कञ्चनपुर- भीमदत्त नगरपालिका-१४ स्थित नयाँगाउँका पर्शुराम राना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकलाई जंगल सफारी गराउँछन्। रानाथारू घरबास (होमस्टे)का सञ्चालकसमेत रहेका उनी सिजनमा पर्यटक नआएपछि दुई वर्षयता निराश छन्।
'दुई वर्षअघि सम्म दसैँ-तिहारको समयमा थुप्रै पर्यटक शुक्लाफाँटा घुम्न आउनुहुन्थ्यो, हाम्रो होमस्टे पनि भरिभराउ हुन्थ्यो', रानाले भने, 'पर्यटक आउने सिजनमै पर्यटक नआउँदा होमस्टे रित्तै छन्।' उनले पर्यटक आउने समय दसैँ-तिहारको समयमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी बन्द भएका कारण पर्यटक आउन नसकेको बताए।
निकुञ्ज प्रशासनले गत असार १ देखि असोज १ गतेसम्म बर्सातको समयमा जंगल सफारी बन्द गर्ने गर्दछ। विगतमा असोज १ गतेदेखि जंगल सफारी खुल्ने भए पनि दुई वर्षयता दसैँ-तिहारको समयमा जंगल सफारी खुल्न नसकेको राना बताउँछन्।
'दसैँ-तिहारको समयमा मात्र एक लाख रूपैयाँभन्दा बढी आम्दानी हुन्थ्यो', रानाले भने, 'अहिले फाटफुट भारतीय पर्यटक मात्रै आएका छन्।'
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक निकुञ्ज छेउमै रहेको रानाथारू होमस्टेमा बास बस्ने गरेको उनले बताए। 'समयमा निकुञ्ज सफारी नखुल्दा यस वर्ष सिजनमै पर्यटक आएनन्, अब फागुनपछि मात्रै पर्यटक आउँछन्', रानाले भने, 'यहाँ आउने विदेशी तथा स्वदेशी पर्यटकले रानाथारूको संस्कृति र खाना मन पराउँछन्।'
यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आएका विदेशी पर्यटकको रोजाइ होमस्टे हुने गरेको भए पनि यस वर्ष विगतमा जस्तो उल्लेख्य पर्यटक नआएको रानाथारू होमस्टे सञ्चालक केशमती राना बताउँछिन्।
'ढिलो गरी निकुञ्ज सफारी खुल्दा पर्यटक आएनन्, विगतमा जस्तो संघसंस्थाहरुको भ्रमण पनि यस वर्ष भएन', उनले भनिन्, 'दसैँ-तिहारको समयमा अग्रिम बुकिङ हुने हाम्रो होमस्टेमा अहिले एक/दुई जना भारतीय पर्यटक मात्रै छन्।'
सिजनमै पर्यटक नआउँदा आम्दानी घटेपछि होमस्टे सञ्चालक निराश छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बस्तीमा होमस्टे सञ्चालनमा आएपछि यहाँका स्थानीय रानाथारु समुदायको आयस्तरमा समेत वृद्धि हुन थालेको छ। होमस्टेमा आउँदा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण सँगसँगै प्रचारप्रसार समेत हुने गरेको राना बताउँछिन्।
वर्षाले बाटो बिग्रिएपछि गत असारमा बन्द भएको निकुञ्ज सफारी यस वर्ष ढिलो गरि खुला गरिएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए। 'वर्षाले ब्रिगेको बाटो र पुल मर्मत गर्नुपर्ने भएकाले निकुञ्ज सफारी हुन सकेको थिएन', उनले भने, 'अहिले पर्यटकका लागि निकुञ्जमा जंगल सफारी खुला गरिएको छ।'
तीनसय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिंगेका लागि प्रसिद्ध मानिन्छ। निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिंगे छन्। निकुञ्ज भित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरङ्गी देख्न पाइन्छ। वन्यजन्तुमात्रै नभइ दुर्लभ वनस्पतीका लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ। रासस
