बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रतिकूल मौसमले हवाई उडान प्रभावित : तीन विमान डाइभर्ट, भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द

बिहीबार , कात्तिक १३ २०८२
प्रतिकूल मौसमले हवाई उडान प्रभावित : तीन विमान डाइभर्ट, भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द

पोखरा विमानस्थल आगमन बन्द छ भने ‘डिपार्चर’ मात्रै खुलेको छ। आन्तरिकतर्फ श्री एयरलाइन्स र अन्तर्राष्ट्रियतर्फ इण्डिगो र नेपाल एयरलाइन्सको विमान डाइभर्ट भएको छ।

काठमाडौं- प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ। मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका हुन्।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ। पोखरा विमानस्थल आगमन बन्द छ भने ‘डिपार्चर’ मात्रै खुलेको छ।

काठमाडौंका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान उतै डाइभर्ट भएको जनाउँदै उनले भैरहवाबाट काठमाडौं उडेको सोही एयरलाइन्सको विमान भैरहवा डाइभर्ट भएको बताए।

प्रवक्ता शेर्पाका अनुसार अन्तर्राष्ट्रियतर्फ नेपाल एयरलाइन्सको विमान भारतको नयाँदिल्ली डाइभर्ट भएको छ। इण्डिगो एयरको विमान पनि नयाँदिल्ली डाइभर्ट गरिएको जनाउँदै उनले एयर इण्डियाको विमान लखनऊ डाइभर्ट भएको उल्लेख गरे।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी दुई हजार ५०० मिटर रहेको प्रवक्ता शेर्पाले बताए। इनरुट वेदर खराबीले आन्तरिक उडानमा समस्या भएको विमानस्थल कार्यालयले जनाएको छ।

यसैबीच जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ कात्तिक ११ गते राति भारतको आन्द्र प्रदेशमा प्रवेश गरेको छ। त्यसपछि उक्त प्रणाली बिस्तारै कमजोर हुँदै उत्तर, उत्तर-पश्चिम दिशातर्फ सर्दै न्यून चापीय क्षेत्रका रूपमा नेपालको मध्यभू-भाग नजिक आएर पूर्वतर्फ सर्दै गरेको छ।

आजदेखि यही कात्तिक १५ गतेसम्म नेपालको बागमती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुने महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभावले मधेस र कोशी प्रदेशका अधिकांश स्थानमा तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। ती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक १३ २०८२१२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend