछन्।

महोत्तरीसहितका मधेसका उत्तरी क्षेत्रमा चाँडै पाक्ने (कात्तिक पहिलो साताभित्र) धान लगाइन्छ। उत्तरी क्षेत्रको माटो बलौटे हुँदा चाँडै रुखिने हुन्छ। यसैले गहुँ, दलहन, तेलहन, तरकारी र उखुबाली चाँडै लगाइने यस भेगमा चाँडो पाक्ने धान लगाइने गरिन्छ। यसपालि बर्खाकालमा लामो समय सुक्खा पर्दा धान रोपाइँ ढिलो भएर यस भेगमा पाक्ने समय कात्तिक दोस्रो साता पुगेको हो।

महोत्तरीका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा अहिले धान पाकेर पहेँलपुर छ। अधिकांश किसान धान काट्ने मेसोमै लागेका बेला अहिले पानी परेपछि यो काम बिथोलिएको हो। उत्तरी क्षेत्रमा धान पाकेर पहेँलपुर भए पनि मध्य र दक्षिणी क्षेत्रमा भने मङ्सिरमा पाक्ने धान बढी रोपिँदा परेको पानीले त्यति बिगारी नहालेको सो भेगका किसान बताउँछन्।

'अहिले पानी त चाहिएको थिएन, तर हाम्रोतिर धान पाक्न अझै दुई साता लाग्छ, त्यसैले अहिले परेको पानीले धेरै बिगार नगर्ला', रामगोपालपुर-२ महानपुरका किसान कादिर हुसैन भन्छन्, 'चोटिलो पानी पर्‍यो भने बोटबाटै धान झर्ने डर छ।'

जिल्लाको उत्तरी क्षेत्रका गौशाला, भङ्गाहा र बर्दिबास नगरपालिकाका बस्तीमा भने अहिले धान काट्ने, निहिन सुकाउने, चुट्ने र थन्क्याउने चटारोकैबीच पानी परेको छ। अहिलेको पानी पनि मध्य र दक्षिणी क्षेत्रभन्दा उत्तरी क्षेत्रमै बढी परेको छ। अब धान काट्ने काम दुई/चार दिनपछि धकेलिएको किसान बताउँछन्।

हिउँदे धान काटेर दुई/तीन दिन निहिनमा सुकाउनुपर्ने हुँदा मौसम सफा हुन पर्खनैपर्ने बर्दिबास-९ पशुपतिनगरका किसान महेन्द्र महतो बताउँछन्। अब धान काट्न हुने ढिलाइले गहुँ छर्ने, आलु रोप्ने र दलहन बाली लगाउने कामलाई पनि पछि धकेल्ने चिन्ताले किसान पिरोलिएका छन्। यसैगरी धान काटेर उखु रोप्ने मन बनाएका किसान पनि छटपटिएका छन्।

अहिलेको पानीले हिउँदे तरकारी रोप्ने, गोडमेल गर्ने र फलेका तरकारी पालोमा टिपेर बजार पुर्‍याउन पनि नदिने किसानको चिन्ता छ। 'पानी पर्दैछ, पालोमा टिपेर बजार पुर्‍याउन पर्ने भण्टा, रामतोरिया, घिरौंँला, लौका र झिमनी एक दिनमै छिप्पिन्छन्, अनि ढुसी लाग्ने र कीराको आक्रमण पनि बढ्छ', तरकारीखेतीका किसान बर्दिबास-९ पशुपतिनगरका रामविनोद महतो भन्छन्, 'यो पानी तुक (समय) को भएन।'

खेतीपाती प्रतिकूलताकाबीच गर्नुपरेको आम किसानको गुनासो छ। कहिले खडेरी, कहिले बेमौसमको वर्षा यी सबै अप्ठ्याराबीच खेतीपाती चलाउनुपरेको किसान बताउँछन्। एउटा कामको समय घर्किदा त्यसले पछिसम्म प्रभाव पार्ने गरेको किसानको अनुभव छ। अहिले जिल्लाकै मुख्यबाली मानिने धान थन्क्याउन अनुकूल समय बिग्रदा चिन्ता थपेको किसान बताउँछन्।

यसैबीच मधेस प्रदेश सरकारले अहिले बङ्गालको खाडीको मोन्था चक्रवातको प्रभाव मधेसका सबै जिल्लामा पर्ने भनेर सचेत गराउँदै धान काट्ने काम तत्काल नगर्न किसानलाई सचेत गराएको छ। बुधबार मधेस प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकपछि मुख्यमन्त्री जीतेन्द्र सोनलले अहिले  सावधानी अप्नाउन आम प्रदेशवासीलाई सचेत गराउँदै अनुकूल मौसम नहुउन्जेल धान नकाट्न अपिल गरेका छन्

'प्रदेश सरकार यसबाट पर्नसक्ने विपदबारे सचेततापूर्वक तयारीमा लागेको छ, यो अवस्थालाई हल्का नलिनुहोला', मुख्यमन्त्रीले अपिल गर्दै भनेका छन्। यो मौसम अझै दुईदिन रहनसक्ने जनाउँदै प्रदेश सरकारले नदीहरुमा बहाव बढ्नसक्ने हुँदा तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अप्नाउन अपिल गरेको छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक १३ २०८२१४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend